जवानीले उनलाई उहिल्यै छाडेर गइसक्यो । तर, बैँस भरिँदै गरेको ठिटाको भाँती उनी मुसुक्क हाँस्छन् र मसिनो स्वरमा मीठो बोल्छन् । कपाल झरेको पनि उहिल्यै हो, खुइलो तालु छेक्न छानो हालेको टोपी भने उनले कहिल्यै छुटाउँदैनन् । किशोर-किशोरीसँग शिष्ट भाषामा ख्यालठट्टा गर्न पनि उनी खप्पिस छन् । र, यो एकहत्तर वर्षको पाको उमेर (बुढेसकाल) मा पनि त्रिभुवन विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई नेपाली भाषा पढाइरहेका छन् ।
मोहनराज शर्मा । नेपाली साहित्य र समालोचनाको क्षेत्रमा यो सुनिइराखिने नाम हो । समालोचना र सिर्जनामा नयाँ-नयाँ प्रयोग गर्न रुचाउने र त्यसो गर्दै पनि आएका शर्माको यसपालि फरक विषयको उपन्यास आएको छ- 'सलिजो' । स्त्री समलिंगी जोडीको कथा । सजिलो अर्थात् समलिंगी जोडी । नाटक, कथा, समालोचना र व्यंग्य विधाका थुप्रै किताब प्रकाशित भइसके पनि उपन्यास भने उनको यो नै पहिलो हो । विषयका हिसाबले उपन्यासको चर्चा बजारमा अलि बढी नै छ । शर्मालाई अनेकखालका प्रतिक्रिया आइरहेका छन् । उनका प्राध्यापक साथीले 'तपाईंको उपन्यास पढेर मेरा आँखा खुले,' भनेका छन् । चर्चित लेखकहरूले नै 'तपाईंको उपन्यास त परिवारसँग बसेर पढ्न नमिल्ने रहेछ । बच्चाले देख्लान् भन्ने डरले लुकीलुकी पढेको छु,' भनेका छन् । 'के लेखेको त्यस्तो ? मलाई त मन परेन,' भन्नेहरू पनि छन् । 'त्यो मोहनराज शर्मा पनि समलिंगी हो कि क्या हो ?' भनेर अनौपचारिक गफगाफमा गिज्याउने पाठक पनि उनले कमाएका छन् ।
० ० ०
माध्यमिककालीन कवि रुद्रप्रसाद शर्माका जेठा छोरा हुन्- मोहनराज शर्मा । काठमाडौंकै धर्मस्थलीनजिकको काभ्रेस्थलीमा जन्मेका । बा रुद्रप्रसाद ज्योतिषविद्या पढाउँथे र कविता लेख्थे । बाले लेखेको कविता राम्रा अक्षरमा सारिदिने काम छोरा मोहनराजको हुन्थ्यो । हस्ताक्षर राम्रो भएकाले बाले उनैलाई कविता सार्ने जिम्मा दिन्थे । त्यही केटौले उमेरदेखि नै उनको साहित्यप्रति लत बस्यो । मनभित्र नाम कमाउने धोको टुसाउन थाल्यो । बाको वनारसतिर निरन्तर आइजाइ हुन्थ्यो । ज्योतिष बाले छोरालाई पनि उतै वनारसतिर भर्ना गरिदिएपछि मोहनराजले प्रारम्भिक कक्षादेखि एमएसम्मको शिक्षा वनारसमै सकाए ।
शर्माले पढ्ने कलेजमा साहित्यिक कार्यक्रम हुन्थे । उनका साथीहरू थिए- साहित्यकार तथा विद्वान् गोविन्द भट्ट, तारानाथ शर्मा, बालकृष्ण पोखरेल आदि । त्यहाँको छात्र संघमा हुँदा उनलाई लाग्न थाल्यो- नेपाली साहित्यलाई केही गर्नुपर्छ । कसरी के गर्ने, कहिले गर्ने, कुन ढंगले गर्ने यस्तो केही योजना भने उनीसित थिएन । 'बाल्यकालबाट युवाकाल सुटुक्क आउँछ, थाहै हुँदैन,' उनले आफ्नो साहित्यिकयात्राको स्मरण गर्दै भने, 'म पनि थाहै नपाइ सुटुक्क लेखक पो भएछु । रिटायर्ड भएपछि मात्रै बूढो भएछु भन्ने लाग्दोरहेछ, साहित्यमा पनि त्यस्तै भयो ।' कलेज पढ्ने उमेरको जोस-जाँगरमा साथीहरूसँगै होस्टे र हैँसेमा लेख्नतिर लागेका शर्मा कहिलेकाहीँ पछि फर्केर हेर्छन् । 'म अहिले झसंग हुन्छु । ओहो ! कहाँबाट यो साहित्य भन्ने लुतो लागेछ, जीवनमा ?' उनले भने ।
