नेपालको ब्यापारी जाती नेवारको सानो परिवार ब्यापारको सिलसिलामा बर्मामा रहेको थियो । काठमाडौंमा राणाकालिन अन्धकार रहेको बेला थियो, नेपालका भूभागहरुमा विद्यालय खोल्ने, पढ्ने, पढाउने सबैले विधालयको नाम लिनु अगाडि देश निकाला वा जेलको बाटोका बारेमा राम्रै सोचेर मात्र अथवा जेल जान वा देश निकाला हुन तयार भएर मात्र शिक्षाको कुरा गर्न सक्थे । विद्यालय खोलेका कारण देशका थुप्रै स्थानमा जेलमा बन्दीहरु थिए ।
यस्तो राजनीतिक अवस्थामा काठमाण्डौका नेवारकी छोरी त के छोराहरुले पनि शिक्षाको उज्यालोबाट बन्चित हुनु परेको थियो । तर नेपालभन्दा कयौं गुणा विकसित बर्मामा शिक्षा अधिकारका रुपमा विकास भइसकेको थियो । वर्मामा रहन पाएका कारण साहाना प्रधानले पनि पढ्ने मौका पाइन् । जो वर्मामा ब्यापारको शिलशिलामा गएका ब्यापारीकी छोरी थिइन् । यता नेपालमा महिनावारी सुरु हुनु भन्दा अगाडि छोरीको विबाह गरेन भने पाप लाग्छ भन्ने अन्धविश्वास कायमै थियो । उता साहानाहरुलाई विबाह होइन शिक्षा जरुरी हो भनेर पढाइरहेका थिए । यता छोरी बुहारीले कुरकुच्चा देखाएमा छाडा भएको मानिने समाज थियो, उता साहानाहरु फ्रक वाहेक लगाउँदैन थिए ।
साहानालाई अहिले पनि लाग्छ, त्यस बेलाको नेपाल र बर्मामा आकास र पातालको फरक थियो । धेरै भयो साहाना बर्मा गएकी छैनन् । बर्मामा बिताएको वाल्यकालका दिन उनी खुब सम्झन्छिन् । वाल्यकालका साथिहरुको पनि । साहाना भन्छिन् "बाल्यकाल विताइको ठाउँ र बालककालका साथीको याद कसलाई आउँदैन र ?" तर साहनालाई अचेल सम्झना पनि कम हुँदै गएको छ । जीवनमा कोको नजिकका साथी भए । साहानकी वाल्यकालकी एकजना साथी यतिबेला दिल्लीमा छिन् हाउस वाइफको रुपमा । उपचारका क्रममा दिल्ली गइरहने साहना दिल्ली जाँदा साथीका घरमा पनि जान्छिन् ।
संसारभर फैलिएको राम्रज्यवादको जालोले बर्मालाई पनि छोपेको थियो । दोस्रो विश्व युद्ध चलिरहँदा जब बर्माको भूमिमा बमवारी हुन थाल्यो नेवार परिवार आफ्नै देश फिर्ता आयो । बर्माबाट हिँड्दा साहानाहरुले जामा लगाएर हिँडेका थिए तर जब नागढुंगा आयो साहानाहरुको कम्मरमुनि बाह्रहात लामो कपडा बेरियो कुर्कुच्चा छोपिनेगरी । साहाना अचम्ममा परिन् त्यस्तो अचम्मको कपडा किन लगाउन परेको होला भनेर । बिस्तार साहानाहरुलाई खेल खेल्न मनाई हुँदै गयो । सात कक्षा पास गरेर आएकी उनलाई आठ कक्षाका भर्ना गर्न गाह्रो भयो यसको कुनै आर्थिक कारण थिएन । साहाना भन्छिन्, "हेर त फलानाले विहे नगरी छोरी पढाएको त्यसका छोरी कोसँग पोइला जाने हुन् भन्थे।"
देशमा भित्रभित्र सल्किएको आन्दोलनस बाहिर निस्कने तयारी हुँदै थियो । नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पलालले कम्युनिष्ट आन्दोलन अगाडि बढाइरहेका थिए । काठमाण्डौमा पढेलेखेका महिलाहरुको ठूलै समुह विकसित थियो । तत्कालिन बन्द समाजमा को कस्को छोरी को कस्की बुहारी सबैलाई थाहा हुने गर्दथ्यो । राणा प्रधानमन्त्री जुद्ध समसेरले आफूलाई सुधारकको रुपमा चिनाउन काठमाण्डौको स्थानीय चुनावको घोषणा गरेका थिए ।
संसारभरि महिलाहरुलाई चुनावमा भाग लिन दिँदैनन् भन्ने थाहा पाएका काठमाण्डौका महिलाहरु जुद्ध शमसेरको दरवारमा महिलाले पनि भोट हाल्न पाउनुपर्छ भनेर बिन्तीपत्र हाल्न गएका थिए । महिलाहरुको नेतृत्व साहाना प्रधानले गरेकी थिइन् । त्यतिबेला जुद्ध शम्शेरले भनेको साहानाले अहिले पनि सम्झिकी छन् । साहाना भन्छिन् "तिमी आइमाइहरु छोराछोरी नहेरेर भोट हालेर के गर्छौ पो भने ।" त्यस बखतका महिलाहरु निक्कै सचेत रहेको अनुभब छ साहनाको । साहनाका त्यसबेलाका सबै साथीहरु अब यस धर्तीमा रहेनन् । एकजना साथी बाँकी छन् । पोहोर साल ती साथीका छोराको बिवाहमा साहानालाई निम्तो आएको थियो । साहना विबाहमा पनि गइन् तर कम्युनिष्ट नेतृ साहनाकी साथी त साई बाबाकी परमभक्त भइसकेकी रहिछिन् । साहना भन्छिन् "उनी त वर्षको एकपटक सधैँ भारतमा रहेको साइबाबाको धाममा जाने गरेकी छन् । आए पछि सधै फोन गर्छिन् यस्तो त्यस्तो भनेर ।"
