म विद्यार्थी छँदै ०३७ साल वैशाखमा पहिलोपटक मैले गिरिजाप्रसाद कोइरालाको भाषण सुनेको थिएँ । तीनताका जनमतसंग्रहको वेला आममाफी पाएर उहाँ नेपाल आउनुभएको थियो । सानो गौचरनमा आयोजित सायद अन्तिम प्रचारसभाको उहाँको भाषण, वक्तृत्वकला र देखिने व्यक्तित्व मलाई खासै आकर्षक लागेन । दोस्रोपटक प्राध्यापक संघको निर्वाचनपछि छलफल गर्न म उहाँको तत्कालीन निवास जयबागेश्वरीमा ०३९ सालमा पुगेको थिएँ । पछि पार्टीको कार्ययोजना र सांगठानिक संरचनाबारे सुझाब दिन कृष्ण खनाल, कपिल श्रेष्ठ र मैले ०४३ सालमा पनि उहाँलाई भेटेका थियौँ । ती भेटमा मैले गिरिजाप्रसाद रणनीतिक चातुर्य भएको नेता हो भन्ने छनक पाएँ । त्यतिवेलै उहाँले मलाई भन्नुभएको थियो, 'म तपाईंसँग पछि भेट्छु, सम्पर्कमै रहुँ है, कुन मान्छे के कामका लागि चाहिन्छ भन्ने कुरामा उहाँ सचेत हुनुहुन्थ्यो ।
गिरिजाप्रसाद कोइरालाले मलाई दुईपटक पार्टी प्रवक्ता नियुक्त गर्नुभयो । पहिलोपटक दुई वर्षसम्म मैले निरन्तर काम गरेँ । पछिल्लोपटक जम्मा एक महिना मात्रै म प्रवक्ता रहेँ । दसौँ महाधिवेशनपछि ०५८ साल जेठ १७ गते एकैदिन उहाँले मलाई प्रवक्ता र सुशील कोइरालालाई महामन्त्रीमा नियुक्त गर्नुभएको थियो । त्यसको पर्सिपल्ट जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यसपछि असार ६ मा केन्द्रीय समितिको बैठक बसेर दरबार हत्याकाण्ड, छानबिन समितिको प्रतिवेदन आदिको समीक्षा गरी पार्टीमा प्रस्ताव पारित भएको थियो । त्यसैमा आधारित भएर मैले विज्ञप्ति जारी गरेँ । पछि त्यही विज्ञप्तिको व्याख्याको विषयलाई लिएर तत्कालीन महामन्त्री र मेरो बीचमा विवाद उत्पन्न भयो ।
मैले प्रेसलाई गरेको ब्रिफिङ र बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा कांग्रेसको निर्णयको व्याख्या गरेको थिएँ । व्याख्या अझै कम भएजस्तो लागेर मैले १२ गते एउटा दैनिकमा लेख पनि लेखेँ । त्यसमा मैले मुख्य तीन कुरा उठाएको थिएँ- पहिलो, राजगद्दीको उत्तराधिकारलगायतका घोषणाको जिम्मा प्रतिनिधिसभाले लिनुपर्छ । दोस्रो, राजपरिषद्को खारेजी गर्नुपर्छ । र तेस्रो, राजगद्दीको उत्तराधिकारीको आचरणबारे संसदमा छलफल हुनुपर्छ । मेरो यो लेख प्रकाशित भएको दस दिनपछि महामन्त्रीको वक्तव्य आयो । वक्तव्य संवैधानिक राजतन्त्रलाई बलियो पार्ने कांग्रेसको उद्देश्य हो, त्यसबाहेक अहिले भइरहेका कुरा बदल्ने कांग्रेसको कुनै दृष्टिकोण छैन भन्ने ढंगको थियो । प्रवक्तालाई थाहै नदिई महामन्त्रीले कसरी नीतिगत वक्तव्य दिनुभयो ? वक्तव्यको व्याख्या गर्ने जिम्मेवारी प्रवक्ताको हो । तर, उसैलाई वक्तव्यबारे थाहा नदिइएपछि सञ्चारमाध्यमलाई उसले कसरी व्याख्या गर्ने ? पार्टीले पारित गरेकै कतिपय नीतिको तोडमरोड गरेर किन वक्तव्य निकालियो ? मैले प्रधानमन्त्रीनिवास बालुवाटारमा उहाँहरू दुवैजनाको उपस्थितिमै त्यो वक्तव्यप्रति गम्भीर आपत्ति जनाएँ ।
