आइतवार, २०६८ माघ २२ गते, 05 February, 2012
आयोगले सरकारलाई छुट्टाछुट्टै दुई प्रतिवेदन बुझायो               सन्धि-सम्झौता विवरण लिखित पेस गर्न समितिको निर्देशन               प्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमा               संसद् बैठक पाँचौँपटक स्थगित               प्रतिवेदन एकपक्षीय : कांग्रेस-एमाले              
    विचार
    मैले चिनेको गिरिजा प्रसाद
    April 03 2010

     

    - नरहरि आचार्य

     

    म विद्यार्थी छँदै ०३७ साल वैशाखमा पहिलोपटक मैले गिरिजाप्रसाद कोइरालाको भाषण सुनेको थिएँ । तीनताका जनमतसंग्रहको वेला आममाफी पाएर उहाँ नेपाल आउनुभएको थियो । सानो गौचरनमा आयोजित सायद अन्तिम प्रचारसभाको उहाँको भाषण, वक्तृत्वकला र देखिने व्यक्तित्व मलाई खासै आकर्षक लागेन । दोस्रोपटक प्राध्यापक संघको निर्वाचनपछि छलफल गर्न म उहाँको तत्कालीन निवास जयबागेश्वरीमा ०३९ सालमा पुगेको थिएँ । पछि पार्टीको कार्ययोजना र सांगठानिक संरचनाबारे सुझाब दिन कृष्ण खनाल, कपिल श्रेष्ठ र मैले ०४३ सालमा पनि उहाँलाई भेटेका थियौँ । ती भेटमा मैले गिरिजाप्रसाद रणनीतिक चातुर्य भएको नेता हो भन्ने छनक पाएँ । त्यतिवेलै उहाँले मलाई भन्नुभएको थियो, 'म तपाईंसँग पछि भेट्छु, सम्पर्कमै रहुँ है, कुन मान्छे के कामका लागि चाहिन्छ भन्ने कुरामा उहाँ सचेत हुनुहुन्थ्यो ।

     

     

    गिरिजाप्रसाद कोइरालाले मलाई दुईपटक पार्टी प्रवक्ता नियुक्त गर्नुभयो । पहिलोपटक दुई वर्षसम्म मैले निरन्तर काम गरेँ । पछिल्लोपटक जम्मा एक महिना मात्रै म प्रवक्ता रहेँ । दसौँ महाधिवेशनपछि ०५८ साल जेठ १७ गते एकैदिन उहाँले मलाई प्रवक्ता र सुशील कोइरालालाई महामन्त्रीमा नियुक्त गर्नुभएको थियो । त्यसको पर्सिपल्ट जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यसपछि असार ६ मा केन्द्रीय समितिको बैठक बसेर दरबार हत्याकाण्ड, छानबिन समितिको प्रतिवेदन आदिको समीक्षा गरी पार्टीमा प्रस्ताव पारित भएको थियो । त्यसैमा आधारित भएर मैले विज्ञप्ति जारी गरेँ । पछि त्यही विज्ञप्तिको व्याख्याको विषयलाई लिएर तत्कालीन महामन्त्री र मेरो बीचमा विवाद उत्पन्न भयो ।

     

     

    मैले प्रेसलाई गरेको ब्रिफिङ र बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा कांग्रेसको निर्णयको व्याख्या गरेको थिएँ । व्याख्या अझै कम भएजस्तो लागेर मैले १२ गते एउटा दैनिकमा लेख पनि लेखेँ । त्यसमा मैले मुख्य तीन कुरा उठाएको थिएँ- पहिलो, राजगद्दीको उत्तराधिकारलगायतका घोषणाको जिम्मा प्रतिनिधिसभाले लिनुपर्छ । दोस्रो, राजपरिषद्को खारेजी गर्नुपर्छ । र तेस्रो, राजगद्दीको उत्तराधिकारीको आचरणबारे संसदमा छलफल हुनुपर्छ । मेरो यो लेख प्रकाशित भएको दस दिनपछि महामन्त्रीको वक्तव्य आयो । वक्तव्य संवैधानिक राजतन्त्रलाई बलियो पार्ने कांग्रेसको उद्देश्य हो, त्यसबाहेक अहिले भइरहेका कुरा बदल्ने कांग्रेसको कुनै दृष्टिकोण छैन भन्ने ढंगको थियो । प्रवक्तालाई थाहै नदिई महामन्त्रीले कसरी नीतिगत वक्तव्य दिनुभयो ? वक्तव्यको व्याख्या गर्ने जिम्मेवारी प्रवक्ताको हो । तर, उसैलाई वक्तव्यबारे थाहा नदिइएपछि सञ्चारमाध्यमलाई उसले कसरी व्याख्या गर्ने ? पार्टीले पारित गरेकै कतिपय नीतिको तोडमरोड गरेर किन वक्तव्य निकालियो ? मैले प्रधानमन्त्रीनिवास बालुवाटारमा उहाँहरू दुवैजनाको उपस्थितिमै त्यो वक्तव्यप्रति गम्भीर आपत्ति जनाएँ ।

