० केमा व्यस्त हुनुहुन्छ,आजभोलि ?
-पार्टीकाम, किसान महासंघको काम, बैठक, शान्ति र संविधानको लागि एमालेको अभियानको जिम्मेवारी छ, त्यसलाई निर्देशन गर्ने काम, यस्तैमा व्यस्त छु आजभोलि ।
० के उद्देश्य हो, त्यो अभियानको ?
-संविधान बनाउन वाधा गर्ने नेकपा एमाले होइन, यसमा तपाइँहरू सचेत हुनुस्, नेकपा एमालेले वाधा पारेको छ भन्ने लागेमा पनि तपाइँहरूले भन्न सक्नुहुन्छ, भन्नुहोस्, हामी जेठ १४ भित्र संविधान बनाउने पक्षमा छौं, त्यसको लागि हामी जस्तोसुकै विषयमा छलफल गर्न तयार छौं, राष्ट्रिय सहमती बनाएर संविधान बनाउनुपर्छ भन्ने पक्षमा एमाले रहेको छ भन्ने जनतालाई बुझाउने काम यो अभियानले गर्छ ।
०संविधान बनाउन कसले वाधा पुर्याएको छ भन्ने लाग्छ, तपाइँलाई ?
-फलानो वाधक हो भनेर हामी भन्दैनौं । तर, संविधानसभाको सबभन्दा ठूलो पार्टीको रुपमा रहेको एनेकपा माओवादी बढी जिम्मेवार हुनुपर्ने हो । जिम्मेवार भएको हामीलाई लागेको छैन । त्यसो भएर माओवादी समर्थक जनतालाई पनि हामी आफ्नो नेतृत्वलाई दवाव दिनोस्, नैतिक दवाव दिनुस् भनेर आव्हान गछौं ।
० माओवादीले त आफू जिम्मेवार भएको भन्छ, अरु दल जिम्मेवार नभएको आरोप छ नि माओवादीको त ?
-जिम्मेवार छ भने संविधान बनाउन लाग्नुपर्छ नि त !
०माओवादीको कुरा एउटा, व्यवहार अर्को हो त ?
-कतिपय कुरा त्यस्तो हो ।
०तपाइँलाई त माओवादी नजिकको भनिन्छ नि, के भन्नुहुन्छ ?
माओवादीसँग पार्टीएकता गर्नुपर्छ भन्नेमा अहिले पनि अडिग हुनुहुन्छ ?
-हो, म मओवादीसँग नजिककै हुँ । एमाले र माओवादीको बीचमा पार्टीएकता गर्न सकियो भने यो देशको भाग्य उज्जवल हुन्छ । सकिएन भने ठूलो नोक्सानी हुन्छ । यो मलाई लागेको विश्वास हो । यसमा म अहिले पनि दृढ छु, प्रतिवद्ध छु । आगामी निर्वाचनसम्म कि त पार्टीएकता गराउँछु, कि चुनावी मोर्चा बनाउँछु । दुइ पार्टीको बीचमा म यो गराएरै छाड्छु ।
०एमालेको नेतृत्व यसमा सहमत हुन्छ ?
-नेतृत्वले मानेन भने कार्यकर्तालाई उठाएर, तिनलाई घेराबन्दी गरेर, कोठामा थुनेर यसमा सहमत गराउँछु । माओवादीसँग एकता गर्नैपर्छ ।
०माओवादीसँग एकता गरेर यो मुलुकमा के हुन्छ भन्ने ठान्नुभएको छ, तपाइँले ?
-शान्तिपूर्ण तरिकाले जनवादी क्रान्ति सम्पन्न गर्न यो एकता आवश्यक छ ।
०सकिन्छ ?
-ग्यारेन्टी गर्छु, सकिन्छ ।
०यो विचारसँग एमालेमा त एकमत छैन नै, माओवादीमा पनि एकमत देखिँदैन नि ?
