विराटनगरको जुट मिलमा कार्यरत कारखानाको सामान्य मजदुर देशको राष्ट्रनायक बन्ला भनेर न त स्वयं गिरिजाप्रसाद कोइरालाले कल्पना गर्नुभएको थियो होला न त कसैले सोचेका थिए । तर तत्कालीन राजा ज्ञानेन्द्र शाह राजगद्दीमा बसिरहेकै समयमा कोइराला जनताको छोराले पाउने सर्वोच्च पद प्रधानमन्त्री र �राष्ट्राध्यक्ष� एकसाथ बन्न सफल हुनुभयो ।
जनताको छोरो भएर पहिलोपटक प्रधानमन्त्री र राष्ट्राध्यक्षको समेत जिम्मेवारी सम्हाल्ने कोइराला पहिलो नेपाली नागरिक हुनुहुन्छ । नेपालको राजनीतिक हतिहासमा कृष्णप्रसाद कोइरालाका तीन सुपुत्रले नयाँ कीर्तिमान नै स्थापित गर्न सफल हुनुभयो । त्यसमा पनि गिरिजाप्रसाद कोइरालाको उचाइ अन्य नेताहरूको तुलनामा शिखरमा रहृयो ।
जीवनभरि राजनीतिलाई नै आफ्नो पेसा बनाउनुभएका कोइराला विवादै विवादबाट उठेर नेपाली जनताको भरपर्दो र साझा नेतासमेत बन्न सफल हुनुभयो । कोइराला १०४ वर्षे राणा शाहीविरुद्धको आन्दोलन, ३० वर्षे पञ्चायती शासनविरुद्ध सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा सक्रिय सहभागी मात्र हुनुभएन वि.सं. २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनको त नेतृत्व नै गर्नुभयो ।
प्रधानमन्त्रीको हैसियतले ऐतिहासिक संविधानसभाको निर्वाचन गराउने कार्यको नेतृत्व पनि उहाँले लिनुभयो । संविधानसभाको निर्वाचनपछि नयाँ संविधान निर्माणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर सहमति, सहकार्य र एकताबाटै नयाँ संविधान निर्माण गर्न अन्तिम दिनसम्म पनि प्रयासरत रहनुभयो । आ�नो जीवनको उर्बरकालमा सशस्त्र क्रान्तिबाटै परिवर्तन सम्भव छ भन्ने मान्यता राख्नुहुने कोइराला जीवनको उत्तरार्धमा शान्तिपूर्ण आन्दोलनबाटै परिवर्तन हुन्छ भन्ने मान्यताको पक्षपाती बन्नुभयो ।
रोचक र सङ्घर्षमय जीवन
कोइरालाको जीवन वृत्तान्त पनि निकै रोचक र सङ्घर्षमय छ । निर्वासित जीवन बिताइरहनुभएका पिता कृष्णप्रसाद र माता दिव्या कोइरालाबाट वि.सं. १९८१ असार १८ मा भारतको विहार राज्यको सहषर्ा जिल्लाको टेडीमा गिरिजाप्रसाद कोइराला जन्मनुभएको हो ।
उहाँ आमाको गर्भर्मा रहेका बेला माता-पिता दुवै त्यहाँ रहेको गिरिजादेवी मन्दिर जानुभयो र आ�नो सन्तानको नाम छोरा जन्मे गिरिजाप्रसाद र छोरी जन्मे गिरिजादेवी राख्ने अठोट गरेर र्फकनुभएको थियो ।
चन्द्र शमशेरले कृष्णप्रसाद कोइरालालाई देशद्रोहको मुद्दा लगाई सर्वस्वहरण गरी देश निकाला गरे । करिब ४५ जनाको परिवारसहित कोइराला परिवार भारत निर्वासित भयो । बनारस हुँदै वि.सं. १९७५ मा भारतको सहषर्ा जिल्लाको टेडी गाउँमा खेतीपातीमा कोइराला परिवार क्रियाशील भयो । त्यहीँ गिरिजाप्रसाद कोइरालाको जन्म भएको हो ।
