अनिल पाण्डे , क्यालिफोर्निया
अमेरिकामा रहेका नेपाली संगठन र समूहले नियमित रुपमा सार्वजनिक कार्यक्रमको आयोजना गरेका समाचार प्रकाशमा आइरहन्छन् । गैरआवासीय नेपाली एनआरएन को कुरा मात्र होइन न त सन्दर्भ अमेरिकामा रहेका नेपालीहरुको संगठन एएनए को मात्र हो, साना-ठूला प्रभावमा रहेका सबै नेपाली संस्थाहरुको एउटैसमस्या रहेको छ - कार्यक्रमको असफलता ।
आयोजकले लामो समय लगाएर मेहनत गर्छ, योजना बनाउँछ, अतिथि डाक्छ र सहभागी जुटाउँछ तर कार्यक्रमले सफलता हासिल गर्दैन । कम्तीमा १० कार्यक्रमको आयोजना भयो भने नौ वटाले असफलताको चड्कन सहनैपर्छ । आखिर किन अमेरिका मात्र होइन विश्वका विभिन्न मुलुकहरु जहाँ नेपाली नागरिक पुगेका छन् र केही सय उनीहरुको संख्या पुगेको छ त्यहाँ नेपालीले एउटै चरित्र देखाएका छन् ? राजनीतिक आस्था, क्षेत्र र जातिका आधारमा विभिन्न संगठनको स्थापना । अर्को शव्दमा भन्नुपर्दा खण्डीकरण । नेपालमा जति, संस्था र संगठन रहेका छन् त्यति नै परिमाणमा विदेशमा टुक्राहरु छरिएका देखिन्छन् ।

कतार, कुबेत, मलेसिया, अष्ट्रेलिया, क्यानडा, अमेरिका जहाँ जाँऊ रोग एउटै छ- कसैलाई संगठनको अध्यक्ष हुनुपर्यो रातारात संगठन तयार भैहाल्छ । संगठनका लागि आवश्यक पूर्वाधारका रुपमा रहेको त्यसको भिजन, मिसन, लक्ष्य र उद्देश्यसहितको संरचना पनि तयार पारिंदैन । "विदेशमा रहेका नेपालीलाई संगठित बनाउने भन्ने उद्देश्यको उद्घोषका साथ खुलेका संगठनहरु खास राजनीतिक पार्टीप्रति विश्वास गर्ने र जन्मसँगै लिएर आएको जातित्व र क्षेत्रअनुसार फरक-फरक किन हुनुपर्यो नेपाली समुदायभित्र जति बढी संगठन खुले उति यो समुदाय संगठित भएको मानिने स्थिति छैन । किनभने नेपालमै संगठनको संख्या हजारौं छन् । राजनीतिक आस्थाका आधारमा खुलेका संस्था मात्र पाँच सयभन्दा बढी हुनुपर्छ । तर नेपाली समाजको विकासमा दल र संगठनहरुले योगदान दिन सकेका छैनन् । सरकारमा पुगेका वा विधायिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको परिमाण मात्र ५० पुग्छ ।
त्यहाँ नपुगेका राजनीतिक आस्थाका आधारमा खुलेका आपराधिक प्रकृतिका संगठनको समेत गणना गर्ने हो भने यो कुनै अढाई करोड नेपालीको मुलुक हो भन्ने लाग्दैन । यद्यपि लोकतान्त्रिक अभ्यास र मुलुकको विकासका पक्षमा तिनीहरुको के योगदान रह्यो भनेर हेर्ने हो भने पूर्ण निराशा मात्र हात लाग्छ ।
अमेरिकमा वर्षौं अघिदेखि केबल दुई राजनीतिक पार्टी सत्तामा छन्- रिपब्लिकन र डेमोक्र्याट्स । युरोपका अधिकांश मुलुकको पनि अवस्था यस्तै छ भने विश्वका अन्य विकसित मुलुकको स्थिति पनि खास फरक छैन । तर हामीलाई भने समाज र समुदायको विकासभन्दा बढी संगठनको विकासमा जोड दिनु परेको छ ।
परिणामतः विदेशमा पनि हामी खस जनजाति दलित मात्र होइन करिब ९० भाषा र १०० जातिमा विभाजित हुने तयारीमा लागेका छौं । आत्म पहिचानका लागि जाति र भाषाका आधारमा संगठन खोलेर आफ्नो पहिचान बनाउनु त स्वाभाविकै हो पाण्डे समाज गठन भएर पाण्डेको वंशावली निकाल्छ र साँस्कृतिक परिचयका बारेमा अनुसन्धान गर्दछ भने स्वागत नै गर्नुपर्छ । तर यहाँ त ए समाज गठन भयो भने त्यसको अघोषित उद्देश्य अर्को कुनै बि समाजको विरोध गर्नु वा कम्तीमा बि समाजका अध्यक्ष तथा पदाधिकारीको तुजुक झार्नु रहेको देखिन्छ ।

