निरज आचार्य,
महासचिव, युवा संघ, नेपाल
० युवा संघ नेपालको हाल खबर के छ ?
- संघको सांगठनिक गतिविधिहरु नियमित रुपमा चलिरहेको छ । आन्तरिक काममा संघ परिचालित छ ।
० युवा संघ अहिले राजनैतिक गतिविधिभन्दा पनि पार्टीका ताहरुको विरुद्धमा बोल्ने काम गर्ने गरिरहेको छ भनिन्छ नि ?
- त्यसो होइन, राजनीतिक, सांगठनिक गतिविधिहरु भैरहेका छन् । तुलनात्मक रुपले युवा संघभित्र विधिलाई पद्धतिलाई उल्लंघन गर्ने कामको सुरुवात भएको छ । यो अत्यन्तै गम्भीर कुरा हो पछिल्लो कालमा केही समस्याहरु आएका छन् । यसका नेताहरु जिम्मेवार नबन्ने हो भने संघ मर्यादित र विधिसम्मत सञ्चालन गर्न सकिँदैन । यसमा म संघको महासचिवको हैसियतले अत्यन्तै गम्भीर बनेको छ ।
० अनुशासन उल्लंघन गर्नेलाई नियमअनुसार कार्वाहीको परम्परा होला नि ?
- सातौं राष्ट्रिय सम्मेलनद्वारा निर्मित नीति, विधि र नेतृत्वलाई अस्वीकार गर्नेहरु जतिसुकै अग्लो पदमा वा होचो पदमा बसेका हुन्, तिनी युवा संघका नेता वा कार्यकर्ताका रुपमा रहिरहन सक्दैनन् ।
० युवा संघको नेतृत्वभन्दा पनि अरु विभागहरुको प्रमुख भन्न रुचाउने तपाइँको संघभित्र देखिँदैछ, संघको मर्यादा र इतिहासलाई तल पारे जस्तो लाग्दैन ?
- कतिपय साथीहरु आफूलाई संघको नेताभन्दा पनि युथफोर्स भन्न रुचाउने र युवासंघको गतिविधिभन्दा युथफोर्सको नाममा गतिविधि गर्न रुचाउने प्रवृत्तिहरु पनि नदेखिएका होइनन् यद्यपि युथफोर्सको सम्बन्धमा पार्टिले स्पष्ट र निर्णय स्पष्ट दृष्टिकोण अगाडि सारिसकेको छ । नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशन पछाडि युथ फोर्स अबदेखि युवासंघको विभागको रुपमा होइन् पार्टीको स्वयंसेवी संगठनको रुपमा सञ्चालन गर्ने भन्ने निर्णय गरेको छ । पार्टीमा यतिबेला युवा संघको मातहतमा युथफोर्स छैन र पार्टीको महाधिवेशन पछि युवा संघको केन्द्रीय कमिटि बैठकले औपचारिक निर्णय गरेर युवासंघको मातहतमा युथ फोर्स छैन भनेर निर्णय गरिसकेको छ । र युवा संघसँग रहेको युथफोर्स पार्टीसंग रहेको पिपुल्स भोलेन्टियर्स र अतिरिक्त क्रियाकलाप विभागलाई समन्वयित र एकीकृत गरी स्वयंसेवी संगठनको रुपमा सुपरिचालन गर्ने भनेर पार्टीले औपचारिक निर्णय गरिसक्यो । पार्टिबाट युथफोर्स हेर्नको लागि संयोजकर्ताको रुपमा केन्द्रीय सदस्य योगेश भट्टराईलाई तोकेको छ ।
० एमाले पार्टी र त्यसको जनसंगठनभित्र जसले जे मन लाग्यो, आफ्नो अनुकुल पद सिर्जना गर्दा हुन्छ भन्ने भ्रम छ नि ?