चन्द्र शमशेरको मृत्युपछि कृष्णप्रसाद कोइराला १९८६ मा विराटनगर र्फकनुभयो । जनताका छोराछोरीले पढ्न पाउने विद्यालय नभएकाले उहाँले विराटनगरमा आदर्श स्कुल स्थापना गर्नुभयो र त्यहीँ नै गिरिजाप्रसाद कोइरालासहित सबै सन्तानलाई पढाउनुभयो ।
वि.सं. १९९० सालको महाभूकम्प जाँदा भारतको विहार राज्यको भ्रमण गर्ने क्रममा कटियार आइपुग्नुभएका महात्मा गान्धीसँग भेट गर्न कृष्णप्रसाद कोइराला जानुभयो र साथमा गिरिजाप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । सादा जीवन उच्च विचारका धनी गान्धीलाई देखेपछि त्यसैबाट गिरिजाप्रसाद राजनीतिप्रति आकषिर्त हुनुभयो ।
उता १९९३ मा �नेपाल प्रजापरिषद्� नामक सङ्गठन खुलिसकेको थियो र राणाविरोधी अभियानले तीव्रता पाएको थियो । जहानियाँ राणाशासनको अन्त्य र प्रजातन्त्रको उदयका लागि जीवनभरि सङ्घर्ष गर्दै आउनुभएका प्रजातान्त्रिक योद्धा कृष्णप्रसाद कोइरालालाई राणाशासकले पक्रेर काठमाडौंको चिसो छिंडीमा राखे । हिउँ परेकाले चिसोका कारण बन्दी अवस्थामै कृष्णप्रसाद कोइरालाको निधन भयो ।
शोकमग्न अवस्थामा आमा दिव्या कोइरालाले अत्यन्त साहसका साथ परिवारमा राजनीतिक चेतनाको ढोकालाई अझ फराकिलो पारिदिनुभयो । यसको प्रभाव गिरिजाप्रसाद कोइरालामा पनि पर्नु स्वाभाविकै थियो ।
राजनीतिका सुरुका दिनमा गिरिजाप्रसाद कोइराला कम्युनिस्ट सङ्गठनमार्फत भारतीय भूमिमा सक्रिय हुनुभयो । उहाँ र कृष्णप्रसाद भट्टराई दुवै फेडेरेसनमा हुनुहुन्थ्यो । त्यतिबेलाका भारतका गान्धी, जयप्रकाश, जवाहरलाल नेहरू जेलमा थिए भने कम्युनिस्ट पार्टीका नेताहरू डागी, जोशी खुला हिंडिरहेका थिए । किन होला भनी दाजु बी.पी. कोइरालाले रहस्य खोलेपछि गिरिजाप्रसाद कोइराला प्रजातन्त्रप्रति आकषिर्त हुनुभयो ।
भाषण गर्न नजान्ने मजदुर नेता
भारतको स्वतन्त्रताका लागि गान्धीले �भारत छोडो आन्दोलन�लाई चर्काउन थालेपछि त्यसको असर नेपालको तराईमा नपर्ने कुरै थिएन । वि.सं. २००३ सालमा जुद्ध शमशेरले विराटनगरमा स्थापना गरेका उद्योगमा हजारौँँ मजदुर कार्यरत थिए । कोइराला पनि विराटनगर कटन मिलमा मजदुरका रूपमा काम गर्नुहुन्थ्यो । मेनेजरले आफूमाथि गरेको दुव्र्यवहारको उहाँले विरोध गर्न थाल्नुभयो । अन्य मजदुरले पनि आ�ना पीरमर्का भन्न थाले र त्यसका लागि एक निडर व्यक्तिको खाँचो थियो । कम्पनी मजदुरहरूले दिनहुँ जसो मजदुर नेतृत्व लिन कोइरालासँग आग्रह गर्न थाले ।