परिणामतः ए समाजले कार्यक्रम आयोजना गर्यो भने बि ले र बिले आयोजना गर यो भने ए ले बिरोध गरिरहेको हुन्छ । परिणामतः दुबै असफल हुन्छन् । आखिरमा यो असफलता नेपालीको हुन्छ । आखिरमा ए ले हारोस् वा बि असफल होस् पराजित हुने त नेपाली नै हो यसलाई हामी ध्यान दिन सक्तैनौं । सकिरहेका छैनौं ।
यस लेखक संलग्न रहेको संस्था मदरल्याण्ड नेपालले मदनकृष्ण श्रेष्ठ, हरिवंशआचार्यदेखि मजोज गजुरेलसम्मका हास्य-व्यंग्य क्षेत्रका कलाकार ल्याएर कार्यक्रम गर्यो। नवीन भट्टराईजस्ता लोकप्रिय गायकलाई झिकाएर कन्सर्ट चलायो । तर सफल भएन । रामकृष्ण ढकाल, शिवहरि पौडेललगायतका कलाकार बोलाएर कार्यक्रम गरे तर असफल भएको प्रष्ट जानकारी यसले पायो । यी त केही नाम मात्र हुन् । जसले कार्यक्रम प्रस्तुत गर्दा टिकटका लागि मानिसले भीडमभीड गर्नुपर्ने हो तर हलहरु खाली भए । किन किनभने एलाई असफल गराउन बि र बिलाई थाङ्नामा सुताउन ए हात धोएर लागिपरे ।
अर्को एउटा रमाइलो सन्दर्भ के छ भने हामी नेपालीले आयोजना गरेका कुनै कार्यक्रम समयमा सुरु भएनन् । तीन घण्टासम्म ढिला गरेर कार्यक्रम चलाउन आयोजकहरु वाध्य भएको उदाहरण छ । यसरी ढिला गर्नुको कारण अरु कोही नभएर सहभागीहरु नै हुन् । हामी नेपाली दर्शकहरु नै हौं । समयमा आफै नआउँने अनि समयमा सुरु नगरेर दर्शकको अपमान गरियो भनेर आयोजकलाई गाली गर्ने पनि हामी नै हौं । भनेकै समयमा कार्यक्रम सुरु गरेको भए कलाकारले कार्यक्रम देखाउने र आयोजकले हेर्ने मात्र हुन्थ्यो ।

सकभर लागतसम्म उठिहाल्छ कि भने विचरो आयोजक आँखा टट्याउने गरी नेपाली दर्शकको प्रतीक्षा गर्न वाध्य भएको हुन्छ त्यो कसले बुझिदिने हालै सनफ्रान्सिस्कोमा भारतीयहरुको कार्यक्रम थियो । त्यसले यति बढी दर्शक पायो कि खुट्टा राख्ने ठाउँ नभएको यस लेखककै छिमेकीले बताए । तर
राष्ट्रियता र आफ्नो समुदायको उत्थानका लागि एकजुट हुने भावनामा छिमेकीको स्वभाव हामीमा सरेन ! छिमेकबाट खालि विकृति मात्र सर्छ बा !