अराजक हाङयुग, सिर्जशील हाङयुग: हाङयुग !
March 26 2010
जिन्दगी झोंक्किएको छु !
यहाँको गलत संस्कार र प्रवृत्तिसंग
झोंक्किएको छु
यहाँको झ्याँक्ने नीति र योजनासंग
(पोलिस्टरको दौरा सुरुवाल)
"हाङयुग अज्ञात" यो नाम कुनै जंगली छापामारको नामको सौन्दर्य भन्दा कम छैन । प्रतिक्रियावादी राज्यसत्तातर्फ रंगीन आतंकहरू सोझिइरहेको वर्तमानमा, ब्राम्हणबादी, हिन्दु अतिबादी साहित्य ? सत्तामा सृजनशील अराजकताले पनि सुन्दर आतंक मच्चाइरहेको छ । हाङयुग अज्ञातको कवि झोंक्किएको छ त्यसैले "झोंक्की मतवाली कवि" परिचय उनको भनिदिए पनि हुन्छ । उनले एक दुइवटा गल्ती गरेका छन् । एक, उनले लाहुर जानु पर्यो हट्टाकट्टा जिउडाल मुग्लानी व्यारेकहरूलाई उपहार थमाउनु पर्यो । दुइ, लाहुर नगए पनि, कवि नै बन्ने भए पनि यहाँको बाहुनबादी साहित्य सत्ताका तानाशाहहरूलाई "सलोट" चाहिं गर्नु पर्यो । तर उनले त्यसो गरेनन् ।
जीवन-वसन्तको २७ सिंढीहरू टेक्दा उनले १-२वटा राम्रो काम गरेछन्- एक, ०५४, ०५५सालमा पुतलीसडकमा डीआईजीको गाडी फुटाएछन् । दुइ, साथी राजन मुकारुङसंग मिलेर साहित्यमा सृजनशील अराजकताको नयाँ आन्दोलन, नयाँ आयाम, नयाँ सिलसिलाको आविष्कार गरेका छन् । पहिले त डक्टर हुने सपना बोकेर उनी राजधानी पसेका थिए । आईएस्सी अस्कलमा पास गरे पनि पत्रकारिता विषयमा स्नातक आरआर कलेजबाट गर्नुपर्ने कारण आइलाग्यो । कारणहरू धेरै थिए । त्यसैले त हाल नेपाली साहित्यको चिरफारमा लागेका छन् । कवितामा सांस्कृतिक विम्ब, प्रतीक र मिथकहरूको सफल प्रत्यारोपण गरिरहेका छन् । उनका कवितामा लिम्बु मिथक, सांस्कृतिक बिम्ब र प्रतीकहरूको सफल प्रयोग गरिएको हुन्छ ।
मेरो सुर्ताको अनुष्ठान
कुखुराको मुटुमा हेरिएको
राष्ट्रको जोखना भएर
शिर उठाउनुको मांगेनामा जुरुक्क उठ्दछ
हो, उठ्दछ
कुम्भकर्णको निन्द्रामा विद्रोहको छाल !
(पोलिस्टरको दौरासुरुवाल)
एक भाषी, एक जाति, एक धर्मी र एकमात्र हिन्दु सम्राटको मुलुकमा रहेका कविता प्रेमीहरूका लागि उनका कविताहरू अधिक अराजक छन् । क्लिष्ट छन् त्यसमा पनि कति शब्द त खस नेपाली शब्दकोष भन्दा टाढा गएर कवितामा राख्छन् । कुखुराको मुटुमा जोखना (ग्रहदशा जस्तै राम्रो नराम्रो) हेर्ने एउटा संस्कार एउटा अन्धविश्वास एउटा विश्वास छ लिम्बु समाजमा उनले त्यसलाई माथिको कवितामा उठाएका छन् । तर उनले आफ्नो जोखाना होइन राष्ट्रको जोखना, विं सं.१८३१ अघिको स्वतन्त्र लिम्बूवानको इतिहासलाई जोखनामा हेरेका छन् ।
पहिले उनी अहिले जस्तै "कवि" थिएनन् । झापाको कुमाई स्कुलमा पढ्दा कुमाई साथीहरूको जिब्रोमा "चितुवा" थिए, तिनीहरूलाई "खसेत्रा" भन्ने हाङयुङ थिए, हाङयुग थिए, शिक्षकहरूको लागि "सुब्बा" थिए, १० कक्षामा पढ्दा ९ कक्षा पढ्दै गरेकी तरुनी केटीकी तन्नेरी प्रेमी-केटा थिए । उनी फुटबल पनि खेल्थे । चित्र त इलाममा अंगे्रजी स्कुलमा २ कक्षादेखि ६ कक्षासम्म पढ्दादेखि नै मान्छेको दुरुस्तै बनाउथे । अहिलेको भन्दा फटाहाचाहिं त्यतिखेर थिए जतिखेर आफ्नै जन्म ठाउँ पाँचथरको याङनाम गाउँकै स्थानीय स्कुलमा पढ्थे गुरुहरूलाई गोरु नै सम्झन्थे कि क्या हो ढुंगाले हान्थे साथी भाइलाई लात्तै लात्ताले भकुर्थे ।
