अभिनयबाहेक समाजसेवामा पनि रुचि छ रे उनको । फुर्सदका ४ देखि २० वर्षसम्मका एक दर्जन बच्चाबच्चीलाई आफ्नै घरमा निःशुल्क डान्स सिकाउँदै आएको बताउँदै उनी भन्छिन्, "सानोमा मलाई टिचर निकै मन पर्थे । ठूली भएपछि मिस बन्छु भन्ने सोच्दथेँ । पछि कलाकारितामा लागियो । अहिले, मिस बन्ने त्यो इच्छा डान्स सिकाएर भए पनि पूरा गरिरहेकी छु ।"
उनी अभिनित रणसंग्राम, पलपलमा, मेरो के गति हुने हो, साथी रे, दामिनी, प्रहार र अल्झेछ क्यारे पछ्यौरी फिल्म प्रदर्शन हुन बाँकी छन् भने नायक निखिल उप्रेती मुम्बई पसेकाले कसम फिल्मको बाँकी सुटिङ रोकिएको छ । आफूले एकपछि अर्को गरी फिल्ममा काम गरिरहे पनि कतिपय फिल्म रिलिज हुन बाँकी भएकाले आफ्नो चर्चा कम भएको स्विकार्छिन् उनी । भन्छिन्, "मैले काम त गरिरहेकी छु । तर, मैले खेलेका कतिपय फिल्म रिलिज हुन बाँकी छन् । त्यसकारण मेरो उपस्थिति कम देखिएको छ । तर म हराएकी छैन, हराउनेवाला पनि छैन ।"
पछिल्लो समयमा सांस्कृतिक कार्यक्रमका लागि विदेश जाने क्रम पनि बाक्लिएको छ उनको । "न्यु इयरमा कतार गएँ," उनी भन्छिन्, "अहिलेसम्म सांस्कृतिक कार्यक्रमका लागि जापान, लण्डन, अष्ट्रेलिया, कतारलगायत थुप्रै मुलुक पुगिसकेकी छु । अरू एक-दुई देशको पनि कुरा आइरहेका छन् ।" विदेशमा हुने प्रोग्रामले आर्थिक रूपमा सबल बनाउने गरेको अनुभव छ उनको । "पारिश्रमिक पनि राम्रो हुन्छ । विदेशमा रहेका नेपाली दर्शकको अथाह माया पाइन्छ," फाइदा बताउँदै गइन् उनले, "हाम्रो नेपाली कलासंस्कृति अन्तर्राष्ट्रियस्तरमा फैलाउने मौका पनि हो यो ।"
दुईदर्जन हाराहारीको संख्यामा म्युजिक भिडियो खेलेकी उषा फिल्म र म्युजिक भिडियो अभिनयमा कुनै भिन्नता देख्दिनन् । "फिल्म र म्युजिक भिडियोमा गर्ने अभिनय एउटै हो," उनको बुझाइ छ, "तर फरक यत्ति हो, म्युजिक भिडियोको रेस्पोन्स छिट्टै आउँछ, फिल्मको भने समय लाग्छ ।"
आमहडतालका कारण उषा पनि घरमै थन्किरहेकी छिन् । "जताततै बन्द छ । कहाँ जानु ? घरमै बसिरहेकी छु," सधैँ काममा व्यस्त भइरहने आफूलाई कामविहीन भई घरमा बस्नुपर्दा औडाहा भएको बताउँदै उनले भनिन्, "रुघाखोकी लागेर त्यत्ति सञ्चो पनि छैन । बत्ती भएको बेलामा टिभी हेर्छु । नत्र घरकै काम गरेर बस्छु । साँच्चै कहिले सिद्धिन्छ आमहडताल ?"