हालैको एकदिन काभ्रेको बनेपामा जनमत साहित्य वाटिकाले आयोजना गरेको एक कार्यक्रममा उनले ठुलो आवाजमा कविता सुनाएकी थिएन् । उनका कवितामा नारी संवेदना अटाएको थियो । स्वतन्त्रता प्रति नारीको सपना उनीएको थियो । नारीको स्वतन्त्र बँच्ने सपना । नाम धेरै सुनिएपनि पंक्तिकारले उनलाई देखेको पहिलोपटक हो ।
शारीरकि रुपले अपाङ्ग उनै राधिका दाहाल मानसिक रुपले सशक्त रहिछन् । आफु ७ बर्षको हुँदा दसैंको बेला पिङबाट खसेर यिनि अपाङ्ग भएकी रहिछन् । त्यसयता यिनी कहिल्यै आफ्नो गोडामा हिंड्न पाइनन् । र आजपर्यन्त यिनको साहरा बनेको छ हृविलचियर । हृविलचियरमा रम्नु यिनको जिन्दगी हो । "जिन्दगीले मान्छेलाई कता डोर्याउँदोरहेछ,तर जस्तो भएपनि मान्छे बाँच्न चाहँदोरहेछ ।" गफ गर्दागर्दै भावुक बनेकी यी लखिकाले भनिन् ।
सिन्धुलीमा आजभन्दा २७ बर्षघि राधिका दाहाल नामको पात्र यस धर्तिमा आएको थियो । तर यीनको कर्मथलो भने काभ्रेको जनगाल उग्रतारा बन्यो । आफु शारिरीक रुपले अपाङ्ग बनेपछि उनको जीवन साह्रै कष्टकर बन्यो । उनलाई कष्ट र पिडाको जिन्दगी पनि यति चाँडो बितिहाल्ला भन्ने थिएन तर बितिगएछ । "सायद जिन्दगी बाँच्न सहज भएको भए मलाई समयको ख्याल हुन्नथ्यो ।"आज जिवनका ३ दसक पछाडि फिर्दै हेर्दैछिन यिनी ।
आफु हृविलचियरमा बसिरहँदा गाउँका साना सहपाठी आफ्नै आँगनमा आएर खेलेको यिनलाई सम्झना छ । "मलाई पनि कत्ति खेल्न मन लाग्थ्यो नि,त्यसबेला आफैंलाई देखेर म कयौंपटक रोएको छु ।" उनले भनिन् । आफ्नो शारिरिक अवस्थाले उनले स्कूलको औपचारीक अध्ययन पनि गर्न पाएकी छैनन् । "अरु सबै साना हरु पढ्न जान्थे,आफु भने एकोहोरो घर पारी क्षितिज हेरेर बसिन्थ्यो ।" सानाका क्षण यिनी यसरि सम्भिmन्छीन् "आफु केहि गर्न नसक्ने पिडाले भित्रभित्रै रुन्थें,र त्यसबेला मुखमा कलम च्यापेर लेख्ने प्रयास गर्थें ।" अक्षर चिनेर पढ्न थालेपछि उनलाई लेख्नतिर ध्यान जान थाल्यो । र लेख्न थालिन कविता । त्यसयता यिनी लेखिरहेकी छिन्,निरन्तर ।"अब त लेख्नुनै जिन्दगी हो जस्तो लाग्न थाल्यो ।" उनी भिन्छीन "किन हो,पहिल्यैदेखि मलाई नारीहरु समाजका हरेक पाटोबाट पिछडिएको लाग्थ्यो । र आफ्ना साहित्यमा पनि नारी संवेदनालाई उठाउँछु ।:"
उनी आफ्ना साहित्यमा नारीलाई प्रमुख विषय बनाउँछिन् । नारी संवेदनालाई टपक्क समात्छिन् । उनी पुरुषलाई एउटा सेतो कोट भित्रको षडयन्त्र देख्छिन् ।
जिवनलाई संघर्ष देख्ने यिनी कहिले लेखीका भइन उनलाई पत्तै रहेनछ । तर अशक्त जिन्दगीमा यिनले साहित्यका थुप्रै विधाको स्वाद लिइन् । यिनले गित,कविता,कथाका साथै उपन्यास पनि लेखिन् । र आफुलाई चिनाइन् ,सबैको सामु । यिनका धेरै विधामा साहित्यिक कृति प्रकाशित छन् । उनका "जीवनका जराहरु" गीतीसंग्रह ,"जीवनलाई नियाल्दा" कवितासंग्रह , "पागल आमाहरु" कथासंग्रह र "पल्लो घरकी बूढी फुपू" उपन्यास प्रकाशित छन् ।
