नयाँ वर्ष २०६७ ले नेपालीको घर आँगनमा पाइला टेक्न आँटेको छ । नयाँ वर्षको आगमनसँगै बितेको वर्षमा भएगरेका राम्रा नगराम्रा कामहरूको समेत समीक्षा शुरु हुन थालेको छ ।
नेपाल यतिबेला राजनीति संक्रमणकालको अवस्थामा छ । संविधानसभाको निर्वाचन सम्पन्न भएको चैत्र २८ गते २ वर्ष पुगेको छ । अन्तरिम संविधानमा दुई वर्षभित्र नयाँ संविधान जारी गरिक्नुपर्ने उल्लेख छ । तर संविधानसभाका सभासद्हरूले सपथग्रहण गरेर पहिलो बैठक गरेको दिनबाट समय गणना गरिएकोले २०६६ जेठ १४ गतेभित्र नयाँ संविधान जारी गरिसक्नुपर्ने समयसीमा तोकिएको हो ।
अन्तरिम संविधानमा यही समयभित्र संविधान जारी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । तर दलहरूको रवैयाले गर्दा यो मितिसम्ममा संविधान जारी हुने सम्भावना समाप्त भएको देखिँदैछ ।
२०६७ को आगमनसँगै नेपालीले थप पीडा भोग्नुपर्ने भय र सन्त्रास बढिरहेको छ । दलहरूबीचमा देखिएको बेमेल र तिक्तताले मुलुकवासीले कुन अनिष्टको सामना गर्नुपर्ने हो, त्यसको अनुमान लगाउन अहिले कठिन छ ।
२०६६ को एकवर्षको अवधि मुलुकको राजनीति अत्यन्त तरल र टकरावपूर्ण रह्यो । यही अवधिमै नेकपा माओवादी नेतृत्वको सरकार ढल्यो भने एमाले नेतृत्वको सरकार गठन भयो । तर, राजनीतिक अस्थिरता थप उत्कर्षमा पुग्यो । सडक र सदन लगातार अवरुद्ध बने । बन्द, हड्ताल र चक्का जामले बितेको वर्षले नयाँ कीर्तिमान कायम गर्यो । संविधानसभामा सबभन्दा ठूलो दल एनेकपा माओवादीले निरन्तर सदन अवरुद्ध गरेर सदनका सबै गतिविधि अवरुद्ध बनायो । त्यतिमात्रै होइन, सरकारलाई सार्वजनिक बहिष्कार गर्ने नाममा देशभर मुठभेड र भीडन्तका घटना दोहोरिइरहे । समग्रमा भन्नुपर्दा गणतन्त्र स्थापनापछि राजनीतिक मुठभेडको वर्षको रुपमा स्थापित भयो, २०६६ ।
शान्ति प्रक्रियाको निस्कर्ष, नयाँ संविधान र राज्यको पुनसंरचनाजस्ता प्रमुख एजेण्डामा दलहरू चुके । राष्ट्रिय महत्वका यी अहं सवाललाई दलहरूले नजरअन्दाज गरेको देखियो । शान्ति प्रक्रिया निस्कर्षमा पुर्याउने र संविधान निर्माण गर्ने मूल जिम्मेवारीबाट पञ्छिएर दलहरू एकअर्कामा आरोपप्रत्यारोप गर्नमै तल्लीन देखिए । अझ सत्ता समीकरणको खेलमा लाजलाग्दो गतिविधि देखाए दलहरूले । यो दृष्टिबाट हेर्दा एकदम निरासाजनक वर्षको रुपमा विदा भयो, २०६६ ।
मुलुकमा गणतन्त्र स्थापना गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलाधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत मुलुकले यसै वर्ष गुमाएको छ । आफ्नो राजनीतिक जीवनको अन्तिम क्षणमा मुलुकको राजनीतिको मियोका रुपमा स्थापित हुन सफल भएका कोइरालाको निधनले मुलुकलाई एउटा अभाव खड्काउने काम गर्यो । यसकारण पनि यो वर्ष सबैको स्मरणमा रहिरहने छ ।
प्राकृतिक विपत्ती, राजनीतिक असहजता, विदेशी चलखेल, दलहरूको अकर्मण्यता, सरकारको लाचारी र सत्ता लिप्साजस्ता अनेक कारणले बितेको वर्षलाई नेपालीहरूले लामो समससम्म स्मरण गर्ने छन् । केही राम्रा र सकारात्मक उपलब्धीलाई छाड्ने हो भने २०६६ को मूल्यांकन यसरी नै गरिनेछ ।
विगतका नराम्रा र अप्ठ्याराहरूबाट शिक्षा लिएर भविष्यको बाटो बनाउनुपर्छ भन्ने आम मान्यतालाई राजनीतिकर्मीले पनि आत्मसाथ गर्नुपर्ने अवस्था देखिएको छ । २०६६ का उनीहरूका असफलताबाट दलहरूले सिक्नु आवश्यक छ । विगतको बेमेल, असहिष्णुता, सत्तालिप्सा र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिलाई अन्त गरेर नयाँ वर्षको आगमनसँगै दलहरू मुलुकप्रति जिम्मेवार हुनु जरुरी छ । जनताले दिएको जिम्मेवारी पूरा गर्न दलहरू तत्काल लागेनन् भने नयाँ वर्ष पनि उनीहरूको लागि अभिशाप सावित हुनेछ ।
यो वर्षशान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने, नयाँ संविधान जारी गर्ने, मुलुकलाई अग्रगामी रुपान्तरण गर्ने प्रक्रियामा दलहरू सफल हुन सक्नुपर्दछ, त्यसको लागि दलीय स्वार्थलाईभन्दा राष्ट्रिय स्वार्थलाई महत्व पदिनु आवश्यक छ ।
इतिहासमा नेपाललाई नयाँ युगमा प्रवेश गराउने वर्षको रुपमा २०६७ स्थापित हुन सकोस् । यस दिशामा सबै अग्रगामी शक्तिले सफलता हासिल गरुँन् । यही हाम्रो शुभकामना ।