     

    महामन्त्रीजी र मबीच त्यसबारे केही तर्क-वितर्क भइरहे । गिरिजाप्रसाद भने हाम्रा कुरा सुनिरहनुभएको र चुपचाप चुरोट पिइरहनुभएको थियो । मैले "प्रवक्ताले एउटा कुरा बोल्ने, महामन्त्रीले अर्को कुरा बोल्ने हुन सक्दैन, मैले महामन्त्रीलाई कारबाही गर्न मिल्दैन, मै राजीनामा दिन्छु,’ भनेँ । र, त्यहीँ हातैले लेखेर तुरुन्तै राजीनामा दिएर हिँडेँ । तर, गिरिजाप्रसादले कुनै प्रतिक्रिया दिनुभएन, नबोलीकनै मेरो राजीनामा लिनुभयो । बाहिर निस्केर मैले राजीनामा दिएको प्रेसलाई बताइदिएँ । चार दिनपछि त्यो स्वीकृत भयो । पछि झन् बढी विवाद भएपछि पार्टीको मुख्यसचिवका नामबाट अर्को वक्तव्य निकालेर असार ६ गते प्रवक्ताले जारी गरेको वक्तव्यको धारणा नै आधिकारिक हो भनियो । मेरा लागि त्यो एउटा अविस्मरणीय घटना बन्यो, किनभने त्यस्तो अवस्थामा आउँदा पनि उहाँले मलाई 'यसो-उसो' केही भन्नुभएन । जब कि म दुई वर्षदेखि निरन्तर उहाँको प्रवक्ता थिएँ । बाहिरबाट उहाँमाथि परेको दबाबका कारण उहाँले यी सबै घटनालाई एउटा रूप दिनुभएको थियो । त्यतिवेला सुशील कोइरालाले दिएको वक्तव्य पनि सुशील कोइरालाको नभएर उहाँकै थियो भन्ने बुझ्न सकिन्थ्यो ।

    अझ चाखलाग्दो कुरा के भयो भने त्यही वक्तव्य प्रकरणको तीन/चार महिनापछि फेरि थाहै नदिई मलाई नै उहाँले प्रचार विभागको प्रमुख बनाउनुभयो । र, भोलिपल्टै मेरो घरमा आउनुभयो । झट्ट सुन्दा नाटकीयजस्ता लाग्ने घटना भइरहेका थिए । मैले सोधेँ, 'मेरो मतभिन्नता रहँदा रहँदै फेरि किन यस्तो गर्नुभएको ?' उहाँले 'त्यो भइसक्यो, छाडिदिनूस्' मात्रै भन्नुभयो । खास रणनीतिक कारणले त्यसो गरिएको थियो र त्यसमा उहाँको व्यक्तिगत छुट्टै कुरा छैन भन्न खोज्नुभएको मैले बुझेँ । त्यो उहाँले रणनीतिक प्रयोजनले नै गर्नुभएको थियो ।

     

