उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डको टोली विश्वकप फुटबलको पूर्वाभ्यासका लागि बिहीबार दक्षिण अफ्रिका पुगेको छ । इंग्ल्यान्डले उपाधिको दौडमा पहिलो चुनौती पहिलो चरणलाई नै मानेको छ । टेलिभिजनको माध्यमबाट विश्वप्रसिद्ध बनेका इंग्लिस खेलाडीहरू प्रशिक्षक फाबियो कापेलोका साथ जोहानसबर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानै अवतरण गर्दा त्यहाँको मौसम चिसो तथा सफा थियो ।
"म र अन्य टोलीलाई पनि विश्वास छ कि दक्षिण अफ्रिकाले यो विश्वकपलाई सफल बनाउँछ भन्ने । यहाँ आइपुग्दा रमाइलो अनुभूति भइरहेको छ," विमानस्थलमै इटालीका नागरिक कापेलोले भने । प्रिमियर लिगका खेलहरू प्रत्यक्ष प्रसारणबाट हेर्ने दक्षिण अफ्रिकीलाई चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल तथा लिभरपुलका खेलाडीहरू आफ्नै सहरका लागे ।
स्थानीय समर्थकमा हालै गरिएको एक सर्वेक्षणले ब्राजिलपछि इंग्ल्यान्ड दक्षिण अफ्रिकामा घरेलु टोलीपछि सबैभन्दा रुचाइने टोली हो । ११ जुनदेखि ११ जुलाईसम्म हुने विश्वकपमा घरेलु टोली असफल भएपछि ती दुई टोलीले समर्थक कमाउनेछन् ।
खैरो सुटमा सजिएका इंग्यान्डका खेलाडीहरूले दक्षिण अफ्रिका टेकैलगत्तै कडा सुरक्षा घेरामा बस्नु पनि पर्यो । यसअघि नै अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना, डेनमार्क, अमेरिका, उत्तर कोरिया तथा नाइजेरिया दक्षिण अफ्रिका पुगिसकेका छन् ।
विमानस्थलमा अध्यागमनको सामान्य प्रक्रिया पूरा गरेपछि लक्जरी कोचमा चडेर इंग्लिस टोली रुस्टेनबर्ग गयो । गाडीमा जोहानसबर्गबाट झन्डै एक घन्टाको दूरीमा रहेको रुस्टेनबर्गको प्लाटिनम रिचमा इंग्लिस टोली बसेको छ । त्यही स्थानमा रहेको ४५ हजार सिट क्षमताको रोयल बाफोकेङ रंगशालामा इंग्ल्यान्डले १२ जुनमा अमेरिकाविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ ।
६० वर्षअघि अमेरिकासँग बेहोर्नुपरेको दुःखदायी हारको बदला लिने सुरमा समेत इंग्ल्यान्ड छ । त्यसपछि ती दुई मुलुक विश्वकपमा कहिल्यै आमुन्ने-सामुन्ने भएका छैनन् ।
अकल्पनीय रूपमा विश्वकपमा छनोट भएको अल्जेरिया इंग्ल्यान्डको समूहमा सबैभन्दा कमजोर टोली हो । अमेरिकासँगको खेलको ६ दिनपछि केपटाउनमा इंग्ल्यान्डले अल्जेरियासँग खेल्नेछ भने २३ जुनमा पोर्ट एलिजाबेथमा स्लोभानियासँग खेल्नेछ । इंग्ल्यान्डको जितमा यसपालि वाइने रोनीको प्रमुख भूमिका रहने फुटबल पण्डितहरूको दाबी छ ।
पहिलो चरणमा केही गल्ती भएको खण्डमा इंग्ल्यान्डको विश्वकप जित्ने आशामा ठूलै धक्का लाग्न सक्छ । इंग्ल्यान्डको पछिल्लो दुई विश्वकपको यात्रा क्वाटरफाइनलमा नै टुंगिएको थियो । समूह चरणमा दोस्रो भएको खण्डमा इंग्ल्यान्डले क्वाटरफाइनलमा नै जर्मनीको चुनौतीको सामान गर्नुपर्ने सम्भावना देखिन्छ । ४४ वर्षअघि लन्डनमा ४-२ ले जर्मनीलाई हराएयता इंग्ल्यान्डले फेरि सो मुलुकसँग विश्वकपमा भिड्नुपरेको छैन ।
उता कापेलोले इंग्ल्यान्डलाई यो विश्वकपमा सफल बनाएपछि युरो २०१२ को छनोट चरणसम्म आफूले डोर्याउने प्रस्ट पारिसकेका छन् । इंग्ल्यान्डले युरो २००८ को छनोट चरणमा नै असफलता बेहोरेपछि कापेलोले संकटमा परेको टोलीको हात थामेका थिए । स्टिभ म्याकक्यारेनको नेतृत्वमा असफल बनेको इंग्ल्यान्ड अहिले विश्वकप जित्ने दाबेदारमा स्पेन र ब्राजिल पछाडि छ ।
यद्यपि अहिले पनि इंग्ल्यान्डमा म्याकक्यारेन युगका खेलाडीहरू सेन्ट्रल डिफेन्डर रियो फर्डिनान्ड तथा जोन टेरी, मिडफिल्डर प
फ्र्यायांक लाम्पार्ड तथा स्टेभन गेरार्ड तथा स्कोरर रोनी छन् । तर, त्यसवेला र अहिलेको इंग्लिस टोलीको संरचनामा व्यापक परिवर्तन आएको छ । नियम उल्लंघन गर्ने खेलाडीलाई कापेलो सीधै टोली बाहिरको ढोका देखाउँछन् ।
इंग्ल्यान्डको टोलीका साथ डेबिड बेकह्याम पनि बिहीबार नै दक्षिण अफ्रिका पुगे । घाइते बेकह्यामले त्यहाँ प्रशिक्षक कापेलोलाई सघाउनेछन् ।