कलाकार बिष्णुभक्त फुयालको जिबनका आरोह अबरोहका बारेमा यस पटक उनकै शव्दमा यहाँ प्रश्तुत गरिएको छ :
मेरो जन्म भक्तपुरमा भएको हो । त्यतिबेलाको भक्तपुर पुरै गाउँ थियो । बि. सं. १९९९ मा हामी चाबेल महाँकाल आयौं । अहिले पानी ट्याङ्की छेउ रहेको मेरो घर २०२२ सालमा पानी ट्याङ्की बनाएर रहेको जग्गा मैले किनेको हुँ । पानी ट्याङ्की बनाउनु अगाडि यो ठाउँ पुरै खेत मात्र थियो ।
मेरो बाल्य अवस्था जटिल नै थियो । सानु बेलामा नै बुबा बित्नु भएछ । आमाको दोस्रो बिवाह भएपछि यहाँ आईए छ । मैले त्यो कुरा पछि बुझेँ । यतापट्टी भाई बहिनीहरु हुँदै गए । त्यतिबेला परिवार नियोजनको कुरा थिएन । डेढ वर्षा अर्को बच्चा हुने । फेरि डेढ वर्षमा अर्को बच्चा हुने । त्यस्तो अबस्थामा महिलाको केहालत हुन्छ होला ? त्यसमाथि आफ्नो जग्गा जमिन नभएको मानिसको अरुकोमा काम पनि गर्नैपर्ने । त्यसै कारण पनि मेरो बाल्यकाल चाँहि पुरै दुखैमा बित्यो । अलि कति बुझ्ने भएपछि ओहो आफुँसँगैका साथि पढ्न जान्छन् आफ्नो हालत यस्तो छ ।
सानामा मैले स्कुल जाने मौका पाइनँ । त्यतिबेला मेरो पारिवारिक रुपमा पढ्न सक्ने अवस्था थिएन । धनी धनीको छोराछोरीले दरवार हाईस्कुल, नन्दिरात्रीमा पढ्ने गर्थे । पद्मोदय २००३ सालमा स्थापना भएको हो । म सोह्र वर्षलागे पछि २०११ सालमा, इण्डिया गए कलकत्तामा काम गर्न थाले । त्यहाँ मैले भनेजस्तो काम पाइनँ । यहाँभन्दा झन् त्याहाँ दुःख भयो । तीन वर्ष त खाना मात्रै पकाएँ मैले । सुरुमा बङ्गालीको घरबाट सुरु गरियो । विहान चार वजेदेखि बेलुका एघार बजेसम्म खटिनुपर्ने । त्यसरी गर्दा पनि न उन्नती हुने देखियो न केहि सिकियो । जहाजमा डकरको काम गर्ने भनेर रिफुजि बंगाली र म राती डेढ दुइ बजे सम्म पढ्थ्यौं । एघार बजे काम सकेर गयो अनि पढ्यो । उनले अङ्ग्रेजी लेख्न बोल्न पनि सिकाए । निवेदन पनि हालियो । अब ट्रेनिंग हुने बेलामा चाँहि, यहाँ आमा बिरामी हुनुभयो भन्ने खबर आयो । म फर्केँ ।
०००
नेपाल आएपछि रोयल होटलमा एक दिन वेटरको काम गरेँ । त्यहाँका कर्मचारीले बाहिरको मानिसलाई वेटर राखेको भनेर हड्ताल गरे । हडतालका कारण मैले भाडा माझ्ने काम गर्नुपर्ने भयो । त्यो काम मैले डेढ वर्षसम्म गरेँ । एलिजावेथ त्यही बेला नेपालमा आइन् । उनी नेपाल आएको बेलामा वेटरको कमी भएर मलाई वेटर बनाए । पाँच दिन एलिजावेथ बसेर फर्केपछि फेरि मलाई मेरै काममा र्फक भन्न थाले । मैले बेलायतकी माहारानीलाई सेवा दिनसक्ने अरुलाई दिन सक्दिन र भनेर प्रश्न गरेँ । अनि मलाई वेटरमा राखे । त्यहाँ मैले पाँच वर्षम्म काम गरेँ । पाँच वर्षम्ममा पनि मैले किचेनमा काम गर्ने मौका पाइनँ । त्यही रोयल होटलमा बस्ने क्रममा चाँहि मैले पर््राईभेट पढेँ । टेस्ट दिने भनेर रातीको बाह्र एक बजेसम्म पनि पढियो तर सकिएन । अङ्ग्रेजी पनि त्यहि बेलामा पढियो । हिसाब पनि त्यहि बेलाबाट राम्रो भयो ।