    प्रचार विभागप्रमुख भएकै वेला पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने कार्यक्रममा मैले राजा ज्ञानेन्द्रको सम्पत्ति सार्वजनिक हुनुपर्छ भनेँ । सामान्य सहायकमन्त्रीको सम्पत्ति त सार्वजनिक गर्नुपर्छ भने व्यापारीबाट एकैचोटि राजा भएका ज्ञानेन्द्रको सम्पत्ति किन सार्वजनिक गर्नु नपर्ने ? त्यतिवेला 'नेताहरूलाई नैतिकता सिकाउँछु' भनेका राजालाई मैले नैतिकता सिकाउने हो भने यसरी सिकाऊ भनेर त्यस्तो मन्तव्य राखेको थिएँ । मेरो त्यही मन्तव्यले फेरि पार्टीमा हल्लीखल्ली भयो । त्यही समयमा मैले द्वन्द्वको निकासका लागि संंविधानसभा वा जनमतसंग्रह कुनै पनि लोकतान्त्रिक विकल्पमा जान पार्टी तयार हुनुपर्छ भनेर पनि बोलेको थिएँ । यी दुई विषयलाई लिएर पार्टीले मलाई स्पष्टीकरण लियो । मैले आठ पेजको स्पष्टीकरण पार्टी कार्यालयमा बुझाएँ । त्यसपटक साथीहरूको सल्लाहअनुसार म नमागीकन राजीनामा नदिने टुंगोमा पुगेको थिएँ । तर, एकदिन उहाँले आफ्नै निवासमा बोलाएर राजीनामा माग्नुभयो । मैले टाइप गरेर खामबन्दीसहित राजीनामापत्र तयार पारेर लिएर गएको थिएँ, बुझाइदिएँ । उहाँले मागेरै दिएको ०५८ सालको त्यही राजीनामापछि म पार्टीको केन्द्रीय सदस्यबाहेक कुनै पद र जिम्मेवारीमा छैन । झन्डै दस वर्षअघिका यिनै घटनाबाट उहाँको र मेरो नीतिगत मतभेद सुरु भएको हो ।

     

    माघ १९ पछि दुवाकोट थुनामा रहँदा ०६२ असार ६ गते मैले महामन्त्रीलाई पत्र लेखेको थिएँ, जसमा आउँदो महाधिवेशनका लागि चार बुँदा थिए । राज्यलाई प्रादेशिक संरचनामा पुनर्संरचना गरिनुपर्ने, संविधानसभाको चुनाव पार्टीको एजेन्डा बन्नुपर्ने, राजतन्त्रसँगका सबै सम्बन्ध तोड्नुपर्ने र पार्टीको पुनर्संरचना र लोकतान्त्रीकरण गरिनुपर्ने चार मुख्य बुँदा थिए । तिनै विषयमा चारवटा साना-ठूला चार पुस्तक पनि तयार पारेँ । सार्वजनिक भएको साउन २७ गतेको दिन उहाँ घरमै आउनुभएको थियो । मैले ती किताब उहाँलाई दिएको थिएँ ।

     

    पछि एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा उहाँले विराटनगरका कार्यकर्तासँगको भेटघाटमा 'नरहरि आचार्य र गगन थापा दरबारिया हुन्' भन्नुभयो । मैले त्यसको तत्काल कुनै प्रतिक्रिया दिइनँ । भोलिपल्ट विराटनगरबाटै फोन गरेर उहाँले 'पत्रिकाले मैले नबोलेको कुरा लेखेछन्,

     

    मिस्अन्डस्र्ट्यान्डिङ होला भनेर फोन गरेको, म तपाईंलाई भोलि नै भेट्छु' भन्नुभयो । मैले 'नबोलेको कुराले त के मिस्अन्डस्र्ट्यान्डिङ हुन्छ र ?' भनेँ । काठमाडौं र्फकेपछि उहाँले तुरुन्तै भेट्न खोज्नुभएको थियो । मेरो आफ्नो व्यस्तताले गर्दा तीन/चार दिनसम्म म उहाँको निवासमा गइनँ । त्यही घटनाले म महाधिवेशनमा उम्मेदवार बन्ने परिस्थिति बनायो । केही दिनपछि उहाँको निवासमा गएर मैले आउँदो महाधिवेशनमा उम्मेदवारी दिने जानकारी दिएँ । र, उहाँलाई उम्मेदवार नबन्न सुझाब दिएँ । उहाँले मलाई उम्मेदवारमा 'नउठ्नूस् वा छाड्नूस्' केही भन्नुभएन । महाधिवेशनमा उहाँ विजयी भएपछि विज्ञप्तिबाट र भेटेरै पनि उहाँलाई बधाई दिएँ । पछि मलाई उहाँले केन्द्रीय समितिमा नियुक्तसमेत गर्नुभयो ।

     