नाफामा चलेको सरकारी उद्योगमा दिनहुँ ११ घण्टा काम गर्दा पनि न्यूनतम सेवा सुविधाबाट वञ्चित रहनुपरेकाले कामको स्थायित्व, स्वास्थ्य खर्च, मजदुरका बच्चाहरूको पठनपाठन आदि माग राखी २००३ साल फागुन २१ गतेबाट आन्दोलन सुरु भयो । नेपालकै यो पहिलो मजदुर विद्रोह हो भने त्यसको नेतृत्वकर्ता गिरिजाप्रसाद नै हुनुहुन्थ्यो ।
त्यसबाट प्रभावित भई भारतमा रहनुभएका बी.पी. कोइराला विराटनगर आउनुभयो र मजदुरको आन्दोलनलाई नेपाली राष्ट्रिय काङ्ग्रेसले पूरा समर्थन गर्यो । बाइस वर्षे जोशिलो युवा गिरिजाप्रसादको अर्का साहसी युवा गणेशमान सिंहसँग त्यहीँ पहिलो भेट भयो । तर गणेशमान सिंह राणाको जेल तोडेर हिंड्नुभएकाले लामो समयसम्म त्यहाँ बस्न सक्नुभएन ।
मजदुर आन्दोलन चर्कंदै गयो एक दिन मजदुरहरूलाई सम्बोधन गर्नुपर्ने भयो तर गिरिजाप्रसाद कोइरालाले भाषण गर्न जान्नु भएकै थिएन । उहाँका तर्फबाट अरूले नै भाषण गरिदिए । �निरन्तर अभ्यास नै सफलताको कसी हो� भने झैं त्यसपछिका दिनमा उहाँको भाषण सुन्न आउनेको ताँती लाग्न थाल्यो ।
परिवार नै जेलमा
सडकमा नारा जुलुस हुन थालेपछि त्यहाँ पुगेका राणाका सेनाले गिरिजाप्रसाद कोइराला र तारिणीप्रसाद कोइरालालाई पक्राउ गर्यो भने त्यसको लगत्तै बी.पी. पनि पक्राउ पर्नुभयो । त्यहाँ खटिएको नेतृत्वको अभाव दिव्या कोइरालाले लिनुभएपछि कोइराला परिवारका सबै महिला सदस्य पनि पक्राउ परे । पक्राउ परेका महिलालाई धनकुटा टक्सार घरमा पुर्याइयो भने त्यहाँ रहेका बी.पी., तारिणी, गिरिजा, मनमोहन अधिकारीसमेत छजना नेतालाई धनकुटा, ओखलढुङ्गाको बाटो हुँदै काठमाडौं हिँडाइयो । यसले पहाडमा पनि राणाविरोधी जागरण ल्यायो ।
राणाले बी.पी. बिरामी भएकाले छाडे पनि अरू नेता छुटेनन् । बी.पी.ले पुनः सङ्गठन गर्न थालेपछि पुनः जेल पर्नुभयो । वि.सं. २००५ सालतिर बी.पी. आमरण अनशन बस्नुभयो र त्यो अनशन छुटाउन राणाहरूले भाइहरू तारिणी र गिरिजालाई त्यहीँ पठाए । आ�ना दाजुको अनशन तोडाउन लगिएका भाइ गिरिजाप्रसादले उल्टै अनशन तोड्न नहुने भन्दै दाजुलाई ढाडस दिनुभयो । उहाँले नै तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई जयप्रकाश नारायणको फोनमार्फत जानकारी गराउनुभयो । बी.पी. भारत स्वतन्त्रता आन्दोलनमा सहभागी हुनुभएकाले भारतीय नेताहरूले छुटाउन दबाब दिनु स्वाभाविकैै थियो ।