-सहमत गराउन सकिन्छ । यदि यसमा माआवादी सहमत भएन भने माओवादी नाङ्गिन्छन्, जनवादी क्रान्ति गर्न चाहने सम्पूर्ण जनता एमालेको झण्डामुनि आउँछन्, त्यस्तो अवस्थामा नेकपा एमाले एक्लैले जनवादी क्रान्ती सम्पन्न गर्छ ।
०प्रसंग बदलौं, जेठ १४ भित्र संविधान बन्छ ?.jpg)
-जेठ १४ भित्र अब संविधान बन्न सक्दैन ।
०त्यस्तो अवस्थामा के हुन्छ ?
-मुख्य तीन राजनीतिक दलले सहमती गरेर संविधानसभाको अवधि संविधान संशोधन गरेर थप्नुपर्छ । त्योभन्दा अर्को विकल्प नै छैन ।
०म्याद थपेपछि पनि संविधान बन्छ भन्ने के ग्यारेन्टी भयो र ?
-कति समयमा संविधान बनाउन सकिन्छ भन्ने विषयमा सहमती गरेर समय थप्नुपर्छ । छ नै महिनामा त हुँदैन, समय थपिसकेपछि जनताको विचमा जाने पनि समय राख्नुपर्छ । संविधानको टुङ्गो लगाएपछि जनाताको विचमा लैजानुपर्छ । त्यसपछि फेरि संविधानसभा बसेर टुङ्गो लगाउनुपर्छ, त्यसकारण कम्तीमा पनि एक वर्षसमय थप्नुपर्छ ।
०यही अवधि नै संविधान बनाउन पर्याप्त थियो, दलहरूले ध्यान नदिएको होइन र भन्या ?
-दुइ वर्षमा सकिने रहेनछ। कतिपय विषय जनमत संग्रहबाट टुङ्गो लगाउनुपर्ने हुन्छ। जस्तो शासकीय स्वरुपको कुरा, राज्यको पुनसंरचनाको कुरा । यसमा दलहरूबीच सहमती भएन भने त जनतामा जानुपर्यो । जनमत लिनुपर्यो, बहुमतले जे भन्छ, त्यो मान्नुपर्यो ।
०संविधान जारी गर्नुभन्दा अघि नै जनमत संग्रहमा जानुपर्छ भन्न खोज्नु भएको हो ?
-हो, अगाडि नै गर्नुपर्छ ।
०धर्मको बारेमा पनि जनमतसंग्रह गर्नुपर्छ भन्न खोज्नु भएको हो ?
-यसमा गरिन्न । धर्मनिरपेक्ष भैसक्यो । यसमा कुनै जनमत संग्रह हुँदैन ।
०संघीयताको बारेमा नि ?
-यस विषयमा जनतामा जान सकिन्छ । धर्मनिरप्रेक्षको सम्बन्धमा त राजनीतिक सहमती भएर अन्तरिम संविधानमा समावेश गरिएको हो । यसलाई फेरि जनमत संग्रहमा लैजानु जरुरी छैन ।
०संघीयताको बारेमा पनि सहमती भएको होइन र ?
-संघीयतामा मात्रै भएको हो । त्यसमा त अहिले पनि सहमति नै हुन्छ । कस्तो संघीयता, त्यसको सीमा के राख्ने, अधिकार कति हुने भन्ने विषयमा राष्ट्रिय सहमती हुन सकेन भने जनमत संग्रहमा जानुपर्छ । जनताले जे भन्छन्, त्यसैमा हामी जानुपर्छ ।
०तपाइँलाई हक्की र जे मनमा लाग्यो, त्यो खुलस्त बोल्ने नेताको रुपमा पनि लिने गरिन्छ, संघीयताको विरोधमा एमाले, माओवादी र कांग्रेसभित्र जनमत बन्दै गरेको हो? खुलस्त बताइदिनोस् न ?