    गिरिजाप्रसादलाई सम्झिरहँदा मलाई ०६२ को प्रारम्भतिर मेरो घरमा चोरी हुँदाको घटनाको बढी सम्झना हुन्छ । माघ १९ पछि म दुवाकोटमा थुनामै थिएँ । शारदा दिल्लीमा कार्यालयकै काममा व्यस्त थिइन् । छोरीहरू पनि पढाइको सिलसिलामा बाहिरतिरै थिए । घर खाली रहेको वेलामै चोरी भयो । तल्लो कोठाबाट केही महत्त्वपूर्ण कागजपत्र, कम्प्युटरका फाइल आदि चोरिए । राति चोरी भयो, भोलिपल्ट बिहानै गिरिजाप्रसाद मेरो घरमा आइपुग्नुभयो र चोरी भएको कोठाको अवलोकन गरिसकेपछि त्यहीँबाट सञ्चारमाध्यमलाई 'यो सेनाले गरेको हो' भनेर वक्तव्य दिनुभयो । घरमा हामी कोही थिएनौँ । उहाँ घरमै आएर सोधीखोजी गर्नुभयो । प्रहरीले छानबिन गर्न पनि मानेको थिएन । उहाँ आउनुअघि घरमा अरू कोही आएको थिएन । उहाँ आएपछि नै डिएसपीको नेतृत्वमा छानबिन गरिने भयो । त्यतिवेला उहाँले राजनीतिक रूपले र व्यक्तिगत रूपले पनि एउटा अभिभावकको भूमिका निर्वाह गर्नुभएको थियो ।

     

    सबैभन्दा पछिल्लोपटक ०६५ साल फागुनमा उहाँ मेरो घरमै आउनुभएको थियो, पारिवारिक भेटघाटका लागि । भर्खरै विवाह भएकी मेरी जेठी छोरीलाई भेट्न र शुभकामना दिन उहाँ आउनुभएको थियो । पारिवारिक कामले आए पनि मैले हामी २५ जना सभासद्ले तयार पारेको संविधानको आधारपत्र र राज्यको पुनर्संरचनाबारे मस्यौदा उहाँलाई पढेर सुनाएको थिएँ । त्यसपछि पनि त्यही विषयमा मैले उहाँकै निवासमा पुगेर छलफल गरेको थिएँ । तर, मेरो घरमै आएर भेटघाट भएको त्यो नै अन्तिमपटक हो ।

    Comments
    Posted By: Anonymous
    Apr 04, 2010
    GPK was a double standard politician and he must be behind the stealing papers and other intellectual properties. That's why I always say he is behind all the mess in Nepal. Says one thing and act another, the greatest liar. Mr. Acharya, NC will kick off the engine, democracy within NC will start. good luck to you and other. Start ur fight with corrupt NC officials and members, then to other parties.
    Posted By: rabindra
    Apr 08, 2010
    who did upper comment s..e r.... ko c...a. m....r f....r. that's all. you the sense less person . so
    never do this kind comment please. america darpan is leading news paper in america. thank you.
    तपाईको प्रतिक्रिया
    कृपया ध्यान राखनु होला, * चिन्ह भयको विवरण अनिवार्य रुपमा भर्नुहोला ।
    *पूरा नाम
    *ठेगाना
    *ईमेल ठेगाना
    *प्रतिक्रिया:
    *क्याप्चा
    Verification Image
    संसार आफ्नै
    अरु समाचारहरु
    Sponsored Link
    संसार आफ्नै

    Gallery
    नेपाली सिनेमालाई अमेरिकी अवार्डतीन वर्षे बालकको पेटमा बच्चाप्रधानमन्त्री भट्टराई आफैँ सर्वोच्चमासंसद् बैठक पाँचौँपटक स्थगितअवरोध गर्ने कांग्रेस र एमाले : देवमाओवादीद्वारा रणनीतिक उपयोग : महतराष्ट्रपति ओबामाद्वारा राष्ट्रको नाममा सम्बोधनजग्गा कारोबारसम्बन्धी निर्णय छलफलबाटै : प्रधानमन्त्रीघोडासँग सेक्स गर्ने दोषीसरकार-विद्यार्थीबीचको वार्ता निष्कर्षविहीन, विद्यार्थीको आन्दोलन चर्किने
    Poll
    वर्तमान सरकारले शान्ति र संविधानलाई टुंगोमा पुर्‍याउला ???
      पुर्‍याउँछ
      पुर्‍याउँदैन
      भन्न सकिँदैन

    America Darpan.Com on Facebook
    Forex
    हङकङ फेसन विक