उता जेलमा पर्नुभएका बी.पी.को अवस्था निकै दयनीय बन्यो । गिरिजाप्रसाद कोइरालाको पहलले राणाहरू अब बी.पी.लाई परिवारका सदस्यसँग भेट्न दिन बाध्य भए । स्टेचरमा राखिएका बी.पी.लाई तारिणी र गिरिजाका सामु लगियो आमा दिव्या कोइरालालाई जिम्मा लगाउने राणाहरूको उद्देश्य थियो तर निर्णयशक्तिकी धनी दिव्या कोइरालाले बी.पी.लाई स्वीकार गर्नुभएन र भन्नुभयो- �अहँ जबसम्म यो छुट्दैन, सरकारको जिम्मा� भनेर छोरालाई आमरण अनशन तोडाउनु भएन ।
राणा प्रधानमन्त्री मोहन शमशेरले �तिम्रो छोरो मर्छ� भनेर भन्दा दिव्या कोइरालाले भन्नुभयो �मेरो दुलाहा त यहीँ सेलाएँ भने छोरालाई पनि यहीँ सेलाउँछु ।� बी.पी. को आमरण अनशन २७ दिन पुगेको थियो । अन्ततः २९ दिनमा बी.पी.लाई छाडिए पनि तारिणी र गिरिजाप्रसादलाई छाडिएन । दाजु र आमाको त्यो अदम्य साहसले गिरिजाप्रसाद कोइरालाको राजनीतिक इच्छाशक्तिलाई झन् बलियो बनायो ।
लामो समयपछि गिरिजाप्रसादलगायतका अन्य राजबन्दी छुटे र त्यतिबेला नेपाली काङ्ग्रेस एकीकृत भइसकेको थियो र मातृकाप्रसाद कोइराला पार्टी सभापति बन्नुभयो । काङ्ग्रेसले राणाशासनविरुद्ध सशस्त्र सङ्घर्षको आहृवान गर्यो र विराटनगर कब्जा गर्ने जिम्मेवारी गिरिजाप्रसादलाई दिइयो । साथमा विश्वबन्धु थापा पनि हुनुहुन्थ्यो । राणाको सेनाले प्रहार गरेको गोलीबाट कोइराला सुतेर बच्न सफल हुनुभए पनि मुक्ति सेनाका केही योद्धाहरूले ज्यान गुमाउनु पर्यो । मुक्ति सेनाका विशेषज्ञ याकथुम्बा, राजनीतिक नेतृत्वमा गिरिजाप्रसाद कोइराला र तारिणी हुनुहुन्थ्यो । उहाँहरूले विराटनगर कब्जा गर्नुभएको थियो । नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सङ्घर्षले १०४ वर्षे राणाशाही ढल्यो र नेपालमा प्रजातन्त्र आयो ।
प्रेम विवाह र पत्नीशोक
आन्दोलनकै क्रममा अग्लो कद, निश्चल मुस्कान तथा मजदुर नेता कोइराला र विराटनगरको आदर्श बालिका स्कुलकी शिक्षिका सुष्मा उपाध्यायबीच प्रेम पैदा भयो । सङ्घर्षका क्रममा उहाँहरूको निरन्तर भेट हुनथ्ााल्यो । राणाशाहीको अन्त्य गर्ने र प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्ने एउटै लक्ष्य, एउटै बाटो र एउटै भविष्यका कारण उहाँहरूबीच प्रीत बढ्नु स्वाभाविक नै थियो । वि.सं. २००८ मा उहाँहरूको प्रेमविवाह भयो र वि.सं. २०११ सालमा छोरी सुजाता कोइरालाको जन्म भयो । सुजाता उहाँकी एकमात्र सुपुत्री हुनुहुन्छ ।