-संघीयता विरोधी जनमत बनेको होइन तर संघीयताको स्वरुप र त्यसको चरित्रको सम्बन्धमा भिन्नभिन्न विचारहरू प्रकट भएका छन् । एमालेभित्र पहिला जाति, भाषा,संस्कृति, क्षेत्र भन्ने थियो । अहिले चाहिँ एकथरी हाम्रा कमरेडहरू जाति, भाषा, संस्कृतिलाई छोडेर केवल क्षेत्रको आधारमा मात्रै संघीयताको नामांकन र सीमांकन गर्नुपछ भन्ने पक्षमा लाग्नु भा\'छ । यो संख्या हाम्रो पार्टी भित्र पहिलाभन्दा बढेको छ । त्यसमा जाने भनेको नेकपा एमालेको आत्माघाती काम हो र त्यसो भएमा सम्पूर्ण नेपालका जनजाती, आदिवासी र जाति, भाषा, संस्कृतिका जनताको ठूलो हिस्सालाई नेकपा एमालेबाट पन्छाउने काम हुन्छ । एमालेले त्यो काम गर्नै हुँदैन ।
०जातीय आधारमा संघीयता हुनुपर्छ भन्न खोज्नु भएको हो ?
-जातीय आधार होइन । जातीलाई मान्यता दिने कुरा हो । जस्तो, हामीले प्रन्धवटा पेश गरेका छौ, संघीयतामा जाँदा प्रादेशिक राज्यहरू १५ वटा हुने भनिएको छ । त्यसमा हामीले मगरसंस्कृतिको नामबाट मगरात, गुरुङ संस्कृतिको नामबाट तमूवान, तामाङ संस्कृतिको नामबाट ताम्सालिङ, लिम्वूसंस्कृतिको नामबाट लिम्वुवान, र्राई, संस्कृतिको नामबाट किराँत, थारु संस्कृतिको नामबाट थारुवान, नेवार संस्कृतिको नामबाट नेवाः, मैथली भाषाको नामबाट मिथिला, भोजपुरी भाषाको नामबाट भोजपुरा, यस्तो किसिमको हामीले राखेका छौं । ऐतिहासिकताको आधारमा लुम्बिनी राखेका छौं, क्षेत्रीय आधारमा हामीले खप्तड राखेका छौं, कर्णाली राखेका छौं, नारायणी राखेका छौं, सुनकोशी राखेका छौं । यसरी १५ वटा नाम पुर्याएका छौं । यसोगर्दा कुनै पनि जातिले विशेष अधिकार वा अग्राधिकार पाउँदैनन् ।
०यो प्रस्तावमा सहमती जुटाउन सक्नुहुन्छ भन्ने लाग्छ ?
-सहमती भएन भने जनमतसंग्रहमा जानुपर्छ ।
०प्रसंग बदलौं, शान्तिसुरक्षाको अवस्था खस्केको हो ? मान्छेहरू दिनदहाडै मारिँदैछन्, तपाइँको समयमा भन्दा अवस्था गिर्दो छ, हैन ?
-मेरो पालामा पनि मान्छेहरू त मारिएकै थिए । तर जनताको मनोवल यति बढी बिग्रेको थिएन । सुधारको प्रक्रिया त्यसबेला धेरै अघि बढेको थियो । त्यसो भएको हुनाले अहिलेको मन्त्रीलाई सजिलो पनि भएको छ ।
०किन, तपाइँहरूले गृहमन्त्रीलाई शान्तिसुरक्षा कायम गर्नोस् भन्नुभएको छैन ?
-दृढतापूर्वक शान्तिसुरक्षा कायम गर्ने, दण्डहीनता अन्त्य गर्ने, यसमा कुनै मुलाहिजा नगरिकन लाग्ने, अराजकता फैलाउने, शान्ति भंग गर्ने माथि कानुनी किसिमले कडा कार्वाहीको लागि कुनै किसिमको मुलाहिजा नगरिकन काम गर्नुपर्छ ।
०यस्तो भएको छ कि छैन ?