चारसालमा विधार्थीहरुले चलाएको एउटा आन्दोलनका क्रममा पहिलोपटक साहानाले पुष्पलाललाई देखेकी हुन् । एउटै आन्दोलनका कारण उनीहरुमा बिस्तारै प्रेम बिकसित भएको अनुभब छ साहानाको । साहाना चारसालमा पहिलोपटक एस.एल.सीमा सहभागि महिला मध्येकी हुन् । एसएलसी पास भएपछि पढ्नका लागि नेपालमा एउटामात्र कलेज थियो त्रिचन्द्र कलेज तर त्रिचन्द्रमा महिलालाई भर्ना नै लिदैनथे । त्यसैले साहनाले भारतबाट आइए र बिए पास गरेकी हुन् ।
घरमा छोरीहरु विवाह गर्ने बेला भएको छ । तर राजनीति गरेर हिँडिरहेका थिए । साहनालाई सजिलो पनि थियो घरमा दिदी साधना पनि राजनीतिमा नै हुनुहुथ्यो । नेपालमा २००७ सालमा प्रजातन्त्र आए पनि प्रजातन्त्र कांग्रेसलाई मात्र आएको थियो । कम्युनिष्ट पार्टीलाई राणालाई भन्दा पनि शत्रुको ब्यबहार गर्थे काग्रेसहरु । त्यसै समयमा साहना र पुष्पलालको प्रेमले हुर्कने मौका पायो । छ वर्षलामो प्रेम सम्बन्धपछि २०११ सालमा उनीहरुको विबाह पार्टीले आयोजना गरेर सम्पन्न भयो । पछिल्लो समयमा अनेरास्ववियुकी नेतृ रामकुमारी झाँक्रीको विबाहमा गएकी साहनालाई विबाहको दिनभर आफ्नो विबाहको याद आइरह्यो । साहाना भन्छिन् "रामकुमारीको जस्तो भब्य विबाह कहाँ हुनु त्यति बेला ? एकजना कमरेडको घरमा पार्टीका सिमित मानिसहरु बोलाएर गरेका हौं ।"
भर्खरै नेकपा (एमाले)को केन्द्रय कमिटिको बैठक सकिएको थियो । चार दिन लगातार बैठकमा गएपछि साहनालाई ज्वरो आयो र पाचौं दिनको बैठकमा उनी उपस्थित हुन सकिनन् । बैठकमा किन आइनौ भनेर पार्टिका कुनै ठूला भनिने नेताले एकपटक फोन गरेर पनि सोधेनन् । नेपालको महिला आन्दोलनको पर्याय बनेको नाम सोच्छन् सबैले साहना प्रधानलाई । तर पार्टीको माथिल्लो तहमा पुगेका कुनै महिला नेताले उनलाई कहिल्यै फोन गर्ने र सल्लाह गर्ने गर्दैनन् ।
साहनाको उमेर र शक्ति हुदाँसम्म साहनाले फोन गर्थिन् पार्टिका महिला नेतृहरुलाई । तर साहना अब न त दिन भर कुनै कार्यक्रममा बस्न सक्छिन् नत आधा घण्टा लामो भाषण गर्न नै । साहना भन्छिन् "मैले नै फोन गर्थें सकिन्जेल अब त सक्दा पनि सक्दिनँ । घण्टौँसम्म पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिइन्थ्यो । रातरात भर नसुतिकन पार्टीको काम गरिन्थ्यो अब त धेरै बोल्न पनि सक्दिनँ । के कस्तो छ भनेर फोन गर्ने कोही पनि छैनन् । "
पछिल्ला समयमा साहनाले सपनामा पुष्पलाललाई पटकपटक देख्न थालेकी छन् । साहना भन्छिन् "सपनामा पुष्पलालजीले सोध्नुहुन्छ के छ देशको खबर भनेर, मैले देश त खत्तम भयो भन्छु ।" साहनालाई अब एउटै कुरा लगातार दिमागमा आइरहन्छ । देश ओरालो लागेको उनलाई पनि थाहा छ तर भन्न र गर्न सक्दिनँजस्तो लाग्छ, उनलाई ।
दक्षिण एसियामा नेपाल महिलाहरु संसदमा बढी भएको देश हो भन्दा उनलाई गर्व लाग्छ । अनेरास्ववियुका कमिटिहरुमा महिलाहरु बढिरहेको उनले देखेकी छन् । साहाना भन्छिन् "संसार बदल्ने युवाहरुले हो बुढाहरुले संसार बदलेको इतिहास कहीँकतै छैन । अहिलेका नेता र उनीहरुका कार्यशैलीका कारण निसास लागे पनि युवाहरुले बदल्छन् भन्ने विश्वास छ ।"
नारायणी देवकोटा