कालिका खड्का
"मामु पानी खाने, मामु उसले मलाई पिट्यो, मलाई खेलौना चाहियो, घुम्न जाउँ ।" बच्चाको मन न हो, उनीहरूलाई जे देख्यो त्यही चाहिन्छ, यस्तै बच्चाका चाहना र रहर पूरा गर्दैमा फुर्सद छैन-पुष्पा बस्नेतलाई ।
सत्ताइस वर्षीया पुष्पाले असहाय बालबालिकाको सेवा गर्ने उद्देश्यले प्रारम्भिक बाल विकास केन्द्र नामक संस्था खोलेर पैँतीस असहाय बालबालिकाको स्याहारसुसार गर्दै आउनुभएको छ । पैँतीस सन्तानकी आमा पुष्पा अविवाहित हुनुहुन्छ । पुष्पाको मन अरूका सन्तानको मायामा लिप्त भएको छ । उहाँका दैनिकी आफूले पालेका सन्तानहरूकै बीचमा हाँस्दैखेल्दै बित्छ । उहाँले प्रत्येक शनिबार उनीहरूलाई घुमाउन विभिन्न ठाउँ लैजानुहुन्छ । बच्चा न हो छिनछिनमा झगडा गर्छन्, उनीहरूलाई फकाइफुल्याएर राख्न र कुरा गर्न रमाइलो लाग्छ उहाँलाई । पैँतीस सन्तानले आफूलाई "मामु" भनेर बोलाउँदा स्वर्गको आनन्दप्राप्त हुने बताउनुहुन्छ-पुष्पा ।
राजधानीको एक सम्पन्न परिवारमा जन्मिनुभएकी पुष्पा बस्नेतका सम्पूर्ण आवश्यकता परिवारले पुर्याएका थिए । अभिभावकले कुनै कुराको कमी हुन दिएका थिएनन् उहाँलाई । यस्तो सम्पन्न परिवारमा जन्मेर पनि पुष्पाको मनमा यी बच्चालाई पालेर सेवा गर्ने भावना कसरी जाग्यो त ? उहाँले २०६१ सालमा जनता सेन्टर जेल, त्रिपुरेश्वरमा विभिन्न कारणबाट थुनिएका महिलाका बच्चाहरूले एकदमै दुःख पाएको थाहा पाउनुभयो । उहाँलाई ती बच्चालाई आफैले ल्याएर पालौँ भन्ने सोच आयो । त्यसपछि उहाँले जेलका प्रहरी निरीक्षक मीरा चौधरीसँग सम्पर्क गरी ती बालबालिकाका आमाहरूसँग कुराकानी गर्नुभयो ।
सुरुमा त ती बालबालिकाका आमाले उहाँलाई बच्चा दिन मानेका थिएनन्, राम्ररी कुरा बुझाएपछि आफना छोराछोरी दिन राजी भए बालबालिकाका आमाहरू । "सुरुमा चार जना बच्चा ल्याएकी थिएँ, अहिले प्रारम्भिक बाल विकास केन्द्र, चप्पल कारखाना, पिपलबोटमा २५ जना र सुनधारामा १० जना छन्"- उहाँले भन्नुभयो । चार वर्षभन्दा माथि ११ वर्षसम्मका २५ बालबालिका उहाँसँगै बस्छन् । दुइ वर्षभन्दा मुनिका बालबालिका सुनधारास्थित प्रारम्भिक बाल विकास केन्द्रमा बस्ने गरेको जानकारी पुष्पाले दिनुभयो ।
दिल्ली बजार घर भएका पिता पूर्ण बहादुर बस्नेत र सीता बस्नेतकी जेठी छोरी हुनुहुन्छ पुष्पा । सबैले "मामु" भनेर बोलाउँदा गर्व लाग्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँलाई आफूले जन्माउँदैमा मात्र सन्तानको माया लाग्छ भन्ने कुरा सही लाग्दैन । अरूले जन्माएको सन्तानको पनि अत्यन्त माया लाग्छ । "ती बच्चालाई एकछिन देख्न नपाउँदा एक्लो महसुस हुन्छ"- पुष्पा आफ्नो अनुभवन यसरी सुनाउनुहुन्छ । "कहिलेकाहीँ बुबामुमालाई भेट्न डिल्लीबजार जान्छु, अरू पूरै समय केन्द्रमा बच्चाहरूसँगै बस्छु"- पैँतीस सन्तानमध्येका एक छोरी लक्ष्मीको टाउको सुम्सुम्याउदै उहाँले भन्नुभयो ।
अरूका सन्तानलाई आमाको माया र ममता दिएर बसेकी पुष्पालाई उनका परिवारले भने विवाह गर्नुपर्छ भनेर दबाब दिइरहेका छन् । बाबुआमालाई छोरीले विवाह गरिनन् भन्ने चिन्ता पर्न लागेको छ । उहाँ भन्नुहुन्छ -"बाबुआमाले विवाह गर्नुपर्छ भनेर भन्नुहुन्छ तर मैले विहे गर्ने मन छैन भनेर टार्दै आएकी छु । बाबुआमाले भनेको कुरालाई गलन ठान्नुहुन्न उहाँ । उमेर पुगेपछि कसका बाबुआमालाई नलाग्ला र आफ्ना छोराछोरीको विहे र घरजम गरिदिने चाहना । विवाह गर्नु हुँदैन भन्ने पक्षमा म छुइन, मैले विवाह गरेपछि यी छोराछोरीको विजोग हुन्छ" उहाँले थप्नुभयो- "विवाहपछि परिवारमा पूरै स्वतन्त्र हुन पाईदैन, मेरा यत्तिका बच्चा छन्, यिनको हेरचाह गर्न छाडेर म परिवारलाई पूरै समय दिन सक्दिन ।"