भकुर्नु, दादा हुँ भन्नेहरूलाई दादागिरी देखाउनु, कसैलाई नटेर्नु जीवन शैली हो उनको । झेल गर्नु झेल गरेको चाल पाउनु लिला थाहा पाउनु लिला गर्नु उनको पनि थोरै अभिष्ट हो । त्यसैले त "म बलिहाङको अभ्युदय" कवितामा लेख्छन् -
पुराणको कालो छायाँले झेल गरेर
पैतालोद्वारा पत्ताल दबाइएको- म
अब दानी र उदार हुनु
मृत्यबोध गराउने शाष्त्रको यो पक्षबाट
लीला गर्नु
छल्नु र पिउनु लालायित छु
यस युगका देउताहरू भित्रको चुक !
उनीसंग थुप्रै नश्लीय अनुभवहरू छन् । ती मध्ये दुइवटा अनुभवहरू यस्ता छन्- एक, जाँड खाँदा र नखाँदाको नश्लीय अनुभव । दुइ, भट्टीपसलदेखि मन्त्रालय, दरबारसम्म थेप्चो नाक लिएर पस्दाको नश्लीय अनुभव । यसैले राजन मुकारुङ र उनले सृजनशील अराजकतामा एउटा शर्त नै बनाएका छन् साहित्य सृजनामा "नश्लीय बोध" । नश्लीयबोधबारे थप भन्छन्- सृजनशील अराजकहरूलाई नेल्शन मण्डेला भनून् या गोपाल खम्बू भनुन् या भानुभक्त आचार्य भनून् काव्यमा आफ्नो नायक नश्लीयबोधको बन्नै पर्दछ । हाम्रो नायकको आँखा चिम्सो, नाक थेप्चो-थेप्चो, अनुहार च्याप्टो- च्याप्टो, कद मझौला, स्वभाव सफा भएको चलनचल्तीको नायकको भन्दा फरक बनाउनु पर्दछ । शुरुमा उनी पनि "छन्दे" कवि थिए । किशोरावस्थामा किशोरीसित प्रेम बसे पछि उनले कवितामा हाङयुगको कलम छिराएका थिए । पछि छन्देहरू मन पर्न छाड्यो जब काठमाडौ आए र दुइ वर्षजति रूपरेखा साप्ताहिकमा साहित्यिक स्तम्भ चलाए, नयाँ लेखन पद्धतिको घोषणा गरे, समयको सबैभन्दा सानो अंश पनि कसरी लेख्ने अभ्यास गरे, कोठादेखि बाहिर कमै निस्किए, पढे-बैरागी काइला इन्द्रबहादुर राईई, इश्वर बल्लभ, तुलसी दिवशलाई । त्यसपछि कविता चेत उनीमा चढ्यो । सृजनशील अराजकताको आग्रह राजन मुकारुङसित कुममा कुम मिलाएर भित्र्याए ।
सृजनशील अराजकताको स्वत्व शताब्दी अघि देखिको हो । यसलाई विश्व राजनीतिको तुलनामा नेपाली राजनीतिमा केही ढिलो ठम्म्याइयो । साहित्यमा भने बैरागी काइला, इन्द्रबहादुर राई, भुपाल राई र श्रवण मुकारुङमार्फ् पनि यो नश्ल- अन्तर्चेतनाको रूपमा अलिक अगाडि आएको थियो, तर नश्ल चेतनाकै रूपमा खरो सम्बोधन चाहिं हाङयुग र राजनले नै गरे । सृजनशील अराजकताको बारे हाङयुग भन्छन्- राज्य व्यवस्थाको संरचना प्रति चरम घृणा, वितृष्णालाई साहित्य मार्फसदत गरिएको अभिव्यक्ति हो यो ।
सृजनशील अराजकताले यो राज्य व्यवस्थाको साहित्य, प्रशासन, संस्कृति, राजा-राजनीति, पार्टी प्रणाली सबैलाई आलोचनात्मक दृष्टिकोणले हेर्छ, मान्न लायक मान्छ पनि होइन भने भत्काउने र बनाउने तिर जोड दिन्छ । भत्काउने भन्ने अराजकतामा सृजनात्मक निर्नायक हस्तक्षेप नै सृजनशील अराजकता हो ।
