नारायण अधिकारी
भरतपुर अस्पतालको बालबालिका कक्षमा एउटा अवोध शिशु टुलुटुलु हेरिरहेको छ । भोक लाग्दा ऊ आमाको दूध चुस्न पाउने आशामा अस्पताल नै थर्कने गरी रुन्छ । लाग्छ उसले विषालु च्याउ खाएर यो लोक छाडेकी आमालाई बोलाइरहेको छ ।
आफ्ना बाआमा को हुन् भन्ने होस नभएको उसलाई शिशीमा हालिएको दूध र सेरेल्याक्स खुवाएर एकजना महिलाले मातृवात्सल्य खन्याउँछिन् । आफूलाई जन्मदिने आमा ठानेर त्यो शिशु पनि शिशी सिनित्तै पार्छ र उनकै काखमा लुटुपुटु गर्दै निदाउँछ ।
विषालु च्याउ खाएका कारण आफ्ना मातापितामात्र होइन सबै अभिभावक गुमाएका बालकको सहारा कोहीछैन । बामेर्सन पनि नथाल्दै क्रुर नियतिले उनलाई विशाल संसारमा एक्लै पार्यो । भावीले यस्तै लेखेछन् छैटीमा । कसको के लाग्छ र !
चितवनको विकट पहाडी गाँउ लोथरको काम्दाका ६५ वर्षीय बाबुराम प्रजाका यी दश महिने नाति संसरबहादुर बाहेक सबै परिवारको विषालु च्याउका कारण मृत्यु भएपछि अहिले
उनीमात्र जीवित छन् । बाबुराम, उनकी श्रीमती मतिमाया र नातिनी आईतिमायाको घरमै मृत्यु भयो भने जेठो छोरा पूर्णबहादुर, बुहारी चन्द्रमाया, माईली बुहारी मञ्जुमाया र नातिनी मङ्गलीमायाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्युभयो । माइला छोरा जितबहादुरको काठमाडौंमा मृत्यु भएपछि यो बालक बाहेक यस परिवारमा अरु कोही छैनन् ।
त्यस दिन यो अवोध बालकले आमासँगै एकदुइ गाँस खाना खाएपछि उसलाई पनि हल्का विष लागेको थियो । तर ऊ अव खतरामुक्त छ तर उसको जिम्मा कसले लिने भन्ने अन्योल छ । छिमेकी गीतामाया प्रजाले सबैसँग चन्दा मागेर अहिले अस्पतालमा उसको उपचार गराइरहेकी छन् ।
चन्दा उठेको रू. एकहजार ५०० पनि सकिने बेला भयो, अब के गर्ने ? गीतामाया पनि सहयोगको खोजीमा छिन् । अस्पतालमा गत पाँच दिनदेखि उनलाई कसैले पालो दिएको छैन । देओस् पनि कसले ? परिवार कोही छैन । उनले दुःखित् हुँदै भनिन् - यो बालकलाई हुर्काइदिन पाए परिवार मासिने थिएन । चिनेकाहरूसँग बालआश्रमको खोजिगरिरहेको भए पनि नपाएको उनले दुःखेसो पोखिन् ।
बच्चाले आमा भन्दा उनको मन काटिन्छ । "तैपनि सम्हालिन्छु, यसलाई कुनै राम्रो ठाउँमा जिम्मा लगाउन पाए शान्ति हुन्थ्यो" उनको आशा छ । "देशमा ठूलावडाका लागिमात्र सहयोग हुन्छ, हामीजस्ता सानातिनालाई कसले हेर्ने ?" उनको गुनासो छ ।
एउटै परिवारका आठजनाले ज्यान गुमाउँदासमेत राज्यका सम्बन्धित निकायले चासो नदिँदा स्थानीय प्राथमिक विद्यालयका प्राचार्य बालकृष्ण थपलिया पनि आश्चर्यचकित र चिन्तित छन् ।
बिरामीलाई चौबिस घण्टापछि बल्लतल्ल अस्पतालसम्म ल्याउन सकेका प्राचार्य थपलिया पनि बचेको यो बालक कसले हेर्ने चिन्ता ब्यक्त गर्दछन् । "पत्रपत्रिकाले यी बालकको बारेमा लेखिदिए कसैले सहयोग गर्थ्यो कि" उनले आग्रह गरे । अस्पतालले बच्चालाई भोलि डिस्चार्ज गर्दैछ । कहाँ लाने,के गरेर पाल्ने ? उनको चिन्ता छ ।
अरु चेपाङ परिवारभन्दा यो परिवार सम्पन्न थियो । बर्षौभरी खान नपुगे पनि धेरै महिना बारिकै उब्जनीले उनीहरू पालिन्थे । स्थानीय बासिन्दाका अनुसार उनीहरूको घरमा दश वटा गाई, पाँचवटा सुँगुर, पाँचवटा बाख्रा र सातवटा कुखुरा थिए । तिनीहरूको पनि विचल्ली भएपछि छिमेकीहरूले अहिले हेरिदिएका छन् । यद्यपि ती वस्तुभाउ के गर्ने भन्ने निधो भएको छैन ।
उपचारकै अभावमा त्यो परिवारले ज्यान गुमाउनुपरेको हो । राजमार्गबाट आठ घण्टाको हिडाइपछि काम्दा पुगिन्छ । उपचारमा सम्लग्न चिकित्सकका अनुसार समयमा अस्पताल ल्याउन नसक्दा उनीहरूलाई बचाउन नसकिएको हो । डा. कालिदास अधिकारी "समयमा अस्पताल आउन सकेको भए बचाउन सकिन्थ्यो" भन्नुहुन्छ । विषालु च्याउ खानहुन्न भन्ने सन्देश फैलाउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम अहिलेसम्म बिरामीको उपचारमा लागेको बताउँदै अब बालकलाई के गर्ने भन्ने बारेमा छलफल गर्ने बताउनुहुन्छ । मृतकका परिवारलाई क्षतिपूर्तिको पहल र बालकलाई संरक्षण गृहमा पठाउन पहल गरिने उहाँको भनाइ छ । विषालु च्याउ नखान सन्देश प्रवाह गर्न जनस्वास्थ्यलाई निर्देशन दिएको पनि उहाँले बताउनुभयो ।