शर्माले लोर्का, डाइमन थोमस, बोद्लेयर, काफ्का, सार्त्र, कामु, टिएस इलियट कलेज-उमेरमै पढेका थिए । ती विश्वप्रसिद्ध साहित्यकारकै लेखनले उनलाई नयाँ शैली र प्रस्तुतिमा साहित्य लेख्नुपर्छ भन्ने प्रेरणा दियो । 'नयाँपनले नै साहित्य अघि बढ्छ भन्ने मैले बुझेँ,' उनले भने, 'त्यसैले म आफ्नो लेखनमा निरन्तर नयाँपन र ताजापन आइरहोस् भन्ने सोच्छु । मलाई लाग्छ- लेखकले विम्ब, प्रतीक, लय, शैली, प्रस्तुति र भावभूमिमा प्रयोग गर्नुपर्छ ।' आफूलाई आधुनिकतावादी लेखक ठान्ने शर्मा अहिले आफ्नै लेखनयात्रामा 'यु टर्न' आउन थालेको विश्वास गर्छन् । 'पुरानो परम्परा वा मान्यता भत्काउँदै जाने र नवीन कुरा लेख्दै जाने आधुनिकतावादी लेखकबाट अहिले म उत्तरआधुनिकतातिर आउँदै छु,' उनले भने ।
० ० ०
'मचाहिँ समलिंगी होइन है,' उपन्यास 'सलिजो' को प्रसंग आउँदासाथ शर्माले उस्तै मसिनो स्वरमा सुस्तरी भने, 'यो उपन्यास मेरो अनुभवमा आधारित हैन, म त विषमलिंगी नै हो ।' समलिंगीप्रतिको सहानुभूतिले उनलाई यो उपन्यास लेख्न प्रेरित गरेको रहेछ । तेस्रोलिंगी अल्पसंख्यक हुन् । अल्पसंख्यक पनि मानव सन्तान नै हुन् र ती हाम्रै समाजका विषमलिंगीका सन्तान हुन् । तर, उनीहरूलाई नपुंसक भनेर परिवारमै हेला गर्ने, समाजले अनुदार व्यवहार गर्ने, खानलाउन नदिने, घरबाट निकालिदिने र सबै किसिमका सामाजिक सुविधाबाट वञ्चित गर्ने गरेको मोहनराज शर्माले धेरैपटक देखेका थिए । वनारसमा पढ्दाताका त्यस्ता घटना उनले अझ नजिकबाट देख्ने मौका पाए । त्यसले उनलाई मनभित्र कहीँ न कहीँ छोएको थियो ।
सात कक्षामा पढ्ने समयमा शर्माले एउटा केटा साथीमा केटीपन बढ्दै गएको देखेका थिए । बिस्तारै ऊ स्कुल आउन छाडयो, घरपरिवारले उसलाई दुत्कार्न थाले, बाँकी समाजले पनि अमानवीय व्यवहार गर्न थाल्यो । अनि, ऊ त्यहाँको नाटकमण्डलीमा पुगेर समूहमा नाच्ने काम गर्न थाल्यो । 'उनीहरूमा नाटकमण्डलीमा काम गर्ने बाहेक अर्को कुनै विकल्प हुँदैनथ्यो,' शर्माले भने, 'समाजले अन्त कतै पनि उनीहरूलाई स्विकार्दैनथ्यो ।' वनारसमै बस्दा एउटै घरमा बस्ने नन्द र भाउजूलाई समलिंगीको आरोपमा दुनियाँले अत्यन्तै अपहेलित गरेको र दिनप्रतिदिन सताइएको उनले देखेका थिए । पछि ती नन्द-भाउजूलाई सामूहिक बलात्कार गरिएपछि उनीहरूले एकैचोटि आत्महत्या गरे । 'यस्ता धेरै घटना देखेको थिएँ,' उनले भने, 'त्यस्तै घटनाले मलाई यो उपन्यास लेखायो । यो आफैँलाई परेको अनुभवको कथा होइन, देखे-सुनेको अनुभवमा आधारित हो ।' उनी फेरि मुसुक्क हाँस्दै प्रस्टीकरण दिए, 'म आफैँ समलिंगीचाहिँ होइन ।'
