तीन गाविसका एकसय ८७ घरपरिवार चर्पी निर्माण गरेबापत हालै पुरस्कृत भएका छन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, म्याग्दीले चर्पी निर्माण गर्ने राखु भगवती गविसका ८०, राखु पिप्ले गाविसका ६५ र रत्नेचौर गाविसका ४२ घरपरिवारलाई पुरस्कृत गरेको हो ।
खुला दिसापिसाबका कारण विभिन्न सरुवा रोग लाग्ने भएकाले रोग लाग्नबाट बचाउन सहयोग गरेको भन्दै कार्यालयले चर्पी निर्माण गर्ने एकसय ८७ घरपरिवारलाई प्रतिघर एकहजार रूपैयाँका दरले पुरस्कृत गरेको खानेपानी तथा सरसाफाइ सबडिभिजन कार्यालयका इन्जिनियर तिलक खत्रीले बताउनुभयो ।
कार्यालयका डिभिजन प्रमुख विनोदलाल थकालीका अनुसार विद्यालयको अगुवाइमा पर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका रत्नेचौर, भगवती र पिप्ले गाविसलाई आगामी वर्षखुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भएको छ ।
गत वर्षेखि ती गाविसमा सो कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रम लागू भएपछि चर्पी निर्माण गर्नेलाई पुरस्कृत गरिएको इन्जिनियर खत्रीले बताए ।
यस वर्ष चर्पी निर्माण गर्ने प्रत्येक घरले एकहजार दुइसय रूपैयाँ आर्थिक सहयोग पाउने कार्यालयले जनाएको छ । "सहयोग पाउन कार्यालयको मापदण्डअनुसारको चर्पी निर्माण गर्नुपर्छ"- इन्जिनियर खत्रीले भन्नुभयो ।
खुल्ला दिसामुक्त क्षेत्र बनाउन स्थानीय विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूह र सामाजिक सङ्घसंस्था परिचालन गरेर चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ ।
सातसय ८७ घर रहेको पिप्लेमा दुइसय ४९, सातसय ७९ घर भएको भगवतीमा तीनसय ३७ र पाँचसय २२ घर रहेको रत्नेचौरका एकसय ४३ घरपरिवारले अझै खुला ठाउँलाई चर्पीका रूपमा प्रयोग गर्ने गरेका छन् ।
सरकारले सन् २०१७ भित्र नेपाललाई खुला दिसापिसाबमुक्त देश बनाउने प्रतिबद्धता जनाइसकेको छ ।