रेखाकुसुम रेग्मी
कक्षा ९ मा पढ्दापढ्दै विवाह गर्न बाध्य दाङ जिल्लाकी शान्ता ढकाल श्रीमानसंग २० दिन पनि सँगै बस्न पाइनन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण १७ वर्षको उमेरमा पढाइ छाडेर उनी बिहे गर्न बाध्य भएकी थिइन् । "बिहे गरेको तीन दिनमै उहाँ (आफ्ना श्रीमान्) मुम्बै जानुभयो, कहिलेकाहीँ आउनुहुन्थ्यो, सँगै बस्न पाइएन"- उनले भनिन् ।
श्रीमान् भारतको मुम्बइमा काम गर्थे । नेपाल आएका बेला उनीसँग आफ्नो बिहे भयो । विसं २०५५ वैशाख ३ गते विवाह गरेकी शान्ताले २०५६ सालमै श्रीमान् गुमाइन् । श्रीमानको मृत्युको कारण एचआइभी/एड्स रहेछ, तर यो कुराको पत्तो उनले मृत्युपछि मात्र पाइन् ।
बिहे गरेको एक वर्षनपुग्दै श्रीमानको मृत्यु भएपछि शान्ताको जीवनमा सङघर्ष र पीडाका दिन सुरु भए । "श्रीमानसंग २० दिनभन्दा बढी सँगै बस्न पाइन, अहिले एक्लो र पीडादायी जीवन बिताउँदैछु," उनले लामो सुस्केरा हाल्दै आफ्नो पीडा सुनाइन् । न श्रीमान् छन्, न घरपरिवार, न माइती, न छोराछोरी । योभन्दा पीडादायी जीवन अरू के होला ? उनले थपिन् । शान्ता अहिले आफूले भोगिरहनुपरेको जस्तो पीडा अन्य महिलाले भोग्न नपरोस् भन्नाका लागि महिला हकहितका लागि लडिरहेकी छिन् ।
दाङकै २८ वर्षीया अर्की महिलाले आफ्नो श्रीमानको मृत्युपछि सहाराका लागि दोस्रो बिहे गरिन् । छोरी च्यापेर दोस्रो बिहे गरेकी अरुणाले आधा जीवनलाई सहजरूपमा व्यतित गर्न भने पाइनन् । बिहेपछिको क्षणिक खुसी सदाका लागि टुक्रियो । गरिबीका कारण खान लगाउनसमेत समस्या परेपछि विकल्पका लागि उनका श्रीमान् कमाउन भारततिर लागे । यी दुवैको यो दोस्रो बिहे थियो ।
उनले पहिलो बिहे १६ वर्षको उमेरमा गरिन् र १९ वर्षको उमेरमा पहिलो बच्चा जन्माएकी थिइन् । हुर् केबढेकी छोरीलाई धेरै पाल्नु हुँदैन भनेर बाबुआमाले चाँडै बिहे गरिदिनुभयो- उनले आफ्नो अनुभव सुनाइन् ।
श्रीमान् भारतबाट फर्किएपछि उनी गर्भवती भइन् । गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण गराउँदा उनलाई एचआइभी भएको थाहा भयो । अनि सुरु भए उनका पीडा र अवहेलनाका दिन । एड्स लाग्यो भनेर सासू-ससुरा र श्रीमानले समेत सुत्केरी हुँदा गोठमा बसाले । सात दिनको सुत्केरीमै बच्चासहित माइतीको शरण लिनुपर्यो भन्दै उनले आफ्नो पीडा यसरी पोखिन्- मेरो छोरा भारतमा थियो तर बुहारी अर्कैसँग लागेर निको नहुने रोग सारी भनेर सासू-ससुराले मैले छोएको पानीसमेत खाएनन् ।
