काठमाडौ १३ जुन, ३० जेठ / लियोनेस मेसीले प्रभाव पारे पनि गोल गर्न नसकेको खेलमा दाबेदार मानिएको अर्जेन्टिनाले नाइजेरियालाई १-० ले पराजित गरी विश्वकपमा राम्रो सुरुवात गरेको छ। विश्व वर्ष खेलाडी मेसीले आफ्नो उत्कृष्ट फर्मलाई कायमै राख्दा दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनाले नाइजेरियामाथिको खेलमा वर्चस्व जमाएको थियो। तर ५५ हजार ६ सय ८६ हजार दर्शकका अगाडि खेलको एकमात्र गोल रक्षक ग्याब्रियल हाइन्जले गरे।
हुवाँ सेवास्टियन भेरोनको कर्नरमा हाइन्जले डाइभिङ हेडमा सानदार गोल गरेका थिए।
दक्षिण अफ्रिकी विश्वकपमा पहिलो गोल गर्ने मेसीको प्रयासमा नाइजेरियाका गोलरक्षक भिन्सेन्ट इन्येएमा बाधक बने। उनले मेसीसहित गोन्जालो हिगुइनका प्रहारलाई बचाइ अफ्रिकी टोलीको आशा बाँधिरहदा नाइजेरियाले दोस्रो हाफमा अर्जेन्टिनी रक्षापंक्तिलाई हल्लाएको थियो।
विश्वकपमा अर्जेन्टिनाको नाइजेरियामाथि लगातार तेस्रो विजय हो। १९९४ मा नाइजेरियालाई २-१ ले हराएको अर्जेन्टिनाले २००२ मा १-० को विजय हात पारेको थियो। १९९८ मा बुल्गेरियालाई १-० ले पराजित गरेयता नाइजेरियाले विश्वकपमा विजय हात पार्न सकेको छैन।
समूह "बी" को अर्को टोली दक्षिण कोरियाले पनि उत्कृष्ट सुरुवात गरेको छ। एसियन हस्तीले पूर्वयुरोपियन च्याम्पियन ग्रिसमाथि २-० को विजय पायो। ली जुङ सु र कप्तान पार्क जी सुङले दुबै हाफमा गरेको १/१ गोलमा दक्षिण कोरियाले विदेशी भुमिको विश्वकपमा दोस्रो विजय हात पार्यो। पराजयपछि ग्रिसको यात्रा निकै कठिन बनेको छ।
ग्रिसका खेलाडीहरू अग्ला भए पनि कोरियाको जब्बर रक्षापंक्तिलाई भत्काउन सकेनन् र कोरियाले छनोट चरणको अपराजित यात्रालाई कायमै राख्यो। दोस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको ग्रिसले १९९४ को विश्वकपमा पनि सबै तीन खेल हारेको थियो।