उहाँले विवाह भए पनि श्रीमानको घरमा भने बस्ननसक्ने बताउनुभयो । विवाह गरेर श्रीमानको घरमा पूरै समय गृहिणी भएर बस्ने मन छैन उहाँलाई । परिवारलाई समय दिन नसकेपछि परिवारका अन्य सदस्यसँग पनि राम्रो सम्बन्ध नहुने उहाँको भनाइ छ । विवाह गरिहाले पनि यिनै बच्चाहरूसँगै बसेर जीवन बिताउन चाहनुहुन्छ पुष्पा । उहाँले सानो छोरालाई काखमा लिँदै भन्नुभयो-"मेरा यति धेरै सन्तान छन्, मलाई विवाह गर्ने केटाले मासिक दुइ लाख रूपैयाँ कमाएमात्र यी सन्तान पाल्न सकिन्छ" ।
ती बालबालिका तिनका बाबुआमालाई मनाएर लिई आइसकेपछि उहाँले कसरी ती बच्चालाई पाल्ने भनेर केही साथीसँग सरसल्लाह गर्नुभयो । सुरुमा उहाँका सात जना साथीले दश-दश हजार रूपैयाँ सहयोग गरे, उनीहरूलाई बस्ने बासको व्यवस्था उनका बुबाले गर्नुभयो । प्रारम्भिक बाल विकास केन्द्रजस्तै बनाएर यी बालबालिकालाई पाल्छु भनेर आफैले अवधारण बनाएको उहाँले बताउनुभयो । "केन्द्रका लागि म आफैले अहिलेसम्म रु. छ लाखभन्दा बढी खर्च गरिसकेको छु, तर मैले यी सन्तान फाइदाका लागि नभई आत्मसन्तुष्टिका लागि पालेकी हुँ"-उहाँले भन्नुभयो ।
"मेरा दाई र बहिनीले पनि बच्चा पाल्नलाई सहयोग गरिरहेका छन् । बुबामुमा पनि बेलाबेलामा मेरा सन्तानको हेरविचार गर्न आउनुहुन्छ केन्द्रमा"-उहाँले भन्नुभयो । अहिले यी बच्चाका लागि नियमित रूपमा रकम दिएर सहयोग गर्ने व्यक्तिमा आशिष श्रेष्ठ र सुरेश प्रधान हुनुहुन्छ। "सुरुमा मलाई यी बच्चालाई खानलाउन दिन नै गाह्रो भएको थियो, तर अहिले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यक्तिहरूले पनि सहयोग गरिरहेका छन्"- उहाँले बताउनुभयो ।
उहाँले आफू एक्लैले मात्र बच्चाहरूलाई स्याहारसुसार गर्न नभ्याएपछि तीन जना सहयोगी पनि राख्नुभएको छ । आफू बाँचुन्जेलसम्म ती बच्चाहरूको हेरविचार गरेर बस्ने उहाँको इच्छा छ । "आफू बाँचुन्जेल आफैले सो बालविकास केन्द्र सञ्चालन गर्ने र आफ्नो सेषपछि यिनै सन्तानमध्ये एकले सम्हालोस् भन्ने चाहना छ"-उहाँ भन्नुहुन्छ ।
पुष्पाले पालेका सबैभन्दा ठूली छोरी बुटवलकी १४ वर्षीया हेना खान हुन् । धादिङकी १२ वर्षीया लक्ष्मी तामाङ र रौतहटकी १२ वर्षीया रेणु साह हुन् । अरू सबै सानै छन । यी तिनै बालबालिका ओलिभर पब्लिक हाइस्कुल, पिपलबोटमा पढ्दैछिन । लक्ष्मी ७ कक्षामा पढ्दैछिन भने हेना र रेणु चार कक्षामा पढ्दैछिन । अन्य बालबालिका पनि त्यही स्कुलमा पढिरहेका छन् ।
"यी तीनै जनाका आमाहरू जनता महिला सेन्टर जेलमा छन् ।आफ्नी जन्म दिने आमाको माया नपाए पनि हामीलाई भगवानले एउटी कर्म दिने आमा दिएका छन्, हामी खुशी छौं, पढ्न पाएका छौ"-तीनै जनाले एउटै स्वरमा भने । आमासँगै जेलमा बस्नु परेको भए त म अहिलेसम्म पागलजस्तै हुन्थ्यो होला, मामुले हामीलाई आफ्नै आमाको भन्दा बढी माया दिएर राख्नुभएको छ, केही चाहियो भने भन भन्नुहुन्छ" -लक्ष्मीले भनिन् ।
उनीहरूले भविष्यमा पढेर देशका लागि केही गर्ने सपना बोकेका छन् । लक्ष्मीको पढेर भविष्यमा फोटोग्राफर बन्ने, हेनालाई नेपाली सेना बनेर देशको सेवा गर्ने र रेणुलाई डाक्टर बनेर बिरामीको सेवा गर्ने इच्छा छ । सबैभन्दा पहिले उनीहरूलाई छिट्टै आफ्नी आमा जेलमुक्त भएको हेर्ने इच्छा रहेको बताए ।
"यस धर्तीमा जन्मिएपछि केही गरुँ भन्ने मेरो इच्छा हो, मैलेजस्तै धेरै नेपाली युवाले आफ्नै मुलुकमा बसेर देशको सेवा गरुन् भन्ने मेरो चाहना हो" - पुष्पाले विदेशिएका युवालाई इङ्गित गर्दै भन्नुभयो ।
सिविन र सेभ द चिल्ड्रेनको तथ्यांकअनुसार दसवर्षो सशस्त्र द्वन्द्वको समयमा मात्र मुलुकका चार हजार ५३० जना बालबालिकाले आमा या बाबु वा दुवै गुमाएका छन् ।