अप्रत्याशित रूपमा अफगानिस्तान भ्रमणमा पुगेका इंग्लिस फुटबलर डेबिड बेकह्यामले सो मुलुकमा ब्रिटिस सेनाले गर्दै आएको \'अदितीय\' कार्यका लागि सम्मान व्यक्त गरेका छन् ।झन्डै नौ हजार ब्रिटिस सैनिक रहेको हेल्मान्ड प्रान्तस्थित बास्टियोन क्याम्पमा उनले सैनिकहरूसँग तस्बिर खिचाउनुका साथै अटोग्राफ पनि दिएका थिए ।
४५ डिग्री सेल्सियस प्रचण्ड गर्मीमा बेकह्यामले क्याम्प निरीक्षण गर्नुका साथै हतियार चलाउने सामान्य कलासमेत सिके । अनि गोर्खाली सैनिकसँग फुटबलको मजा पनि लिए ।
\'यहाँहरूलाई थाहा छ ? म एक रातका लागि मात्र यहाँ आएको छु, तर मैले आशा गरेभन्दा बढी अनुभव बटुलेको छु,\' बि्रटिस फोर्स न्युज (बिएफबिएस) लाई बेकह्यामले बताए, \'सेनाको आत्मविश्वास देख्दा वास्तवमै खुसी लाग्यो । अफगानिस्तान आउन सैनिक विमानमा चढ्नेबित्तिकै त्यो अनुभव सुरु भयो । सेनाको अनुहार हेर्दा उनीहरू परिवारसहित नै छन् कि जस्तो लाग्यो, तर उनीहरू आफ्नो लक्ष्यमा केन्द्त छन् तथा उनीहरूको आँखामा आत्मविश्वास झल्कन्छ, त्यो वास्तवमै कल्पनाभन्दा बाहिरको क्षण थियो, यसले खुसी पनि दिलायो ।\'
अफगानिस्तान पुगेपछि बेकह्यामले दिनको सुरुवात कुकहाउसमा गएर \'इंग्लिस ब्रेकफास्ट\' बाट गरे । त्यसपछि सैनिकहरूसँग प्रश्नोत्तर गरे, अटोग्राफमा हस्ताक्षर गरे अनि क्याम्पको अस्पतालमा पुगे । अस्पतालको आकस्मिक कक्षकी प्रमुख स्क्वाड्रलन लिडर साराह चार्टरले आफ्ना कामका बारे बेकह्यामलाई जानकारी गराइन् ।
उनले भनिन्, \'यो भ्रमणले यहाँ रहेका सबैलाई गौरान्वित बनाएको छ ।\' यो भ्रमणले यस्तो वातावरणमा काम गर्ने सबै सम्मानित भएका छन् । हामी यहाँ जीवन रक्षाका लागि लागेका छौँ, तथा घर फर्किएपछि बेकह्यामले हाम्रो कामबारे सबैलाई बताउनेछन् ।\'
क्राफ्टम्यान बब फ्लोले डनकास्टरबाट बेकह्यामलाई हतियार चलाउन सिकाए । त्यसवेला उनले साना तथा ठूला हतियारका साथै मेसिनगनसमेत चलाउने सामान्य कला सिके । ४५ डिग्री सेल्सियसको गर्मीमा क्याम्प फर्किएपछि उनी ४० जना कमान्डोका साथ हेडक्वार्टर पुगे । त्यहाँ उनले वरिष्ठ सैनिक अधिकृतसँगै पौडी पोखरीमा खुट्टा चिसो बनाए । साथै उनी रोयल गोर्खा राइफल्सको पहिलो बटालियन बसेको क्याम्प पनि गए ।
त्यहाँ गोर्खा सैनिकहरूको चुनौतीपछि पेनाल्टी हाने, उनले प्रहार गरेको एकमात्र पेनाल्टी गोलमा परिणत भएको थियो । घर फर्किएपछि बेकह्यामले जानकारी गराए, \'म त्यहाँ पुग्नुअघि मात्रै बि्रटिस सैनिकहरू मारिएका थिए, क्याम्पमा पुग्दा झन्डा आधा झुकाइएको थियो, वातावरण तनावपूर्ण थियो । त्यस्तो वातावरणमा पनि मैले सबैबाट माया पाएँ । त्यहाँ कामका लागि भयपूर्ण वातावरण छ । तर, मैले जीवनमा भेटेकामध्ये उनीहरू नै सबैभन्दा बहादुर लागे । वास्तवमा म हृयदयदेखि नै उनीहरूको सम्मान गर्छु ।\'
त्यसअघि बेकह्यामले अफगानिस्तानबाटै आफ्नी पत्नी भिक्टोरिया बेकह्यामलाई फोनबाट त्यहाँको जानकारी गराएका थिए । साथै उनले त्यहाँका सैनिकसँगको कुराकानीमा इंग्ल्यान्डले यसपालि फिफा विश्वकप जित्नसक्ने सम्भावना रहेको बताए ।