उजुर राई
किराँत राईहरूले प्रमुख चाडका रूपमा मान्ने चाडमा उभौली (वैशाख पूणिर्मा) र उधौली (मङ्सिरे पूणिर्मा) साकेला पर्व हो । किराँतको देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पतिसँगै सो चाड मानिँदै आएको किराँत राईका पुर्खाको भनाइ छ ।
बाली लगाउने समयमा वर्षा प्रशस्त होस्, दैवीप्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधि नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली र अन्नबाली पाकिसकेपछि प्रकृतिबाट धनधान्य एवं सुखशान्ति प्राप्त भयो भन्ने सन्देश दिन र आउने समयमा पनि यस्तै रहोस् भन्ने कामना सहित उँधौलीमा आफ्ना पितृ र प्रकृतिको पूजा गर्ने चलन रहेको त्रियुगा नगरपालिका २ उदयपुरका दीपशेर राई बताउनुहुन्छ ।
साकेला आफ्ना पितृप्रति श्रद्धान्जलि व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि गरिन्छ । साकेलामा ढोलझ्याम्टा बजाएर सृष्टिका गीत गाउँदै नाचिन्छ । यसमा कोदोको चोखो जाँड, नयाँ अदुवा धान र कुखुराको रातो भाले काटेर प्रकृतिलाई भोग दिने चलन रहेको छ ।
यसमा केराको पात, माटोको भाँडो (बुछालु) र चिण्डो महत्वपूर्ण सामग्रीका रूपमा राख्ने चलन छ । अदुवा किराँत राईहरूको साँस्कृतिक कार्यको महत्वपुर्ण पवित्र पूजा सामग्री भएकाले अदुवाबिनाको कुनै पनि कार्य विधिवत सम्पन्न नहुने जनविश्वास छ ।
साकेला नाच्नु अगाडि राईहरूको पुरोहित (नछुङ)ले भूमिको पूजा गर्ने परम्परा छ । यस पूजामा मकैको बोट, धानको बिउ, कृषि कार्यमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू जस्तै कुटो, कोदालो, झम्पल, हँसिया, खुकुरी, हलोको फालीका साथै अन्य हतियार राखेर पनि पूजा गरिन्छ । यी सामग्री साकेला थानको रुखको फेदमा राखी पूजा समेत गर्ने प्रचलन रहेको छ ।
किराँत समुदायमा प्रचलित भनाइ अनुसार किराँत राईहरूको सृष्टिकर्ता पारुहाङ र सुम्निमालाई खुसी एवं प्रसन्न बनाउन र्सवप्रथम यो नाच नाचिएको थियो भन्ने किराँत बुढापाकाको भनाइ छ ।
त्रियुगा नगरपालिका वार्ड नं. २ गाईघाटका किराँत तराईहरूको संस्कृतिको अध्येता प्रा. कैलाशकुमार राई भन्नुहुन्छ - पारुहाङ्ग र सुम्निमा नै किराँत जातिको आदि पुरुष र स्त्री हुन् । पारुहाङ र सुम्निमाबाट एकसाथ चार सन्तान जन्मिए । ती चार सन्तानमा पहिलो होँछा (मानिस), माहिलो चाप्चा (बाघ), साहिँलो बर्पा (भालु) र कान्छो ल्खिपा (कुकुर) थिए । पारुहाङ्ग र सुम्निमाबाट जन्मिएको जेठा छोराको जवानी बढ्दै जाँदा पानी भित्र बस्ने नाकिह (नाग) को छोरीसँग भेट भएर पछि एकआपसमा बिहे गर्ने निर्णय गरे । छोरी बिदाइ हुन लाग्दा बाबुको वाक्षी दाइजोस्वरूप माग्छे । तर नाकिहँ वाक्षी दाइजो नदिने कुरा बताउँदै उनले यदि तिमीलाई यो वाक्षी चाहिन्छ भने ढोल, झ्याम्टा बजाएर कोदो, साकेला स्योपैयाँ पुजेमा त्यही स्थानमा वाक्षी आएर बस्छ भने । यसले सहकाल ल्याउँछ र सुखशान्ति प्राप्त हुन्छ भने ।
राई अगाडि भन्नुहुन्छ- आजभोलि पनि साकेला पूजापछि नछुङले साकेलाको वाक्षी निकाल्ने गर्छन् । यही अतिप्रचीन मानव सृष्टिको प्रारम्भिक कालदेखि किराँतहरूले ढोल, झ्याम्टा बजाएर साकेला नाच्दै आएको परम्परा भेटिन्छ । साकेला पूजामा नछुङहरू भोग खान नाग आउने बताउँछन् । नाग सन्तुष्ट भएमा त्यस वर्षअन्न बाली प्रशस्त उत्पादन हुने, बाढी पहिरो नलाग्ने, रोगव्याधी नलाग्ने वाणी व्यक्त गर्छन् ।
होँछा र सिकल्यिमाका तीन सन्तान दुइ छोरी तायमा, कियामा र एक छोरा खचिलिपाको जन्म हुन्छ । यिनीहरूको जीवनकालदेखि प्रकृतिका जीवजन्तु चालको अनुकरण र कृषि व्यवसायका विविध कार्यहरूको अनकरण गर्दै अनेक किसिमका सिलीहरूको आविष्कार गर्दै चारी पुज्ने, साकेला नाच्दै पारुहोँ सुम्निमा एवं नाकिहँ र सिक्रिहँमासँग उँभौली वैशाख पूणिर्मा र उँधौली मंसीर पूणिर्मामा रङरी सायकृत (अन्नको सह रहोस् र मनुष्यमा राम्रो होस्) को कामनासहित साकेला नाचिन्छ भन्ने प्रा राईको कथन रहेको छ ।