"यी कृतीहरुमा समाजका हुनेखाने र गरिखाने वर्गलाई समेटेको छु" उनी भन्छिन् "समाजले अरुलाई हेपेको मलाई भित्रदेखि चित्त दुख्थ्यो र त्यहि दुखाई थाहै नपाई साहित्यमा प्रयोग भएछ ।"
उनलाई आफुले पढेका साहित्यमध्ये सबैभन्दा बढि विश्वेश्वर प्रसाद कोइरालाको साहित्यले मन छोएको रहेछ ।"हाल उनैको उपन्यास पढिरहेको छु ,उनको दोषी चश्मा कथाले खुब छोएको थियो ।" उनले भनिन् । राधिका दाहालले यो जिवनमा विवाह नगर्ने सोच बनाएकी छिन् । एक्लै कसरी जीवन चल्छ ? "मेरो साथमा यो साहित्य छ नी,यहि हो मेरो जीवनको साहरा" उनी भन्छिन् । यो छोटो साहित्यीक जीवनमा उनले थुप्रै आरोह अवरोह भोगेकी छिन् ।
"आर्थिक दुरावस्थाका दिनहरु नजिकबाट देखेकी छु" उनले भनिन् । उनले जिवनरुपी यन्त्र चलाउन एउटा पेशा अंगालेकी छिन् । उनले आफ्नै सक्रियतामा "राधिका रिह्याविटेशन सर्भिस" खोलेकी छिन् । जहाँ उनी समाजका बेरोजगार महिलाहरुलाई स्वाबलम्बन बनाउँछिन् । उनी त्यस संस्थामा महिलाहरुलाई मैनबत्ति बनाउने तालिम लगायत अरु पनि तालिम पनि दिन्छीन् । "अरु आमा दिदी बहिनीहरुको लागि केहि गर्न सकें भने मेरो मन खुसी हुन्छ ।"उनले भनिन् ।
आफ्ना कृतिहरु उच्चकोटीमा भने नरहेको उनलाई बोध रहेछ । लेखेर के भयो ? "अरु त केहि होइन मनमा सन्तुष्टी भयो ।" उनी मन बुझाउँछिन् । नेपाली साहित्यमा पाठक थोरै भएकोमा उनी दुःख व्यक्त गर्छिन ।"हाम्रो साहित्य हामीले नै नपढे हाम्रो आफ्नो पहिचान कहाँ रहन्छ र ?" उनले भनिन् ।
"समाजका तिनै व्यक्तिहरुलाई सजाय दिनुपर्छ ,जसले पल्लो घरकी बूढी फुपूहरुजस्तालाई उनीहरुका हरेक चाहना र रहरमाथि अङ्कुश लगाई जीवनभरि मानसिक यातना दिन्छन् । अहिले एक्काइसौं शताब्दीका पुरुषले पनि दयाको रुपमा यति भाग मात्र तंलाई भन्दैछन् ।" यसरि उनले समाजले उब्जाएको परम्परागत प्रयोगलाई आउँदो पुस्ताले पछुतो मान्नुपर्ने र यसप्रती सजगता अपनाउनुपर्ने भन्दै आफ्नो उपन्यास "पल्लो घरकी बूढी फुपूमा"आफ्ना दृष्टिकोण व्यक्त गरेकी छिन् । उपन्यासकार भन्छिन्,"ए बाबुको नाममा संसार चलाउन खोज्ने छोरा हो, सुन, अब आमाबिनाको संसार रच र एक्लै बस । त्यो असम्भव देख्छौ भने आऊ, हातेमालो गर ।" यसरी उनी आफ्ना उपन्यासमा नारीको मुक्तिप्रतिको चाहना व्यक्त गर्छिन् र नारीसंवेदनाप्रति पुरुषको ध्यान आकषिर्त गर्छिन् ।
"अब समय भाग लगाउँदै सिर्जनाभित्र सजग हुनेछु" उनी भन्छिन्,"र आफ्ना सिर्जनामा आफुलाई बगाईरहन्छु ।" उनी गीतमा आफुलाइ व्यक्त गर्न रुचाउँछिन,र छुट्नेबेला पंक्तिकारलाई यी गीत सुनाइन,।
को छ र मेरो आफन्त भन्ने
कोसँग रिसाउँ
कहानी मेरो मैसंग दुख्छ
त्यो कसलाई सुनाउँ...