१९ औ विश्वकप फुटबलको ट्रफी स्पेनले चुमेको छ । आन्द्रेज इनिस्टाले अतिरिक्त समयमा गरेको गोलमा स्पेनले विश्वकप फुटबलको उपाधि जितेको छ। १९ औ विश्वकप फुटबलको अन्तिम लडाइस्वरूप सोमबार राति सवा १२ बजेदेखि दक्षिण अफ्रिकाको, जोहानेसबर्गमा युरोपियन दुई महारथी राष्ट्र स्पेन र नेदरल्याण्डबीच भएको महासंग्राममा स्पेनले १-० को जितसहिद पहिलो पटक विश्वकप जितेर इतिहास रचेको छ ।
स्पेनको दवावका बीच नेदरल्यान्डको कडा प्रतिरक्षाका कारण ३० मिनेट समय थप गर्नुपरेको थियो । खेलको ११६ औ मिनेटमा स्पेनको लागि आन्द्रेज इनिस्टाले गोल गरेका थिए जसले स्पेनको भाग्यको फेसला गर्यो । फाइनलको हार सँगै नेदरल्यान्ड उपविजेता बनेको छ । खेल सकिए लगत्तै स्पेनका खेलाडीहरू खुसी मनाउँदै प्रशीक्षकलाइ उचालेका थिए भने नेदरल्यान्डका खेलाडी स्नाइडर गहभारि आँसु पार्दै मैदानमा थचक्क बसेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा कुनै गोल नभएकोले थप ३० मिनेटको खेल समाप्त हुन ४ मिनेट अगाडी सेस फाब्रिगासको पासमा इनिस्टाले सेकेन्ड बार चाप्दै गोल गरेका थिए। स्पेनले विश्वकपको उपाधि पहिलो पटक जितेको हो। स्पेन अर्को महादेशमा गएर विश्वकप उचाल्ने पहिलो युरोपेली राष्ट्र पनि बन्यो।
स्पेन सबै भन्दा कम गोल गरेर विश्व च्याम्पियन बन्यो । स्पेनले प्रतियोगितामा ८ गोलमात्र गर्यो। १९६६ मा इङ्ल्यान्ड र १९९४ मा ब्राजिलले विश्वकप जित्दा यसअघिको सबै भन्दा कम ११ गोल गरेको थियो ।
युरोपियन च्याम्पियनसिप र विश्वकप लगातार जित्ने स्पेन दोस्रो राष्ट्र हो। यसअघि १९७२ मा युरोपियन च्याम्पियनसिप जितेको पश्चिम जर्मनीले १९७४ मा विश्वकप जितेको थियो। यसअघि दक्षिण अमेरिका र यूरोपले ९र९ पटक विश्वकप जितेका थिए ।
यो जितसगै विश्वकपमा यूरोप १० पटक विजयी बनेर दक्षिण अमेरिकालाई पछाडि पारेको छ । यूरो कप र विश्वकप दुवै जित्ने स्पेन दोस्रो राष्ट हो । यसअघि जर्मनीले सन १९७४ मा विश्वकप र १९७२ मा यूरो कप जितेको थियो । भने स्पेनले २००८ को यूरो कप जितेको थियो ।
दुवै राष्ट्र उपाधिको दाबेदार मानिएका ब्राजिल र जर्मनीलाई नकआउट चरणमा पाखा लगाउँदै अन्तिम २ मा पुगेका थिए । ९० हजार दर्शक अट्ने सकर सिटी रङ्गशालामा १९ औ विश्वकपको अन्तिम लडाइका लागि यी दुइ देश आमने-सामने भएका थिए ।
स्पेनमा विश्वका चर्चित स्पेनिज लिग जस्ता लोकपि्रय क्लबस्तरीय प्रतियोगिता हुँदै आएको भए पनि सन् १९५० को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेपछि फाइनलमा स्पेन पहिलो पटक पुगेको थियो । सन् १९७४ मा जर्मनीसँग र १९७८ मा अर्जेन्टिनासँग फाइनलमा पराजित हुदै उप विजेतामा चित्त बुझाएको नेदरल्याण्डले तेस्रो पटक उपाधिका लागि युरो विजेता स्पेनसँग भिडेको थियो । तर, यसपाली पनि पुरानै हैसियतमा उसले चित्त बुझाउनु पर्यो ।