अनिल पाण्डे
राष्ट्रभक्ति र देशभक्तिबीच कति भिन्नता छ त्यो राजनीतिशास्त्रका ज्ञाताको जिम्मामा छोडेर यो पक्तिकार नेपालीमा यी दुवै गुण हुनुपर्छ भन्ने मान्यता मात्र प्रकट गर्न चाहन्छ ।
हाम्रो समाजमा एक नेपालीले अर्कोलाई कुनै पनि बहानामा न्यूनीकरण गर्ने वा होच्याउने अवसरको सदुपयोगु गर्नु स्वाभाविक बनेको छ । एकले अर्कालाई राजनीतिक पार्टी र कुनै वादका आधारमा खण्डीकृत गर्ने र तँभन्दा म योग्य व्यक्ति भनेर सावित गर्ने अभ्यासमा जुटेको पाइन्छ । नेपाली कांग्रेस, एमाले, माओवादी, राजावादी वा यस्तै विशेषण लगाएर काडाकाड गर्ने प्रवृत्ति मुलुकमा जुनसुकै व्यवस्था आएपनि कायम छ । स्थायी चरित्रका रुपमा यस प्रवृत्तिले मौलाउने अवसर पाएको छ ।
के यस प्रवृत्तिले नयाँ नेपाल निर्माण होला अवश्य हुँदैन । हामीले न्यूनतम आधार खडा गरेर सम्पूर्ण नेपालीलाई समेट्ने उदार मनस्थितिको विकास गर्नैपर्छ । कुनै नेपाली कम्तिमा नेपाल र नेपालीको उन्नति र समृद्धिका लागि आपुनो क्षेत्रबाट विवेकको प्रयोग गरिरहेको छ भने कुनै राजनीतिक विचार वा शासन पद्धतिप्रतिको आस्थाका कारण उसलाई अपमान गर्ने सोच सबैका लागि घातक छ । आपुनै उदाहरण दिएर पक्तिकार प्रष्ट पार्न चाहन्छ । यसले मुलुकमा राजतन्त्र हुँदा होस् छयालीस सालयताको बहुदलीय पद्धतिको शासनमा होस् वा माओवादीको नेतृत्ववाला सरकार चलिरहेको अवस्थामा किन नहोस् नेपाल र नेपालीका लागि दुई शव्द बोल्ने-लेख्ने र दुई डलरको सहायता पुर्याउने अभ्यास त्यागेको छैन । त्याग्नेवाला पनि छैन । श्रमको खोजीमा आज अमेरिका आएपनि यसको मेहनतको प्रतिफल आफ्नै जन्मस्थलमा पुग्नुपर्छ भनेर यसले लबी गर्दै आएको छ ।
एनआरएनले नेपाली नागरिकता र लगानीको अवसर पाउनुपर्छ भनेर यसले आपुनो विचार प्रकट गरेको र पैरवीको स्तरमा आएर कुरा अघि बढाएको पनि कति शुभचिन्तकलाई थाहा छ । यसलाई लाग्छ यसले अन्तस्करणबाट नेपाल र नेपालीको पक्षमा सोचिरहेको छ । के सामान्य नेपाली भएर बाँच्न यसको यो सोच पर्याप्त छैन र ?
हिजो केही राजनीतिक दलभन्दा पनि राजालाई देशभक्त पाएकाले यसले सोही अनुसार अभिव्यक्ति प्रकट गरेको सत्य हो । वस्तुवादी भएर बोल्न मन पराउने यस पक्तिकारले माओवादीदेखि विभिन्न राजनीतिक पार्टीका देशभक्तिपूर्ण कामको प्रशंसा र कमजोरीको खुलेर आलोचना गरेको छ । भोलि मात्र होइन बाचुन्जेल यसले यो अभ्यास छोड्दैन । लोकतन्त्र र मानवअधिकारको मार्गलाई यसले सदा सम्मान तथा अनुशरण गर्छ र आज देखिएका राजनीतिक दलहरुमध्ये उनीहरुको कामको आधारमा बढी देशभक्त देखिएको पार्टीको निकट बसेर काम पनि गर्छ ।
तर यसरी प्रष्ट हुनु र पारदर्शितालाई स्वीकार गर्नु आलोचनाको विषय नबनोस् यसको यत्ति मात्र विनीत आग्रह हो ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढिसकेको नेपाली जनताले यसलाई समयको आवश्यकता ठहर गरिसकेको बेला राजास्वयंले जनताको चाहना नै मेरो चाहना हो भनेर स्वीकार गरिसकेको समयमा कसैले राजतन्त्र नै फर्काउन खोज्छ भने ऊ प्रतिगमनकारी नै हो । समयको मागलाई बुझ्नु नै वैज्ञानिकता हो । जस्तो भेरिएबल्स नै बदलिएको अवस्थामा अनुसन्धानकर्ताको निष्कर्ष बदलिनु अवैज्ञानिक हुँदैन ।
जहाँसम्म मानवीय कमजोरीका कुरा छन् यो पक्तिकारमा पनि हुनसक्छन् । तर त्यसलाई पहाड बनाउने अभ्यासले नयाँ नेपाल बन्न सक्तैन ।
यस पक्तिकारले सन्दर्भअनुसार आपुनै उदाहरण दिए पनि यो सबैका लागि लागू हुने नियम हो भन्ने कुरामा यो विश्वस्त छ । खासगरी परदेशी बनेका नेपालीले एक-आपसमा एकता प्रदर्शन गर्ने मान्यता बनाउँनुपर्छ ।
यस कार्यमा हामी सफल हुनसकौं यही शुभकामना ।
anil pandey
president
Motherlandnepal
www.motherlandnepal.org