-गर्छुभनेर गृहमन्त्रीले भनेका छन्, दिनदिनै पत्रकार सम्मेलन गरेर बताउनुहुन्छ । गृहमन्त्रीले यसो गर्याछु उसो गर्याछु भन्नुभएको सुनिन्छ ।
०यो सरकारले नै संविधान बनाउन सक्ला त ?
-यो सरकार पूर्णरुपले असफल भयो । यो उद्देश्य, लक्ष्य प्राप्तिको निमित्त पूर्णरुपले असफल भो । यो सरकारले संविधान घोषणा गर्ने वातावरण बनाउन सक्दैन, अब सबैले विचार गर्नुपर्छ ।
०कस्तो सरकार बन्नुपर्छ त ?
-राष्ट्रिय सहमतीको सरकार बन्नुपर्छ । त्यो त मैले पहिलादेखि नै भन्दै आएको थिएँ । यसको लागि तीनवटा ठूला पार्टी मिल्नुपर्छ । तीनवटा पार्टी मिलेपछि अरुलाई पनि ल्याउनुपर्छ ।
.jpg)
०यसोभन्दा तपाइँलाई माओवादीको भाषा बोलेको आरोप छ नि ?
-अँ, तिनीहरूलाई चाहिँ अब कस्को भाषा बोल्यो भनेर भन्ने, जसले मलाई त्यस्तो आरोप लगाए । वैशाख २० गते सरकार गिराउने निर्णय हाम्रो पार्टीले गर्यो । २१ गते प्रचण्डले आफैं सरकार गिराए । हाम्रो पार्टीले निर्णय गर्यो, निर्णय थाहा पाउने वित्तिकै प्रचण्डले आफैं सरकार गिराए । त्यसबेला वैशाख २० गतेको दिन अब नेपाल दुर्घटनामा गयो, नेकपा एमालेको निर्णय बाट देश दुर्घटनामा गयो भनेर मैले फरक मत लेखेको हुँ । मैले त्यसलाई दस्तावेज बनाएर राष्ट्रव्यापी रुपमा छलफल गराउन माग गरेँ । अहिले जिल्ला कमिटीसम्म अध्ययनको लागि पठाउने भन्ने निर्णय भएको छ ।
०तपाइँको भनाइ सत्य सावित भएको हो त ?
-सत्य सावित भयो । नेकपा एमालेभित्र नै वामदेवले सत्यसावित गर्यो भनेर भन्न हुन्न भन्ने मान्छेहरू छन्, पूर्वाग्रही छन् ।
०तपाइँलाई मदन भण्डारीले \'आइरन गेट\' भन्नुहुन्थ्यो रे ? किन भनेको होला जस्तो लाग्छ ?
-उहाँले भन्नु भो । आफ्नो विचार दृढतापूर्वक राख्ने भएर नै भनेको होला । म चाहिँ एक्सन म्यान हो । मैले सैद्धान्तिक पनि धरै काम गरेको छु, विचारको क्षेत्रमा पनि धेरै काम गरेको छु, मलाई मनपर्ने कुरा काम हो । फटाफट काम गर्दै जानु पर्छ ।
०पार्टी अध्यक्षसँग तपाइँको कार्यशैली मिल्छ ?
-मेरो र उहाँको व्यक्तिगत प्रकृतिमा भिन्नता छ ।
०विचार चाहिँ मिल्छ ?
-महाधिवेशनमा चाहिँ मिलेको हो, त्यस यता आएपछि चाहिँ मिलेन ।
०किन नमिलेको होला ?
-उहाँले धेरै कुरामा सम्झौता गर्नुभो । बहुमत भएको केन्द्रीय कमिटी पनि अल्पमतमा पार्नुभो, पोलिटव्यूरो बहुमत हुन सक्थ्यो, त्यसलाई पनि अल्पमतमा पार्नुभो, स्थायी समितिमा बहुमत थियो त्यो पनि अल्पमतमा पार्नुभो ।
०किन त्यसो गरेको होला ?