नेपालमा समलिंगीको समस्या प्रमुख बनाएर उपन्यास आकारमा आएको यही पहिलोपटक हो । तेस्रोलिंगी वा समलिंगीका विषयमा अलि-अलि उल्लेख भए पनि प्रमुख भूमिका दिएर 'सकारात्मक' ढंगले लेखिएको थिएन । 'साहित्य वा चलचित्रमा पनि विदुषक र बदमासका रूपमा चित्रित गरिएको हुन्छ,' शर्माले भने, 'यो समाज त खर्लप्पै विषमलिंगीले खाएका छन् । संसारमा तेस्रोलिंगी झन्डै १० प्रतिशत छन्, तथ्यांकले नेपालमा मात्रै दुई लाख छन् भन्ने देखाएको छ । तर, समाजमा दुईखालको अन्धविश्वास अझै कायम छ । एक, समलिंगीले यो सृष्टि रोक्छन् । दुई, उनीहरू अप्राकृतिक र बदमास हुन्छन् । यी दुवै घोर अन्धविश्वास हुन् । समलिंगी हुनु भनेको प्राकृतिक कुरा हो ।' कुन प्राकृतिक र कुन अप्राकृतिक भन्ने तर्कमा शर्माले थप वैज्ञानिक तथ्य थपे, 'प्रविधिले के प्राकृतिक र के अप्राकृतिक भन्ने सीमारेखा मेटाइदिइसक्यो । के अब टेस्टयुब बेबी र क्लोनिङ पद्धतिको उत्पादनलाई अप्राकृतिक
भन्ने ? के हाइब्रिड खेतीलाई अप्राकृतिक भनेर अस्वीकार गर्ने ?' तेस्रोलिंगी वा समलिंगी हुँदैमा सृष्टि रोकिन्न भन्ने प्रमाणका लागि यी उपन्यासकारले अनुसन्धानबाट पुष्टि भएको भन्दै अर्को खबर पनि सुनाए- जुन परिवारमा केटी समलिंगी छन्, उनका काकाका बढी सन्तान हुन्छन् । जुन परिवारमा केटा समलिंगी छन्, उसका फुपूका बढी सन्तान हुन्छन् ।
'सलिजो' उपन्यास स्त्री समलिंगी जोडीका अनुभूति र समस्यामा केन्द्रीत छ । उनले समलिंगीको उपन्यास लेख्दा स्त्री समलिंगी नै किन रोजे, जब कि उनी आफैँ पुरुष छन् 'म सुरुदेखि नै नारीवादी लेखक थिएँ,' प्रस्टीकरणमा उनले भने, 'मैले देखे-सुनेका घटना पनि स्त्री समलिंगीका धेरै थिए । सायद त्यसैले मैले आफू पुरुष भईकन पनि स्त्री समलिंगीका बारेमा उपन्यास लेख्न रुचि गरेँ ।' डाइमन नामको उपन्यासको एकजना पात्रको हाँसोलाई लेखकले धेरै ठाउँमा 'नारीभन्दा नखरमाउलो र पुरुषभन्दा भलादमी,' भनेका छन् । घरीघरी दोहोर्याइएको यो पदावलीले प्राकृतिक स्वभाव नै नारीको नखरमाउलो र पुरुषको भलादमी हुन्छ भन्ने लेखकको विश्वास प्रकट गरिरहन्छ । आफूले आफँैलाई 'नारीवादी' भन्ने लेखकको यो कुन दृष्टि हो ? 'नारीमा अलिकति चञ्चलता हुन्छ नै,' शर्माले भने, 'नारीको एउटा पन नखरमाउलो पन पनि हो । मैले पूरै नारी नभएकाले अलि बढी उत्ताउलो र पूरै पुरुष नभएकाले अलि बढी भलादमी देखिन खोज्ने पात्रको चरित्रचित्रण त्यसरी गरेको हुँ ।'
रूपा र ज्वाला नामका दुई समलिंगी किशोरीका दिनचर्या र उनीहरूका समस्या वरिपरि कथा बुनिएको छ, 'सलिजो' मा । उनीहरूको विवाहबाट सुरु भएको कथा समलिंगीद्वेषीका विरुद्ध ज्वालाले हतियार उठाएको दृश्यसम्म पुगेर टुंगिएको छ ।
० ० ०
'जेमन्त', 'यमा', 'बैकुण्ठ एक्सप्रेस' जस्ता चर्चित प्रयोगवादी नाटकसहित समालोचना, हास्यव्यंग्य र कथा विधामा अलि बढी कलम चलाएका शर्माले अहिलेसम्म आफ्नै जीवनको लेखाजोखा गरेका छैनन् । 'अरूले नै मूल्यांकन गरून्, म के धाक लगाऊँ ?' उनले भने, 'आफ्नो सेवाबाट म सन्तुष्ट छैन । सबै लेखकलाई लेखुन्जेल यही कृति सर्वोत्कृष्टजस्तो लाग्छ, लेखिसकेपछि असन्तोष जाग्छ । म पनि एउटा सामान्य लेखक हुँ, त्यो असन्तुष्टि मसँग पनि छ । म अर्को कृति लेखेर त्यो मेटाउन चाहन्छु ।'
अन्त्यमा, 'सलिजो' आफ्नो परीक्षण-उपन्यास भएको बताए शर्माले । पाठकले त्यो मन पराए भने मात्रै अर्को लेख्ने उनको चाहना छ । भने, 'लेखेर केही भयो भन्ने लाग्यो भने नै लेख्ने हो । नत्र यत्तिकै के लेख्नु ?'