तत्कालीन राजा महेन्द्रको १७ सालको कदमसँगै नेताहरू जेलमा सडिरहेका बेला २०१९ सालको मध्यतिर सुष्मा कोइरालालगायत पूर्वको जलानीमा जेलमा पर्नुभयो । साथमा आठ वर्षकी सुजाता पनि जेलमै हुनुहुन्थ्यो । आइसक्रिम बनाउन मट्टीतेलबाट चल्ने रेपि|mजेनेरेटरमा आगो लाग्यो र निभाउने कोसिस गर्दा गर्दै सुष्मा बेहोस हुनुभयो र त्यही कारणले उहाँको निधन भयो । २०२४ सालमा अचानक गिरिजाप्रसाद कोइरालामाथि पत्नीशोक पर्यो । विवाहको १६ वर्षमै पत्नीविहीन हुनुभएका कोइरालाले बाँकी जीवन एक्लै बिताउनुभयो । कहिल्यै निराश नहुने कोइराला आ�नी जीवनसाथीसँगको वियोगले केही समय निकै निराश पनि हुनुभयो ।
लामो दौडको घोडा बन्न सफल
पार्टी सङ्गठनमा क्रियाशील कोइराला २०१२ सालमै नेपाली काङ्ग्रेस मोरङ जिल्लाको सभापति चुनिनुभयो । ०१५ सालको आमनिर्वाचनमा बी.पी.ले टिकट रोज्छौ कि पार्टी सङ्गठन भन्दा कोइरालाले सङ्गठन रोज्छु भन्नुभयो । गिरिजाप्रसाद कोइराला गाउँ गाउँ जाने र जनताको पीरमर्का बुझ्ने, विवाह, भोज, व्रतबन्ध, मृत्युजस्ता मर्दापर्दा साथ दिने उहाँको सहयोगी भावनाले उहाँलाई सङ्गठन निर्माणमा टेवा पुग्यो ।
०१५ सालको काङ्ग्रेसको विजयसँगै अत्तालिएका राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध षड्यन्त्रको तानाबाना बुन्न थाले । त्यसको झण्डै एक वर्षपछि सुनसरी नदी वरिपरिका किसानले सिंचाइ गर्न नपाएको गुनासो गरेपछि उहाँ आफैं सहभागी भएर बाँध हाल्न माटो भर्ने, किसानसँगै पालमा सुत्ने गर्नाले उहाँले सजिलै किसानको मन जित्न सफल हुनुभयो । त्यति मात्र होइन किसानको जग्गा विवाददेखि अन्य समस्या पनि सबैलाई राखेर समाधान गर्न थाल्नुभयो । सायद त्यसैले पनि होला उहाँ राजनीतिमा लामो दौडको घोडा बन्न सफल हुनुभएको ।
०१७ सालदेखि सात वर्षसम्म जेलमा पर्नुभएका गिरिजाप्रसाद कोइरालालाई भेट्न भारतका समाजवादी नेता जयप्रकाश नारायण नख्खुजेलमा पुग्नुभयो । पानी मात्र पिएर २१ दिनसम्म आमरण अनशनमा बस्नुभएका कोइराला शारीरिकरूपमा निकै कमजोर तर राजनीतिक हिसाबले बलशाली ठहरिनुभयो । अन्ततः राजा महेन्द्र कोइरालालाई जेलमुक्त गर्न बाध्य भए । त्यसपछि कोइराला जेलमा रहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइराला, मन्त्री गणेशमान सिंह, सभामुख कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूलाई छुटाउने राजासँग वार्ताको पहल गर्नुभयो । विना सर्त भेट्ने बी.पी.को चाहना र सर्तयुक्त भेटका विषयमा कुरा हुँदा राजा महेन्द्रले बी.पी.लाई आठ वर्ष त थुनो नमान्ने हो भने ८० वर्ष थुन्छु भनेर धम्की दिएछन् । त्यसपछि वार्ता भङ्ग भयो ।
कहिल्यै निराश नहुने गिरिजाप्रसादले राजासँगको वार्ताबारे भारतीय नेता जयप्रकाश नारायणलाई भन्नुभएपछि जयप्रकाशले बी.पी. अब नबाँच्न सक्छन् र हामीले मुटु दह्रो पार्नुपर्छ भने । बन्दुकको बलमा शासन गरिरहेका महेन्द्रले अचानक बी.पी. र गणेशमान सिंहलाई जेलबाट रिहा गरे ।
