दलित र गैरदलितबीचको विवादले पर्वतको फलेवासमा एक मन्दिरमा चार वर्षदेखि लागेको ताला खुल्न सकेको छैन । दलित बालबालिकालाई मन्दिर प्रवेशमा रोक लगाएको विवादमा बन्द भएको दक्षिण पर्वतको हुवास गाउँ विकास समितिस्थित कालिका प्राविमा रहेको मन्दिर खुल्न नसकेको हो । गैरदलित बालबालिकासरह आफ्ना बालबालिकालाई मन्दिर प्रवेश तथा पूजाआजा गर्न दिनुपर्ने दलित समुदायले माग गरेपछि मन्दिर बन्द गरिएको हो ।
पटक-पटक कथित उच्च जातबाट अपहेलित हुन थालेपछि अधिकारका लागि दलित महिलाले गाउँमा आन्दोलन गर्दै आएपनि गैरदलितले मन्दिर प्रवेश गर्न रोक लगाएको स्थानीय दलित महिला रोजिना हिताङले बताउनुभयो । "दलितलाई माथि उठ्न दिनु हुँदैन, उनीहरू माथि पुगे भने हामीलाई हेप्छन् भन्ने सोचाइ गैरदलितमा छ" उहाँले भन्नुभयो ।
दलितले वि.सं. २०६२ को श्रीपञ्चमीका दिन आफ्ना बालबालिकालाई पनि अन्य बालबालिकासँगै मन्दिरमा पूजा गर्न दिन माग गरेका थिए । तर गैरदलितले दलित बालबालिकालाई मन्दिर प्रवेशमा प्रतिबन्ध गरेपछि गैरदलितले विरोध गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिलगायत शिक्षकशिक्षिकासमेत गैरदलित भएपछि दलित बालबालिकालाई पढाइमा समेत बाधा पुग्दै आएको स्थानीय यामकला हिताङले गुनासो गर्नुभयो ।
"देशमा जातीय रूपमा छुवाछूत प्रथाको अन्त्य भएको घोषणा गरिए पनि गाउँमा उक्त प्रथा ज्यूँका त्यूँ छ"-हिताङले भन्नुभयो-"बोलेरमात्र भएन कार्यान्वयन पनि हुनुपर्यो ।" ठकुरीहरूको बाहुल्यता रहेको उक्त गाउँमा करिब तीन दर्जन दलित परिवार रहेका छन् ।
उता,बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सुर्खेत हरिहरपुर गाउँ विकास समितिका ११ जना नागरिकले ज्यान गुमाउनु परेको छ । वि.सं. २०४५ मा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी-सिकारी गरेको अभियोगमा सुरक्षाकर्मीको गोली लागेर हरिहरपुरका मात्रै ११ जना स्थानीय नागरिकको मृत्यु भएको बताइएको छ । सुर्खेतका विभिन्न गाविसमा लागु भइरहेको वन्यजन्तु चोरी-सिकारी नियन्त्रण सचेतना अभियानअर्न्तर्गत सोमबार हरिहरपुर तेलपानीमा सम्पन्न भएको गाविसस्तरीय छलफल कार्यक्रममा यस्तो जानकारी दिइएको हो । वातावरण संरक्षण मञ्च सुर्खेत र विश्व वन्यजन्तु कोष काठमाडौँको आयोजनामा भएको छलफलका सहभागीले सुरक्षाका लागि निकुञ्ज स्थापना भए पनि उल्टै नागरिक नै सिकार हुनु परेको भन्दै चिन्ता व्यक्त गरे ।
वन्यजन्तु चोरी-सिकारीको आरोपमा नागरिकले ज्यान गुमाउन थालेपछि निकुञ्जआसपासका स्थानीय बासिन्दा अन्यत्र र्सन थालेको छन् । उनीहरूले चोरी-सिकारी रोक्न स्थानीय युवा र नागरिक सक्रिय भएर लाग्नुपर्ने ठहर पनि गरेका छन् । निकुञ्जमा बढेको अवैध क्रियाकलाप रोक्न सरकार गम्भीर हुनपर्ने र नागरिकले पनि सहयोग गर्नुपर्ने उनीहरूले बताएका छन् । पछिल्लो समयमा वन्यजन्तु संरक्षणका लागि निकुञ्जसँग जोडिएका सुर्खेतका नागरिक र स्थानीय युवा क्लब सक्रिय भएका छन् ।