अहिले उनी दुइ बिरोधाभास काम गरिरहेका छन् । एक, उनी साहित्य भत्काइरहेका छन् । दुइ, उनी साहित्य बनाइरहेका छन् । तर उनी यसलाई सृजनशील अराजकताको आग्रहमा राखेर हेर्छन् । उनको काव्यकृति/ खण्डकाव्य "करङको हिरासत" बजारमा आएको छ । सृजनशील अराजकताकै आग्रहसम्मतमा लखिएको यो काव्यकृतिमा उनले बैरागी काईंलाको गंगा नीलो बग्छुलाई "तमोर हरियो बग्छु" र इन्द्रबहादुर राईको झ्याल कथालाई "जंगलमा", इश्वर बल्लभको मेरो आमाले आत्महत्या गरेको देश कवितालाई "आत्मदाहको भान्साघरभित्र", तुलसी दिवसको एटना र विसुभिएस: जिन्दगीसंगको विद्रोहलाई "पोलिष्टरको दौरा सुरुवाल" र विष्णु पुराणलाई "म बलीहाङको अभ्युदय" शीर्षकका पाँचवटा कवितामा विनिर्माण गरेका छन् । विनिर्माण अर्काको सुन्दर रचना भत्काउने संस्कृति हो भन्ने केही समालोचकहरूको आरोप उनको विनिर्माणमा ठेगान लागेको छ । संरचनाको दृष्टिले उनका कविताहरू उत्तरआधुनिकतातर्फलम्केका छन् हुन त उनी आजको समय परम आधुनिकतावाद ।
उनी कवितामा बुद्धि हुल्छन् । कवितामा मनोरन्जन ख्याल ठट्टा पनि गर्छन् । "रंगीन आबिष्कार" २०५७ र "ढुंगामुढाको मन" २०५८ कविता संग्रहहरू उनका अघिल्ला कृतिहरू हुन् । त्यो बाहेक "साहित्य समन्वय" पत्रिका राजन मुकारुङसित आ-आफ्ना श्रीमतिहरूसित मिलेर सम्पादन गर्छन् । उता "समन्वय प्रकाशन" पनि छ । पार्टी भन्न्दा जाति ठूलो हो उनको आफ्नै तर्क छ । तर्कमै बढिरहेछ सृजनशील अराजकता पनि । यो सृजनशिल अराजकता तेश्रो आयाम जस्तै छ भनेर कतिले आरोप लगाउँछन् तर उनीहरू तर्क गर्छन् "महाशय ! सृजनशील अराजकता तेश्रो आयाम जस्तै मात्र छैन । लेखनाथीयहरू साहित्य लेख्छन्, आयामिकहरू साहित्य गर्छन्, सृजनशिल अराजकहरू साहित्य बनाउँछन् । साहित्य गर्ने र साहित्य बनाउने क्रिया-कलापमा तेश्रो आयामसंग हाम्रो गहिरो मत भेद छ ।"
प्रतिगमनको खाल्डोमा साहित्यलाई गाड्ने मलामी मात्र हुन् यी सृजनशील अराजकहरू भन्ने चाहिं नयाँ आरोप हो । त्यसो त आर्यघाटले साझा प्रकाशन, गोरखा पत्र, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको लास उहिलेदेखि नै पर्खिरहेको छ । मात्र मलामीको अभावले यी चत्रपथभित्रै रहेका हुन् होइन भने त उहिले नै शहर परिक्रमा गराएर चक्रपथ बाहिरको आर्यघाटमा सेलाइन्थ्यो ।
अहिलेको नेपाली साहित्य थोरै अंश छाडेर धेरै त यिनै शवहरूको कात्रो मात्र हो । यति त प्रगतिशील-अप्रगतिशील, सृजनशील अराजक-राजक सबैलाई नै खट्केको हो । यो सर्न्दर्भमा हाङयुगको थप तर्क छ- "साहित्य"लाई प्रतिगमनको खाल्डोमा हाल्ने मात्र होइन साहित्यलाई उच्च आधुनिकताको विन्दुमा पुर्यउन आधारस्तम्भ निर्माण- विनिर्माणको कुरा समेत हामीले गरिरहेका छौं ।
तपाईको प्रतिक्रिया
कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।