गिरिजाप्रसाद कोइरालाको जीवनीमा शोधग्रन्थ लेख्नुभएका आदर्शनारायणले आ�नो पुस्तकमा लेख्नुभएको छ- �त्यसबखत गिरिजाबाबुको निकै महत्त्व देखियो� गणेशमानजीले भन्नुभयो- गिरिजा त्यत्रो कुशल वार्ताकार हुनुहुन्छ भन्ने मलाई थाहा थिएन, राजनीतिकरूपमा त्यति परिपक्व हुनुहुन्छ भन्ने मलाई लागेको थिएन ।� यिनै राजनीतिक उतारचढावले कोइरालालाई राजनीतिकरूपमा धेरै सक्षम, दूरदृष्टिका धनी र परिपक्व नेताको रूपमा स्थापित गरायो । उहाँको एउटा बानी नै थियो धेरै घुम्ने र धेरै साथी बनाउने । त्यति मात्र होइन उहाँ अरूलाई सहयोग गर्दा आफू रित्तिएको पनि थाहा पाउनुहुन्नथ्यो ।
विमान अपहरणका नायक
पञ्चायती निरङ्कुशतालाई ढाल्न निरन्तर क्रियाशील कोइरालाले २०३० सालमा विमान अपहरण योजना बनाउनुभयो, त्यो पनि क्रान्तिका लागि खर्च जुटाउन । विराटनगरबाट उडेको विमानमा रहेका दुर्गा सुवेदीले पाइलटलाई पेस्तोल देखाई भारतको फारबिसगन्जमा अवतरण गर्न बाध्य बनाए । कोइराला फारबिसगन्जमै हुनुहुन्यो । त्यसपछि काङ्ग्रेसले ओखलढुङ्गामा सशस्त्र आक्रमण गर्ने योजना बनायो तर गलत सूचनाका कारण त्यो प्रयास विफल मात्र भएन धेरै योद्धाको ज्यान पनि गयो ।
भारतमा इन्दिरा गान्धीले सङ्कटकाल लगाएपछि बी.पी. कोइराला, गणेशमान सिंहलगायत राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश र्फकनुभयो भने सम्भावित आन्दोलनका लागि बी.पी.ले गिरिजाप्रसादलाई भारतमै बस्न निर्देशन दिनुभयो ।
भारतको पटनामा भएको नेपाली काङ्ग्रेसको सम्मेलनबाट कुशल सङ्गठनकर्ता गिरिजाप्रसाद कोइराला वि.सं. २०३४ साल असोजमा पार्टीको महामन्त्री चुनिनुभयो । २०३६ साल जेठ १० गते राजा वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गरेपछि उहाँ स्वदेश फर्केर पार्टी सङ्गठनमा लाग्नुभयो । धेरैको सहयोग लिनसक्ने गुण भएका कोइरालामा जुन राजनीतिक सफलताको एउटा कडी पनि हो । कठिन परिस्थितिमा पनि आफूलाई सम्हाल्दै कार्यकर्तामाझ रहनसक्नु राजनेतामा हुनुपर्ने अर्को विशिष्ट गुण हो ।
कम्युनिस्टका कट्टरविरोधी तर बने साझा नेता
वि.सं. २०४८ साल जेठ १२ गते महामन्त्री कोइराला दोस्रो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । कम्युनिस्टलाई देखी नसहने कोइराला विरुद्धमा जति पुत्ला दहन कसैका विरुद्ध भएनन् होला । उहाँको विरोधमा तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा -एमाले) का कार्यकर्ताले १६ फिट अग्लो पुत्ला बनाएर जलाए । आ�नो अडानमा कहिल्यै नझुक्ने कोइरालाको बानीमा त परिवर्तन आएन तर कम्युनिस्टलाई हेर्ने दृष्टिकोणमा भने व्यापक परिवर्तन आयो ।