- हो, यसले पछिल्लो कालमा निकै भ्रम र अन्यौलताहरु सिर्जना गरेको र अन्यौलताहरु चिर्ने सन्दर्भमा पार्टीका नेताहरुले पत्रकार सम्मेलनको आयोजना गरेर ती कुराहरुलाई प्रष्ट पार्ने काम गर्नुभएको छ । पार्टी अध्यक्षले यही वैशाख २३ गते नै पत्रकार सम्मेलनमार्फत र युथफोर्सको जिम्मेवारी लिनु भएको योगेश भट्टराईले पत्रकार सम्मेलन गरी युथफोर्सका भूमिकाका विषयमा प्रष्ट्याइ सक्नुभएको हुनाले मैले थप चर्चा गरिरहनु पर्लाजस्तो लाग्दैन ।
० एमाओवादीले गरेको आमहड्ताल फिर्ता लिएको छ । तपाइँ एउटा सशक्त युवा संघको महासचिवको हिसाबले यो मुलक अब कसरी अगाडि बढ्छ जस्तो लाग्छ ?
मुलकका सामू दिनप्रतिदिन नयाँ खालका जटिलताहरु उत्पन्न हुँदैछन् । यद्यपि माओवादीहरुले आमहड्तालको कार्यक्रम फिर्ता लिने कुरा कालो बादलभित्र चाँदीको घेराको रुपमा हेरेको छु । माओवादीले फिर्ता लिइसकेपछाडि राष्ट्रिय सहमति बनाउनेको लागि राजनैतिक दलहरु जिम्मेवारीपूर्वक लाग्नुपर्छ । सहमतिविना संविधान निर्माण हुन सक्दैन । शान्तिप्रक्रिया पनि सकारात्मक निष्कर्षमा पुग्न सक्दैन । संगर्ष र आन्दोलनको बाटोबाट राष्ट्रिय सहमति बन्न सक्दैन र नेपाली जनताले ०६२-०६३ को आन्दोलनद्वारा अभिव्यक्त गरेका जनताका चाहनाहरु र लोकतान्त्रिक गणतन्त्र पनि संस्थागत हुन सक्दैन ।
० प्रधानमन्त्रीको राजीनामाको विषयमा पार्टिका उपाध्यक्ष वामदेव गौतमले एउटा अभियान थाल्नुभयो र वामदेवको विरुद्धमा युवासंघभित्र अर्को अभियान थालियो यो के हो, यसबारे प्रष्ट पारिदिनुस्न ।
- पार्टीका उपाध्यक्ष वामदेव गौतमले इमेलमार्फत पार्टी अध्यक्षलाई ज्ञापनपत्र पठाउने कुरा अनुपयुक्त समयमा अनुपर्युक्त तरिकाले पठाउनुभयो, यो बेठीक थियो । बेठीक भएकै हुनाले पार्टीले र अनुशासन आयोगले स्पष्टीकरण माग गर्ने कुरा गरिसकेको छ । र उपाध्यक्षक गौतमले लिखित रुपमै स्पष्टीकरण दिनुहुनेछ । जनसंगठनले यस विषयमा छलफलको मुद्दा बनाइरहनु पर्छ भन्ने मलाई लाग्दैन । जनसंगठनको पद्धति पनि यो होइन । पार्टी नेताले कमजोरी गर्यो भने अंकुश लगाउने, कार्वाही गर्ने, नियन्त्रण गर्ने काम पार्टी नेतृत्वको हो, जनसंगठनको होइन । जनसंगठनहरुले विज्ञप्ति निकाल्ने ज्ञापनपत्र दिने मिडियाबाजी गर्ने, यो पनि अर्को अराजकता हो । हामीभित्रको समस्या भनेको को भन्दा को बढी अराजतक हुने भन्ने प्रतिस्पर्धाको दौडमा सामेल हुने कुरा बेठीक हो ।
० त्यसो भए एमालेभित्र अराजकताको प्रतिस्पर्धाको दौडजस्तो भइरहेको छ ?