महामन्त्रीजी र मबीच त्यसबारे केही तर्क-वितर्क भइरहे । गिरिजाप्रसाद भने हाम्रा कुरा सुनिरहनुभएको र चुपचाप चुरोट पिइरहनुभएको थियो । मैले "प्रवक्ताले एउटा कुरा बोल्ने, महामन्त्रीले अर्को कुरा बोल्ने हुन सक्दैन, मैले महामन्त्रीलाई कारबाही गर्न मिल्दैन, मै राजीनामा दिन्छु,’ भनेँ । र, त्यहीँ हातैले लेखेर तुरुन्तै राजीनामा दिएर हिँडेँ । तर, गिरिजाप्रसादले कुनै प्रतिक्रिया दिनुभएन, नबोलीकनै मेरो राजीनामा लिनुभयो । बाहिर निस्केर मैले राजीनामा दिएको प्रेसलाई बताइदिएँ । चार दिनपछि त्यो स्वीकृत भयो । पछि झन् बढी विवाद भएपछि पार्टीको मुख्यसचिवका नामबाट अर्को वक्तव्य निकालेर असार ६ गते प्रवक्ताले जारी गरेको वक्तव्यको धारणा नै आधिकारिक हो भनियो । मेरा लागि त्यो एउटा अविस्मरणीय घटना बन्यो, किनभने त्यस्तो अवस्थामा आउँदा पनि उहाँले मलाई 'यसो-उसो' केही भन्नुभएन । जब कि म दुई वर्षदेखि निरन्तर उहाँको प्रवक्ता थिएँ । बाहिरबाट उहाँमाथि परेको दबाबका कारण उहाँले यी सबै घटनालाई एउटा रूप दिनुभएको थियो । त्यतिवेला सुशील कोइरालाले दिएको वक्तव्य पनि सुशील कोइरालाको नभएर उहाँकै थियो भन्ने बुझ्न सकिन्थ्यो ।
अझ चाखलाग्दो कुरा के भयो भने त्यही वक्तव्य प्रकरणको तीन/चार महिनापछि फेरि थाहै नदिई मलाई नै उहाँले प्रचार विभागको प्रमुख बनाउनुभयो । र, भोलिपल्टै मेरो घरमा आउनुभयो । झट्ट सुन्दा नाटकीयजस्ता लाग्ने घटना भइरहेका थिए । मैले सोधेँ, 'मेरो मतभिन्नता रहँदा रहँदै फेरि किन यस्तो गर्नुभएको ?' उहाँले 'त्यो भइसक्यो, छाडिदिनूस्' मात्रै भन्नुभयो । खास रणनीतिक कारणले त्यसो गरिएको थियो र त्यसमा उहाँको व्यक्तिगत छुट्टै कुरा छैन भन्न खोज्नुभएको मैले बुझेँ । त्यो उहाँले रणनीतिक प्रयोजनले नै गर्नुभएको थियो ।
प्रचार विभागप्रमुख भएकै वेला पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने कार्यक्रममा मैले राजा ज्ञानेन्द्रको सम्पत्ति सार्वजनिक हुनुपर्छ भनेँ । सामान्य सहायकमन्त्रीको सम्पत्ति त सार्वजनिक गर्नुपर्छ भने व्यापारीबाट एकैचोटि राजा भएका ज्ञानेन्द्रको सम्पत्ति किन सार्वजनिक गर्नु नपर्ने ? त्यतिवेला 'नेताहरूलाई नैतिकता सिकाउँछु' भनेका राजालाई मैले नैतिकता सिकाउने हो भने यसरी सिकाऊ भनेर त्यस्तो मन्तव्य राखेको थिएँ । मेरो त्यही मन्तव्यले फेरि पार्टीमा हल्लीखल्ली भयो । त्यही समयमा मैले द्वन्द्वको निकासका लागि संंविधानसभा वा जनमतसंग्रह कुनै पनि लोकतान्त्रिक विकल्पमा जान पार्टी तयार हुनुपर्छ भनेर पनि बोलेको थिएँ । यी दुई विषयलाई लिएर पार्टीले मलाई स्पष्टीकरण लियो । मैले आठ पेजको स्पष्टीकरण पार्टी कार्यालयमा बुझाएँ । त्यसपटक साथीहरूको सल्लाहअनुसार म नमागीकन राजीनामा नदिने टुंगोमा पुगेको थिएँ । तर, एकदिन उहाँले आफ्नै निवासमा बोलाएर राजीनामा माग्नुभयो । मैले टाइप गरेर खामबन्दीसहित राजीनामापत्र तयार पारेर लिएर गएको थिएँ, बुझाइदिएँ । उहाँले मागेरै दिएको ०५८ सालको त्यही राजीनामापछि म पार्टीको केन्द्रीय सदस्यबाहेक कुनै पद र जिम्मेवारीमा छैन । झन्डै दस वर्षअघिका यिनै घटनाबाट उहाँको र मेरो नीतिगत मतभेद सुरु भएको हो ।