तत्कालीन राजा ज्ञानेन्द्रको �कु� सँगै नेपालका कतिपय राजनीतिक दल राजाको नेतृत्वमा रहेको सरकारमा सहभागी हुनपुगे तर नेपाली काङ्ग्रेसका सभापति रहनुभएका कोइराला भने राजाको कदमको विरोधमा सडक तताउन थाल्नुभयो । अन्त्यमा सबै दललाई हटाएर राजाले आ�नै अध्यक्षतामा सरकार गठन गरेपछि अन्य दल पनि कोइरालाको नेतृत्वमा अगाडि बढेको आन्दोलनमा सहभागी बने ।
आन्दोलनलाई निर्णायक बनाउन तत्कालीन विद्रोही नेकपा -माओवादी) सँग वार्ता गर्नु जरुरी थियो । उहाँकै नेतृत्वमा तत्कालीन सात दल र विद्रोही माओवादीबीच ऐतिहासिक १२ बुँदे सहमति भयो । जुन सहमति नै नेपालको पछिल्लो राजनीतिक परिवर्तनको जग थियो । ऐतिहासिक जनआन्दोलनपछि उहाँकै नेतृत्वमा बनेको सरकारमा नेपालका सबै खाले प्रमुख कम्युनिस्टहरू पार्टीहरू सहभागी भए, त्यो पनि उहाँलाई सर्वसम्मत नेताको रूपमा स्वीकार गरेर ।
नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी प्रधानमन्त्री हुने र त्यसमा पनि निर्वाचित प्रधानमन्त्री हुने सौभाग्य कोइरालालाई प्राप्त भयो । नेपाली काङ्ग्रेसको निर्वाचित पार्टी सभापति भएर सबैभन्दा लामो कार्यकाल बिताउने नेता पनि उहाँ नै हो । सायद उहाँ आफैंले पनि कल्पना गर्नुभएको थिएन होला-कारखानामा काम गर्ने सामान्य मजदुर देशको शक्तिशाली प्रधानमन्त्री मात्र होइन प्रधानमन्त्री र राष्ट्राध्यक्ष दुवै हुने ।
चारवटा राजासँग सिंगौरी खेलेका र बिना रक्तपात २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गरेर राष्ट्राध्यक्ष बन्न सफल व्यक्तित्व कोइराला प्रजातन्त्रवादीका मात्र होइन कम्युनिस्टदेखि अन्य सबै खाले दलका भरपर्दा र साझा नेता बन्न सफल हुनुभयो । उहाँ नेपाली राजनेताहरूमध्ये अन्तर्राष्ट्रिय जगत्ले पत्याएको र विश्वास गरेको उच्च कदको सर्वोच्च नेता हुनुहुन्थ्यो ।
सशस्त्र सङ्घर्षमा रहेका माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन र बन्दुककै बलमा शासन हातमा लिएका राजालाई गद्दीच्युत गराउन बाध्य पार्ने कार्य पनि कोइरालाकै नेतृत्वमा भयो । इतिहासले जे भनोस्, इतिहासकारले जे लेखून् तर गिरिजाप्रसाद कोइराला शक्तिशाली र शूरवीर नेतामा गनिनुहुन्छ । इतिहासमा कसैले गर्न नसकेको संविधानसभाको निर्वाचन गराएर कोइरालाले नेपाली जनता र देशलाई ठूलो गुन लगाउनुभयो । जनताले चाहेको लोकतान्त्रिक संविधान समयमै बनेमा कोइरालाको आत्माले शान्ति पाउनेछ भने इतिहासमा कोइरालाको नाम पनि स्वर्ण अक्षरले लेखिने नै छ ।