०००
वि. सं. २०५३ सालमा मेरो छोरो विमल एक्सन एडबाट पाँच वर्षको लागि बेलायत गयो । म पनि उसँगै गएँ । त्यहाँ बस्ता छ महिनामा मैले अङ्ग्रेजी राम्रो बनाएँ । तर, त्यहाँ बस्नै मन लागेन । यहाँ नाटक खेल्न पाईने, फिल्म खेल्न पाईने । त्यहाँ त केहि पनि नपाउने । बेलायत पाँच वर्ष बसेको भए मेरो अग्रेजी राम्रै हुन्थ्यो । मेरो ग्रामर कमजोर रहेछ भन्ने पनि थाहा भयो । अग्रेजी बुझ्छु राम्रोसँग, बोल्न पनि सक्छु । अलिकति जान्ने मान्छे पर्यो भने आत्तिन्छु । त्यहि पनि बेलायतमा बस्ता त अङ्ग्रेजी नबोली सुखनै थिएन । म एक्लै दिनमा एक घण्टा दुइ घण्टा घुम्थेँ । मोडमा पुगे पछि यहाँबाट यता लाग्ने भनेर लेख्यो अनि फेरि त्यहि बाटो फर्कियो ।
०००
कलाकारिता चाँहि २०१९ सालबाट सुरु भएको हो । होटलका कर्मचारीहरु मिलेर नाटक गर्ने भने, मैले कलाकरिता नेवारी नाटकबाट सुरु गरेको हुँ । होटलका तिन सय कर्मचारीमध्ये आठ नौ जना मात्रै बाहुन थियौ अरु सबै नेवार नै थिए । कुराकानी पनि नेवारीमा नै हुने गर्दथ्यो । त्यहाँ खेलेको नाटक राम्रो भयो । रातीराती २०-२२ वटा सो गर्यौं । एक वर्षत्यही टिममा काम गरियो । त्यसपछि २०२६ साल सम्म नाटक खेल्न पाइएन । फेरि २०२७ सालमा ल्होत्से होटलमा जागिर भएपछि त्यहाँको रिसेप्सनको साथी मुकुन्द किशोर भट्टराईसँग भेट भयो । २०३१ सालमा पद्मोदय स्कुलले नाटकको आयोजना गर्यो । त्योभन्दा अगाडी हामी कहिले सामाखुसी कहिले कहाँ नाटक देखाउँथ्यौ । मुकुन्द किशोर भट्टराईले मलाई धेरै कुरा सिकाउनु भएको छ । उहाँलाई मैले साथी मात्र होईन गुरु पनि मानेको छु । पद्मोदयमा गरेको नाटक पछि २०३६ साल सम्म त्यत्तिकै भयो फेरि ०३७ सालदेखि विधार्थीहरुले प्रगतिशिल नाटक खेल्न पर्यो भनेर बोलाउनुभयो । कसले बोलाएको थियो भन्ने चाहिँ मैले बिर्सेर पछिसम्म बोलाउने मा एक जना सिविनको तारक धिताल पनि हुनुहुन्थ्यो । त्यो ग्रुपमा लागेपछि ०४४ सालमा जनसांस्कृतिक मञ्च बन्ने बेलासम्म काम गरेँ । त्यो बेलामा कहिले सरस्वती क्याम्पसले कहिले कुन क्याम्पसले बोलाउथे ।
हामी लुकिलुकि अडिटोरिएममा गएर नाटक देखाउँथ्यौ । यता श्रृजना परिवार भन्ने थियो अग्नी सिखाको, अग्नी अहिले वितिसक्नुभयो । अग्नीको अध्यक्षतामा श्रृजना परिवारसँगै त्यतिबेलाको माले पार्टीमा प्रवेश गरियो, २०३७ सालमा । त्यो ग्रुपमा लामो समयसम्म काम गरेँ । त्यहाँ काम गर्दा गर्दै २०४२ सालमा मलाई नेपाल स्वतन्त्र मजदुर युनियनमा पठाए । सास्कृतिक फाँट हेर्नका लागि । म पनि होटल मजदुर, मजदुर भएको हुनाले त्यो फाट हेर्न पर्यो भने साथीहरुले । सबै मजदुरको एउटै संगठन बनायौं । नेपाल स्वतन्त्र मजदुर युनियन नाम राखियो । २०४६ सम्ममा त्यहाँ सास्कृतिक फाँट हेरेँ । यता फेरि यो