माघ १९ पछि दुवाकोट थुनामा रहँदा ०६२ असार ६ गते मैले महामन्त्रीलाई पत्र लेखेको थिएँ, जसमा आउँदो महाधिवेशनका लागि चार बुँदा थिए । राज्यलाई प्रादेशिक संरचनामा पुनर्संरचना गरिनुपर्ने, संविधानसभाको चुनाव पार्टीको एजेन्डा बन्नुपर्ने, राजतन्त्रसँगका सबै सम्बन्ध तोड्नुपर्ने र पार्टीको पुनर्संरचना र लोकतान्त्रीकरण गरिनुपर्ने चार मुख्य बुँदा थिए । तिनै विषयमा चारवटा साना-ठूला चार पुस्तक पनि तयार पारेँ । सार्वजनिक भएको साउन २७ गतेको दिन उहाँ घरमै आउनुभएको थियो । मैले ती किताब उहाँलाई दिएको थिएँ ।
पछि एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा उहाँले विराटनगरका कार्यकर्तासँगको भेटघाटमा 'नरहरि आचार्य र गगन थापा दरबारिया हुन्' भन्नुभयो । मैले त्यसको तत्काल कुनै प्रतिक्रिया दिइनँ । भोलिपल्ट विराटनगरबाटै फोन गरेर उहाँले 'पत्रिकाले मैले नबोलेको कुरा लेखेछन्,
मिस्अन्डस्र्ट्यान्डिङ होला भनेर फोन गरेको, म तपाईंलाई भोलि नै भेट्छु' भन्नुभयो । मैले 'नबोलेको कुराले त के मिस्अन्डस्र्ट्यान्डिङ हुन्छ र ?' भनेँ । काठमाडौं र्फकेपछि उहाँले तुरुन्तै भेट्न खोज्नुभएको थियो । मेरो आफ्नो व्यस्तताले गर्दा तीन/चार दिनसम्म म उहाँको निवासमा गइनँ । त्यही घटनाले म महाधिवेशनमा उम्मेदवार बन्ने परिस्थिति बनायो । केही दिनपछि उहाँको निवासमा गएर मैले आउँदो महाधिवेशनमा उम्मेदवारी दिने जानकारी दिएँ । र, उहाँलाई उम्मेदवार नबन्न सुझाब दिएँ । उहाँले मलाई उम्मेदवारमा 'नउठ्नूस् वा छाड्नूस्' केही भन्नुभएन । महाधिवेशनमा उहाँ विजयी भएपछि विज्ञप्तिबाट र भेटेरै पनि उहाँलाई बधाई दिएँ । पछि मलाई उहाँले केन्द्रीय समितिमा नियुक्तसमेत गर्नुभयो ।
गिरिजाप्रसादलाई सम्झिरहँदा मलाई ०६२ को प्रारम्भतिर मेरो घरमा चोरी हुँदाको घटनाको बढी सम्झना हुन्छ । माघ १९ पछि म दुवाकोटमा थुनामै थिएँ । शारदा दिल्लीमा कार्यालयकै काममा व्यस्त थिइन् । छोरीहरू पनि पढाइको सिलसिलामा बाहिरतिरै थिए । घर खाली रहेको वेलामै चोरी भयो । तल्लो कोठाबाट केही महत्त्वपूर्ण कागजपत्र, कम्प्युटरका फाइल आदि चोरिए । राति चोरी भयो, भोलिपल्ट बिहानै गिरिजाप्रसाद मेरो घरमा आइपुग्नुभयो र चोरी भएको कोठाको अवलोकन गरिसकेपछि त्यहीँबाट सञ्चारमाध्यमलाई 'यो सेनाले गरेको हो' भनेर वक्तव्य दिनुभयो । घरमा हामी कोही थिएनौँ । उहाँ घरमै आएर सोधीखोजी गर्नुभयो । प्रहरीले छानबिन गर्न पनि मानेको थिएन । उहाँ आउनुअघि घरमा अरू कोही आएको थिएन । उहाँ आएपछि नै डिएसपीको नेतृत्वमा छानबिन गरिने भयो । त्यतिवेला उहाँले राजनीतिक रूपले र व्यक्तिगत रूपले पनि एउटा अभिभावकको भूमिका निर्वाह गर्नुभएको थियो ।
सबैभन्दा पछिल्लोपटक ०६५ साल फागुनमा उहाँ मेरो घरमै आउनुभएको थियो, पारिवारिक भेटघाटका लागि । भर्खरै विवाह भएकी मेरी जेठी छोरीलाई भेट्न र शुभकामना दिन उहाँ आउनुभएको थियो । पारिवारिक कामले आए पनि मैले हामी २५ जना सभासद्ले तयार पारेको संविधानको आधारपत्र र राज्यको पुनर्संरचनाबारे मस्यौदा उहाँलाई पढेर सुनाएको थिएँ । त्यसपछि पनि त्यही विषयमा मैले उहाँकै निवासमा पुगेर छलफल गरेको थिएँ । तर, मेरो घरमै आएर भेटघाट भएको त्यो नै अन्तिमपटक हो ।