- एमालेभित्रको युवापुस्ता गम्भीर हुनुपर्ने विषय यही हो कि पार्टी भित्र अराजकता बेसरी संस्थागत भएको छ । पार्टि महाधिवेशनका फैसला मान्दिनँ भन्नेहरु पनि नेतृत्वमा छन्, पार्टीले गरेको लोकतान्त्रिकरणको अभ्यासमा जान खोज्ने तर त्यसबाट आएको परिमाणलाई स्वीकार गर्दिनँ भन्ने पनि पार्टी भित्र विराजमान छन्, उनले पनि छुट पाएका छन् । पार्टीले निर्णय गर्छ, निर्णयको मसी नसुक्दै निर्णयको खिलाफमा बोल्नेहरु पनि पार्टी नेताको रुपमा स्थापित छन् र हरेक गलत कुराहरुसँग सम्झौता गर्दै थामथुम पार्दै अगाडि ल्याउँदै गर्ने जुन काम गरियो त्यो बेठीक अभ्यास थियो र यो बेठीक अभ्यासले अराजकता चुलिएको छ । यसलाई निर्ममतापूर्वक चिर्नुपर्छ ।
० एमालेलाई सही दिशामा लान तपाइँहरुको भूमिका के हुन्छ ?
एमालेको आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार एमालेभित्र विचारको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै समस्या छैन, मात्रै नेतृत्वको छनोटको लागि निर्वाचन भएको थियो । विचारमा वहस पनि भएन, जवजलाई नेपाली क्रान्तिको सिद्धान्त मान्ने भन्ने साझा निस्कर्षको आधारमा पार्टी अगाडि बढ्यो तर यतिबेला नेकपा एमालेभित्र गम्भीर सैद्धान्तिक, वैचारिक समस्या उत्पन्न भएको छ । उग्र वामपन्थी अतिवादी दृष्टिकोण र दक्षिणपन्थी अतिवादी दृष्टिकोणबाट जबजको व्याख्या गर्न थालिएको छ, यो बेठीक कुरा हो । जबजलाई ठिक ढंगले बुझ्ने र व्याख्या गर्ने गरिएन भने व्यक्तिले आफू अनुकुल व्याख्या गर्ने खतरा बढेर जान्छ । एमालेमा विचारका सर्न्दर्भमा देखिएका समस्या पनि यही हो, जब विचारको बुझाईमा एकरुपता हुँदैन भने कार्यक्रम र कार्यशैलीमा एकरुपता हुने कुरै भएन । यो रोगबाट हामी यतिबेला ग्रसित बनेका छौं । जबजको कार्यक्रमलाई अगाडि बढाउने र सर्न्दर्भमा वर्तमान राजनीतिक अवस्थालाई विश्लेषण गर्ने सर्न्दर्भमा दुइवटै अतिवादबाट एमालेलाई मुक्त गराउनुपर्ने छ । पार्टी महाधिवेशनले पारित गरेका सिद्धान्त र कार्यक्रमहरुलाई एकमना एकताका साथ अगाडि बढाउने प्रण नेतृत्वले गर्नुपर्यो अनि मात्र पार्टी बलियो हुनसक्छ । पार्टी बलियो भए मात्र नेता बलिया हुनसक्छन् । पार्टीका नेतालाई बलिया बनाउनका निम्ति हामी नयाँ पुस्ताले यस हिसाबले अभियान थाल्नुपर्नेछ ।
० एमालेभित्रका समस्याको निकास के हो भन्ठान्नु हुन्छ ?
- पहिला नेताहरु नीतिप्रति स्पष्ट हुनुपर्यो, जबजलाई बुझ्ने र व्याख्या गर्ने सन्दर्भमा एकरुपता हुनुपर्यो । यसलाई कुनै पनि अतिवादी कोणबाट बुझ्नु भएन । जबजको मर्म र भावनालाई ठीक ढंगले नेतृत्वले आत्मसाथ गर्यो र जबजको सिद्धान्तद्वारा निर्देशित कार्यक्रमलाई बोक्ने सन्दर्भमा पनि स्पष्ट दृष्टिकोण र अडानका साथ अगाडि बढ्यो भने धेरै समस्याहरु हल हुनेछन् ।
० एमालेको आफ्नै पहिचान के हो भन्ने लाग्छ ?
- नेकपा एमालेको आफ्नै गौरवमय इतिहास छ । जनताको बहुदलीय जनवाद जस्तो नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरेको छ । नेपाली क्रान्ति सम्पन्न गर्ने सन्दर्भमा सुस्पष्ट विचार र दृष्टिकोणहरु छन्, जुन यतिबेला नेपाली राजनीतिको अपरिहार्यता बनेको छ । यही नै नेकपा एमालेको सही पहिचान हो ।