शब्दचित्रमा गिरिजाप्रसाद कोइराला
वि.सं. १९८१ असार १८ गते भारतको विहारमा निर्वासित कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाका कान्छा सन्तानका रूपमा जन्म ।
२००३ फागुन २१ गते विराटनगरमा सुरु भएको मजदुर आन्दोलनको नेतृत्व ।
मोरङ कटन मिलको सामान्य मजदुरबाट प्रजातान्त्रिक आन्दोलनमा सरिक ।
२००७ सालको जनक्रान्तिमा नेपाली काङ्ग्रेसले विराटनगर कब्जा गर्न गठन गरेको मुक्तिसेनाको नेतृत्व ।
वि.सं.२००८ सालमा सुषमा उपाध्यायसित विवाह ।
२०१२ सालमा वीरगञ्जमा सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशनबाट केन्द्रीय
सदस्य एवं मोरङको सभापतिमा निर्वाचित ।
२०१७ साल पुस १ गते जेल चलान । सात वर्षसम्म थुना ।
२०२४ सालमा पत्नी वियोग । त्यसै वर्ष २१ दिनसम्म आवरण अनशन ।
२०३० साल जेठ २८ गते नेपाल राष्ट्र बैङ्कको ३० लाख रुपियाँ लिएर विराटनगरबाट काठमाडौँ उडेको विमान अपहरणका योजनाकार ।
२०३४ सालमा पटनामा सम्पन्न नेपाली काङ्ग्रेसको सम्मेलनबाट महामन्त्री ।
२०३६ सालमा स्वदेश फिर्ता ।
२०४६ सालको जनआन्दोलनमा सक्रिय नेतृत्व ।
२०४८ सालको आमनिर्वाचनमा मोरङ र सुनसरीबाट निर्वाचित । जनआन्दोलनपछि २०४८ जेठ १२ गते पहिलो निर्वाचित प्रधानमन्त्री ।
२०४८ मङ्सिर २१ गते बनारस हिन्दू विश्वविद्यालयबाट डाक्टर अफ लको
उपाधि ।
२०५१ सालको दोस्रो आमनिर्वाचनमा सुनसरी र मोरङबाट निर्वाचित । प्रतिपक्षी दलको नेता ।
२०५३ वैशाखमा काठमाडौँमा सम्पन्न नेकाको नवौँ महाधिवेशनबाट पहिलो पटक पार्टी सभापति निर्वाचित ।
२०५४ चैत ३० गते दोस्रोपटक प्रधानमन्त्री ।
२०५५ पुस ८ गते तेस्रोपटक प्रधानमन्त्री ।
२०५६ चैत ८ गते चौथोपटक प्रधानमन्त्री ।
२०५७ माघमा सम्पन्न नेकाको १० औँ महाधिवेशनबाट पुनः पार्टी सभापति ।
११ औँ महाधिवेशनबाट पुनः तेस्रोपटक पार्टी सभापति ।
२०६० वैशाख २८ गते जनआन्दोलन-२ का क्रममा तानाशाहीविरुद्ध सडकमा ।
२०६२ असार १ गते माओवादी नेताहरूसित भारतमा कुराकानी ।
२०६३ वैशाख १२ गते पाँचौँपटक प्रधानमन्त्री ।
२०६४ जेठ १५ गते देशमा गणतन्त्रको घोषणा र त्यसपछि पुनः शपथ ग्रहण गरी छैटौँपटक प्रधानमन्त्री ।
२०६६ पुस २४ गते गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक ।
२०६६ चैत ७ गते शनिवार ८५ वर्षको उमेरमा निधन ।
स्रोतः राजनेता गिरिजाप्रसाद कोइराला, नेपाली काङ्ग्रेस विगत र वर्तमान तथा अन्य ।