जनआन्दोलन २०६२/०६३ मा चन्द्र बयलकोटीको मृत्यु भएदेखि आजसम्म ३७ वर्षीया कल्पना बयलकोटीको आँखा ओभानो छैन । आफ्नो श्रीमानको आन्दोलनका क्रममा मृत्यु भएपछि सहिदपत्नी कल्पनालाई आफ्ना कलिला तीन सन्तानलाई लालनपालन गर्ने र पढाउने जिम्मेवारी काँधमा आएको छ । ती सन्तानलाई पढाउनका लागि खर्च उपलब्ध गराउन नसक्दाको पीडाले कल्पनाको आँखामा आँसु रोकिएको छैन ।
कल्पनाकी १५ वर्षीया छोरी मुना इलाइट बोर्डिङ स्कुल विशालनगरमा नौ कक्षामा पढ्छिन् । तेह्र वर्षीय सुमन युनिभर्सल धूम्रबाराहीमा कक्षा चारमा पढ्छन् ।
कान्छी छोरी आठ वर्षीया कञ्चन इलाइट बोर्डिङ स्कुल विशालनगरमा नै दुइ कक्षामा पढ्छिन् । कल्पनालाई यी छोराछोरीलाई पढाउन नसकिने हो कि भन्ने चिन्ताले सधै सताइरहन्छ । सहिदपत्नी कल्पनालाई अरू कुनै इच्छा छैन ।
"छोराछोरीले राम्रोसँग पढ्न पाऊन् र श्रीमानको बलिदानको सार्थकतास्वरूप तोकिएको मितिमै संविधान बनोस्"-उहाँले भन्नुभयो-"मेरो श्रीमानको लोकतन्त्र र शान्तिप्रतिको बलिदान सफल होस्, समयमै संविधान बन्नुपर्छ, देशमा शान्ति आउनुपर्छ ।"
नेताहरूले सत्ता र किर्सीकोहले संविधान बनाउनतर्फ ध्यान नदिएर सहिदको बलिदानलाई अपमान गरेको महसुस हुन्छ कल्पनालाई । "सहिदको योगदानलाई सभासद्ले भुलेकोजस्तो लाग्छ"- उहाँ मलिनो स्वरमा भन्नुहुन्छ-"यदि सभासद्ले तोकिएको मितिभित्रै संविधान बनाएनन् भने तिनीहरूलाई सहिद परिवारको आँसु लाग्नेछ ।" मुलुकलाई बर्बाद पार्ने काम नेताहरूले नै गरेकोजस्तो लाग्छ कल्पनालाई ।
सरकारले सहिद परिवारका छोराछोरीलाई पढ्ने व्यवस्था मिलाइदिएर कम्तीमा एकजनालाई रोजगारको व्यवस्था मिलाइदिनुपर्ने कल्पनाको माग छ । अब भने उहाँलाई कुनै राजनीतिक दलका नेतासँग भेट्न मन लाग्दैन ।
बरु नेताहरूको व्यवहार सम्झनेबित्तिकै लाज लाग्छ । आफ्ना श्रीमान् घाइते हुँदा अस्पतालमा आएर "चिन्ता लिनु पर्दैन कल्पना, हामी छोराछोरीलाई पढ्न सहयोग गर्छौ" भन्ने नेताले आज आएर कल्पनालाई चिन्दा पनि चिन्दैनन् ।
अझ कतिपय मान्छेले त कल्पनाको मन निकै दुखाएका छन् । काम खोज्ने सिलसिलामा उनले निकै नमिठो बोलीसमेत सुन्नु परेको छ । "सहिद परिवारलाई किन काम दिनुपर्यो ! सरकारले त्यत्रो पैसा दिएको छ" भन्दा कल्पनालाई भक्कानो फुटेर आउँछ ।
सरकारले दिएको १० लाखले उहाँले बास बस्ने स्थानको निर्माण गर्नुभयो । अहिले सरकारले छोराछोरीका लागि महिनाको रु १२ हजार दिने गरेको छ । त्यो पैसाले कल्पनाका छोराछोरीको स्कुलको शुल्क तिर्न पनि पुग्दैन ।
