अमेरिका, २६ जुलाई / दक्षिण चीनका उच्च रणनीतिक महत्वका विवादित समुद्री टापुमा प्रत्यक्ष चासो देखाएर अमेरिकाले चीनलाई नयाँ कूटनीतिक चुनौती दिएको छ।
भियतनामको राजधानी हनोईमा शुक्रबार भएको एसिया क्षेत्रीय सुरक्षा बैठकमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले दक्षिण चीनका समुद्री टापुहरूको विवाद आफ्नो "उच्च कूटनीतिक प्राथमिकता" तथा "क्षेत्रीय सुरक्षाको केन्द्र" मा रहेको र यसमा वासिङ्टनले बहुपक्षीय छलफल गर्न चाहेको बताइन्।
वासिङ्टनको यो भनाईलाई आफ्नो सार्वभौमिकता माथिको चुनौतीका रुपमा लिँदै तिब्बत र ताइवानसहित दक्षिण चीनको समुद्री मामलामा हस्तक्षेप नगर्न बेइजिङले चेतावनी दिएको छ।
"स्वतन्त्र जलयात्रा, एसियाका लागि जहाजको खुला पार्किङ सुविधा र अन्तर्राष्ट्रिय कानुनको सम्मान दक्षिण चीनको समुद्रमा अमेरिकाका राष्ट्रिय सरोकार हुन्," बैठकमा क्लिन्टनको भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।
उत्तर कोरियाविरुद्ध अमेरिका-दक्षिण कोरियाको संयुक्त नौसैनिक अभ्यासको विपक्षमा उभिएको चीन आफ्नो महत्वपूर्ण रणनीतिक क्षेत्रको विवादले अन्तर्राष्ट्रिय मोड लिएकोमा आक्रोशित छ।
एक कूटनीतिज्ञका अनुसार समुद्री टापुहरूबारे हिलारीको भनाइपछि बैठकमा चिनियाँ विदेशमन्त्री याङ जेइची निकै क्रुद्ध देखिए। जेइचीले "पूर्व योजना अनुसार बैठकमा यो विवाद उठाइएको" भन्दै कडा र भावुक प्रतिरक्षा गरेका थिए।
चीन र भियतनामले दक्षिण चीनको समुद्रका पारसेल र स्पट्ली नामका सबै टापु आ-आफ्नो भएको दाबी गर्छन् भने मलेसिया, फिलिपिन्स र बु्रनाइले केही भाग दावी गर्दै आएका छन्। ताइवानको दावी पनि चीनसँग मिल्छ।
तेल र प्राकृतिक ग्यासको खानी भएको विश्वास गरिएका यी विवादित टापु एसिया र यूरोप तथा मध्यपूर्व र अफ्रिकासम्म जोड्ने समुद्रीमार्गमा पर्ने भएकाले रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छन्।
चीनसँग एक्लै सामना गर्न कठिन भएकाले विवादलाई अन्तर्राष्ट्रियकरण गरी बहुपक्षीय छलफलमा अन्य खेलाडीलाई ल्याउन बैठकको आयोजक हनोई सफल भएको छ। भियतनामले आफ्नो पूर्व दुश्मन अमेरिकासँग अहिले तिब्र रुपले सैन्य सम्बन्ध विस्तार गरिरहेको छ।
राजनीतिक र आर्थिक मामलामा चीनसँग अमेरिकाको सम्बन्ध स्थिर देखिए पनि ताइवानलाई हतियार बिक्री गर्ने अमेरिकी निर्णयपछि सैन्य क्षेत्रमा तनाव बढ्दै गएको छ। डेढ महिनाअघि चीनले अमेरिकी विदेशमन्त्री रोबर्ट गेट्सको भ्रमण आयोजना गर्न अस्वीकार गरेको थियो भने दुई सेनाबीचको नियमित वार्ता पनि स्थगित भएको छ।