-खै, त्यो उहाँले जान्ने कुरा हो, भएको बहुमतलाई अल्पमतमा पुर्याउनु भो ।
०सुझाव दिन भएन त तपाइँले ?
-कतिपटक दिइयो कतिपटक ।
०मान्नु भएन ?
-उहाँले चाहिँ मेरो विचारमा विश्वास गर्नुभएन ।
०महाधिवेशनमा तपाइँहरू मिलेर जसलाई पराजित गर्नुभएको थियो, अध्यक्षले अहिले उहाँहरूसँग सम्झौता गर्नु भएको हो ?
-प्रवृत्तिगत सम्झौता भयो । मान्छसँग सम्झौता गर्नैपर्छ । पार्टी भित्र एकै ठाउँमा बसेपछि त्यस्तो हुन्छ । तर गलत प्रवृत्तिसँग सम्झौता गर्नुभो उहाँले । भैरहेको बहुमत पनि कसैले गुमाउँछ ? केन्द्रीय कमिटीमा बहुमत थियो उहाँको, उहाँले नै अल्पमतमा पुर्याउनुभयो ।
०अध्यक्षले कुशलतापूर्वक पार्टी हाक्न नसक्ने लक्षण देख्न थाल्नुभएको हो ?
-खै, सबैजनासँग मिल्ने भन्नुहुन्छ । मेलमिलाप गरेरै अघि बढ्न सकिन्छ भन्ने ठान्नु भएको होला । मेरो उहाँप्रति सद्भाव छ शुभकामना छ, उहाँले चाहेको सहयोग मैले गर्नुपर्छ र गर्छु पनि ।
०संविधान समयमा पनि बनेन र म्याद पनि थपिएन भने मुलुकमा कस्तो अवस्था आउँछ होला ?
-जसको हातमा शक्ति हुन्छ, त्यसैले राज्यसत्ता कब्जा गर्छ ।
०माओवादीले कब्जा गर्छ भन्नुभएको हो ?
-जसले पनि गर्छ, जे पनि हुन सक्छ । संयुक्त राष्ट्रसंघ आउन पनि सक्छ । सेनामा आधारित भएर पनि हुन सक्छ, विद्रोहमा जाने स्थिति पनि आउन सक्छ । प्रगतिशील विद्रोहीले पनि कब्जा गर्न सक्छन् । प्रतिगामी विद्रोहीले पनि कब्जा गर्न सक्छन् । त्यस्तो अवस्थामा म विद्रोही हुन्छु । संविधानविहीन भएर जनताको विरुद्ध प्रतिगमनकारीले कब्जा गर्यो भने त्यसको विरुद्ध म विद्रोहमा जान्छु ।
०घोषणा गरेरै लाग्नु हुन्छ ?
-मैले अहिले नै घोषणा गरेँ । तपाइँको पत्रिकाबाट मैले घोषणा गरेँ कि हाम्रो देशमा जेठ १४ पछि प्रतिगामी शक्तिले राज्यसत्ता कब्जा गर्यो भने म मेरा साथीहरूलाई लिएर विद्रोहमा सामेल हुन्छु ।
०त्यसो भए के उपर्युक्त विकल्प देख्नुहुन्छ ?
-सबभन्दा उत्तम विकल्प ठूला तीन पार्टी मिलेरै संविधान संशोधन गरेर समय थप्ने र संविधान जारी गर्ने नै हो । शान्तिपूर्ण तरिकाले मुलुकको समस्या समाधान गर्ने उत्तम विकल्प यही नै हो । यसो भएन भने जसको शक्ति छ, त्यसले सत्ता कब्जा गर्छ । हामीले चाहिँ जनताको शक्ति निर्माण गरेर जनवादी क्रान्ति सम्पन्न गर्नेतर्फ लाग्नुपर्छ ।
प्रस्तुति : वोधराज त्रिपाठी