अस्पतालमा हुँदा नेताले दिएको आश्वासन अहिले पनि कल्पनाको स्मृतिमा ताजै छ । उतिबेला सबैले कस्तो छ भनेर सोध्ने गर्थे । "अहिले ती नेता सरकारको कुर्चीमा पुगेका छन् कसैले खोजी गर्दैनन्" उहाँले विगतको कुरा स्मरण गर्दै भन्नुभयो-"नेताहरूले लोकतन्त्रका लागि सहिदले बगाएको रगत र बलिदानलाई भुलेका छन्, अहिले त नेताहरूसँग भेट्न पनि मलाई त लाज लाग्छ ।"
कल्पनालाई आफ्नो श्रीमान् नहुँदा समाजले गरेको अपमान सम्झेर बेलाबेलामा बरु श्रीमानको खुट्टा भाँचिएको भए हुन्थ्यो, जसरी भए पनि बाँचेको मात्रै भए हुन्थ्योजस्तो लाग्छ ।
"सहिदको योगदानकै कारणले नेताहरू सत्तामा पुग्न सफल भए तर सहिद परिवारको दुःखमा कमी आएको छैन" आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो-"सहिदकै योगदानका कारण ती सभासद्का छोराछोरीले राम्ररी पढ्न पाएका छन्, तर ती सभासद् बनाउने सहिदका छोराछोरीले पढ्न पाएका छैनन्, यो कस्तो विडम्बना ।"
वि.सं. २०६२/०६३ को जनआन्दोलनमा सहिद भएका नुवाकोटका ३५ वर्षीय चन्द्र बयलकोटी वैशाख ९ गते शनिबार त्रिपुरेश्वरको सडकमा गोली लागी घाइते हुनुभएको थियो । उहाँको मेडिकेयर अस्पताल चाबहिलमा उपचार हुँदाहुँदै वैशाख २३ गते राति ११ बजे मृत्यु भएको हो ।
कल्पनालाई आफ्ना श्रीमानले अन्तिममा एकपटक बोलेको सुन्न मन लागेको थियो । "श्रीमानको अन्तिम बोलीको प्रतीक्षा गर्दागर्दै नबोली बित्नुभएकामा मलाई अत्यन्तै दुःख लागेको छ" भावुक स्वरमा उहाँले भन्नुभयो-"उहाँको केही चाहना थिए होला, आफ्नी श्रीमती र छोरीछोरीलाई केही भन्न मन लागेको थियो होला तर आँसुमात्र झारेर उहाँले संसारबाट बिदा लिनुभो ।"
सहिद परिवार भन्न पनि लाज लाग्छ सहिदपत्नी कल्पनालाई । गाडीले किचेर मरेको पनि सहिद, व्यक्तिगत रिसइबीको कारण कसैले मारे पनि सहिद घोषणा गर्ने चलन कल्पनालाई राष्ट्रका लागि बलिदान दिएर जानेको अपमान भएजस्तो महसुस भएको छ ।
सहिद परिवारले तोकिएको मितिमै संविधान निर्माणको माग गर्दै संविधानसभा भवन अगाडि गत चैत ११ देखि चैत १५ गतेसम्म एक हप्तासम्म धर्ना बस्दासमेत सभासद्को ध्यान सहिद परिवारको संविधान र शान्तिको चिन्ताप्रति नगएकामा सहिदपत्नी कल्पना दुःख मान्नुहुन्छ ।
विवाह भएपछि १५-१६ वर्षमात्र सँगै बस्न पाएकी कल्पना आफ्ना बच्चा हुर्काउनका लागि भए पनि सङ्घर्ष गरिरहनुभएको छ । नेपालका सहिदलाई हेर्ने दृष्टिकोण राम्रो नभएकामा पनि उहाँलाई चिन्ता लाग्छ ।
श्रीमानको मृत्युपश्चात् छोराछोरी पढाउन, हुर्काउन र बढाउन दुःख कष्ट बेहोर्ने सहिदपत्नी कल्पना एक्ली हुनुहुन्न । उहाँजस्तै जनआन्दोलन ०६२/०६३ मा सहिद भएका २५ परिवारका सदस्यको पनि आँखामा आँसु रोकिएको छैन ।
- कालिका खड्का