श्रीमानले आफूलाई छोडेर भारत गएपछि उनले न्यायका लागि स्थानीय प्रहरी चौकीका निवदेन दिइन् । यो दोष न उनको थियो न त नयाँ श्रीमानको नै । दोष त पहिलो श्रीमानको थियो । भारतमा काम गर्ने पहिलो श्रीमानबाट उनलाई एचआइभी सरेको थियो । तर, यो कुराको पत्तो नै नपाई उनले दोस्रो बिहे गरेकी थिइन् ।
प्रहरीले भारतबाट उनका श्रीमानलाई बोलायो । प्रहरीको दबाबमा श्रीमानको रगत परीक्षण गरियो । तर नतिजा फरक आयो । उनले गह्रौं मन पार्दै भनिन्- मैले न्याय पाउनाको साटो पीडा पाउने नतिजा आयो, श्रीमानको रगत नेगेटिभ देखियो, चिकित्सकले पहिलो श्रीमानबाट उनलाई एचआइभी सरेको पत्ता लगाए । उनी अहिले तुलसीपुरमा चिया पसल सञ्चालन गरेर जीवन बिताइरहेकी छिन् । उनको साथमा १८ महिनाको बच्चा छ ।
सरकारले "बिहेवारी बीस वर्ष पारि" भन्ने नारा घन्काए पनि नेपालका १५ देखि १९ वर्षुनिका करिब दुइ लाख ५० हजार बालिकामध्ये करिब आधा बालिकाको सोही उमेरमा विवाह हुने गरेको छ ।
बालिकाका क्षेत्रमा कार्यरत बेइजिङ कमिटीले तयार पारेको पछिल्लो तथ्याङ्कले विवाहितमध्ये १८ वर्षनपुग्दै एक चौथाइ बालिका आमा बन्ने गरेको जनाएको छ । यसरी ६० प्रतिशत नेपाली बालिका १८ वर्षनपुग्दै आमा बन्ने गर्छन् ।
नेपालको अन्तरिम संविधानले १६ वर्षु मुनि उमेरकालाई बालबालिका भनी परिभाषित गरेको छ । अन्तर्राष्ट्रिय मान्यताले भने यो उमेरमा दुइ वर्ष थप गरी १८ वर्षु मुनिकालाई बालबालिका भनी अर्थ्याएको छ । तर, नेपाली समाजले यी सबै कानुनी मान्यता र प्रावधानलाई चुनौती दिएको छ र त बालिका सानैमा बिहे गर्न विवश र आमा बन्न बाध्य छन् ।
नेपालमा महिला साक्षरता दर हेर्ने हो भने ४२ प्रतिशत छ । प्राथमिक तहमा भर्ना हुने ७४ प्रतिशत बालिकामध्ये निम्नमाध्यमिक तहसम्म पुग्दा यो सङ्ख्या आधा रहने गरेको शिक्षा विभागको तथ्याङ्कले देखाएको छ ।
विसं २०५८ को राष्ट्रिय जनगणनाले ३४ प्रतिशत महिलाको विवाह १९ वर्ष अगावै हुने गरेको देखाएको छ । सोही तथ्याङ्कअनुसार हाल नेपाली महिलाको विवाह गर्ने सरदर उमेर १९.५ र पुरुषको २२.९ वर्ष रहेको छ । कम उमेरमा विवाह गर्दा विशेषगरी महिला एचआइभी/एड्सको जोखिममा पर्ने सम्भावना बढी हुने चिकित्सक बताउँछन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार गतवर्षफागुनसम्म नेपालमा १५ हजार ४६० जना एचआइभी सङ्क्रमणमा परेका छन् । तीमध्ये १० देखि १९ वर्षउमेर समूहका ६७९ जना छन् । यो उमेर समूहमा ३३० जना महिला भएको सो केन्द्रले जनाएको छ ।
केन्द्रका डा. हेमन्त ओझा सानै उमेरमा बिहे गर्दा उनीहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुन नसक्ने भएकाले यौनरोग र्सनसक्ने सम्भावना धेरै हुने बताउँदै भन्नुहुन्छ- "यौनरोग लाग्नेलाई एड्सको जोखिम धेरै हुन्छ ।"