क्षेत्रको काम सबै मैले हेर्न पर्थ्यो । २०४६ सालको आन्दोलनमा भाग लिन पर्यो । अनि नेसमयुको चाहि निलम्बर आचार्य श्रम मन्त्रीहुँदा खेरी सम्मेलन भयो । २०४५ सालमा जिल्ला कमिटिको उपाध्यक्षमा उठेँ । जितेँ पनि । महेन्द्ररत्न क्याम्पसमा चुनाव भएको थियो । जगडोलको डाँडामा लगेर हामीलाई मोदनाथ प्रश्रदिले टिका लगाई दिनु भएको हो । पछि त्यसको रेकर्ड नै गाएब गरे । कसले गरेको मलाई थाहा भएन । एक वर्षसम्म आन्दोलन गरियो । २०४७ सालमा आन्दोलन सकियपछि स्वतन्त्र कार्पेट मजदुर युनियनको सोझै केन्द्रीय उपाध्यक्षमा मनोनित भएँ । नाई भन्न पनि भएन किन भने पहिला सँगै काम गरेको विनोद श्रेष्ठ अध्यक्ष हुनु हुन्थ्यो । त्यसपछि २०६३ सालसम्म लगातार कार्पेट युनियनमा नाटक गरिरहेँ । त्यहाँ मैले धेरै नाटक निर्देशन गरेँ । २०४२ सालमा अग्नी सिखाको इज्जत नाटक मैले पहिलो पटक निर्देशन गरेपछि धेरै नाटक निर्देशन गरेको छु । इज्जत नाटक किर्तिपुरको अडिटोरियमका देखाएको हो, एघार सो देखायौं । त्यहाँबाट पैसा आउने होईन खट्ने मात्रै हो । आजसम्म पनि पार्टीको लागि खट्दै छु । पुरस्कार पाएको बाहेक एक पैशा पनि लिएको छैन । २०४५ सालदेखि प्रहरिको नाटक खेलियो त्यहाँबाट पनि सम्मान पाइयो । शसस्त्र प्रहरीले ०६४ सालमा सम्मान गरे । डबली पुरस्कार पनि पाएँ । तर, आर्थिक रुपमा मैले पैशा कमाउने कामतिर ध्यान दिइनँ । २०४६ सालको अन्तिमदेखि फिल्म खेल्न थालेँ । पहिला मैले सन्जोग भन्ने टेलिफिल्मबाट यो क्षेत्र सुरु गरेको हुँ । जनईको साँचो लगाएत पाँच सयओटा त मैले टेलिफिल्म खेलेँ होला । ठूलो फिल्म ४४ वटा खेलेँ ।
०००
अहिले म जननाट्य मञ्चको अध्यक्ष पनि छु । त्यसले गर्दा यता जिम्मेवारी पनि बढ्यो । कार्पेट युनियनको पनि केन्द्रिय सल्लाहकारमा छु । त्यता पनि काम परे पछि गर्नैपर्यो । अनि अहिले जननाट्य मञ्चको जिल्ला जिल्लामा कमिटी बनाउनु पर्छ भन्ने धारणा अनुरुप दौडधुप गरिरहेको छु । अहिले संगित नाट्य एकेडेमीको प्राज्ञसभा सदस्य मनोनित भएको छु । त्यहाँ पनि तालिमात्र बजाउने हो । तलब आउने होइन । आफ्नो विचार लाने त हो पारित गर्छन् कि गर्दैनन् उनीहरुको हातको कुरा हुन्छ । त्यहाँ एउटै बैठक भएको छैन । साहित्य र कला क्षेत्रमा जहाँजहाँ टेवा पुग्ने हो, त्यही लागिरहेको छु । पैसा नआए पनि मलाइ केहि फाईदा हुन्छ । २०५९ सालमा दश वटा नाटकको एउटा संग्रह निकाँले । त्यस पछि लेख्दै छु ।
एउटा नाटक यस्तो समातिएछ लखन थापाको बारेमा । अब मैले कतिवटा किताब पढिसकेँ आफैलाई चित्त बुझेको छैन, उनी अझै रहश्यमी नै छन्, मेरा लागि । कोहीले उनलाई धर्मको बिरोधी भनेका छन्, कोहीले राजा र राणाको । लखन थापाको दरबार बनेको ठाउँ र उनले संघर्ष स्थानतिर परारको साल बसेर आएँ । अहिले बहुदल आईसके पछि लखन थापा नेपालको पहिलो सहिद हो भनेका छन् । आठ दश वटा किताब पढिसकेँ अझै पनि म सहि यहि हो भन्ने निष्कर्षमा पुग्न सकेको छैन ।
लखन थापा पहिलो सहिद हो भन्ने नाटक बनाउने मेरो इच्छा छ । एक पटक लेखेँ सत्यमोहन जोशीले कला संस्कृति पुगेन थप्नुहोस भन्नुभयो । नाच गाना पुजा पाठ, कुल देवताको पूजा कसरी गर्दथे भन्ने बारेमा बुझ्न गएको । लेख्ने काम चाँहि गाह्रो रहेछ भन्ने पनि लाग्न थालेको छ । नाटकमा चाँहि मलाई ज्ञान पनि भयो । यो बाँचुन्जेल गर्ने धोको छ । नाट्मञ्चबाहेक कुसुम नाट्य समूह पनि छ हाम्रो । बैकुण्ठ भण्डारी पहिला अध्यक्ष हुनुहुन्थ्यो । अहिले म अध्यक्ष छु । हाम्रो थिएटर महाँसंघ भनेर दर्ता पनि भएको छ । त्यसको अध्यक्ष बैकुण्ठ भण्डारी हुनुहुन्छ । ०५५ सालबाट कुसुम नाट्य समूहमा पनि आबद्ध छु । कहिलेकाही कसैले लौन यो विषयमा नाटक गर्न पर्यो भने पनि सहयोग गरेको छु । ओरेक लगायतका केही महिला समुह मिलेर कृतिका नाट्य समुह बनाएका छन् कालोपुलमा । त्यसमा पनि म आबद्ध छु । कृतिकासँग मिलेर महिला हिंसा विरद्ध नाटक बनाए ।
०४४ सालमा रामेशले लगेर मलाई सुनिल जीसँग भेट गराइदिनुभयो । ०४६ सालको अन्ततिर श्रद्धालु बेश्या नाटक देखाईयो । ४७ सालमा आरोहणले नै निर्वाचनमा भाग लिन पर्छ भनेर नाटक बनायो । काठमाडौंमा १५ सो गरियो । त्यही नाटक पर्वतका ४५ गाविस देखाइयो । आरोहणले गरेको नाटकमा भ्याएसम्म काम गरेको छु । गुरुकुल स्थापना गरियो त्यसमा पनि सक्दो लगानी गरेको छु । परार गुरुकुलबाट नै एनएसडी दिल्लीमा नाटक देखाउन गएँ । पोहोर बरामपुर, बंगालादेश गए । फिलिम चाहि मैले छोड्दै गएँ । कथा पनि राम्रा हुँदैनन्, जनचेतनामूलक पनि हुँदैनन् । हाहा होहो मात्र हुन्छ । मलाई दास ढुंगा खेल्न मन थियो । एमालेका मान्छेले बनाएको फिल्ममा । तर, खबर गरेनन् । एमालेले जहाँ जा भनेको छ, त्यहाँ गएकै त थिएँ । त्यस्तो फिल्ममा सम्झेनन् । सहयात्री फिल्ममा मसँगै खेल्नेलाई साथीहरुले १२ हजार दिए मलाई त कहाँ तपाई त पार्टीको मान्छे भनेर दिन मानेनन् । प्रत्येक सोमा बल्लबल्ल पाँच हजार दिए ।
०००
तितो सत्यको रोल मलाई मन परेको थिएन । फिलिममा कतिपय कुरा कम्प्रोमाइज गर्नु पर्छ । आफुले भनेर हुँदैन । त्यो नानीले कान्छी भन्ने फिलिम पनि खेलेकी रहिछन् । उनि मेरो नातिनीको उमेरकी मान्छे । मलाई त मन नै परेको थिएन । बास्तविक जीवनमा एक टुक्रा पनि मेल खाँदैन । केटी मान्छेले धनी र समझदार मानिस पायो भने बुढासँग पनि बिवाह गर्छन् भन्ने मात्र देखाएको हो । पहिलाकी बहिनी तिन सो पछि अमेरिका गईन । त्यसपछि मैले नाटक सिकाएकी निर्मला आइन् । उनले पनि त्यो रोल मन पराएकी थिइनन् । तर, मैले सम्झाएँ तिमी चेली म गुरु । फिलिममा जे रोल छ त्यही गर । नभए तिमी पनि डुब्छौ म पनि डुब्छु भने । उनले राम्रो रोल खेलीन् । पछि त्यो रोकिएको छ । पछि हुन्छ कि ?