सन् २०१५ को विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने सपना बोक्दै शनिबार राष्ट्रिय क्रिकेट टोली इटालीतर्फ उडेको छ । विश्वकप आइसिसी डिभिजन-४ मा सहभागी हुन टोली त्यसतर्फ गएको हो । डिभिजन-४ प्रतियोगिता २९ साउनदेखि ५ भदौसम्म चल्नेछ । पाँच वर्षपछि हुने विश्वकप क्रिकेट प्रवेशका रूपमा डिभिजन-४ हेरिएको छ ।
नेपाली टोलीका लागि इटाली नयाँ गन्तव्य पनि हो । यहाँको वातावरणसँग हुलमेल हुन प्रतियोगिता सुरु हुनुअघि नै टोली त्यसतर्फ लागेको हो । अक्सर नेपाली टोली अरबी मुलुक मलेसिया, सिंगापुरको भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ । नेपाली टोलीले इटालीको पिच तथा वातावरणमा नजिकिन प्रतियोगिताअघि दुई अभ्यास खेल खेल्नेछ । नेपालले पहिलो अभ्यास खेल कायमन आयरल्यान्ड तथा दोस्रो खेल स्थानीय टोलीविरुद्ध खेल्नेछ ।
गत फागुनमा काठमाडौंमा सम्पन्न डिभिजन-५ को विजेता नेपालसँगै उपविजेता अमेरिका डिभिजन-४ को सम्भावित विजेताका रूपमा विश्लेषण गरिएको छ । इटालीमा असफल नतिजा हात पार्दा नेपालको विश्वकप खेल्ने सपनासमेत भताभुंग हुनेछ । यस कारण नेपाली टोलीले प्रत्येक खेलमा गर या मरको स्थितिमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
"हाम्रो लक्ष्य भनेकै च्याम्पियन बन्नु हो," नेपाली टोलीका कप्तान पारस खड्काले इटाली उड्नुअघि भने, "यसका लागि हामीले ठूलो मिहिनेत गरेका छौँ ।" फाइनल प्रवेश गरे पनि नेपाल अर्को वर्ष हङकङमा हुने डिभिजन-३ का लागि छनौट हुनेछ । यसका साथै नेपालको विश्वकपको बाटो पनि क्रमशः खुकुलो हुँदै जानेछ । बढुवा नपाउने चार टोली २०१५ को विश्वकप छनोटबाट बाहिरिनेछन् ।
उपाधिको दौडमा प्रबल दाबेदार नेपाली टोलीले इटालीमा सोचेजस्तो पिचमा प्रतिस्पर्धा गर्न पाउने छैन । त्यहाँ उनीहरूले एस्ट्रो टर्फमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । टोलीका लागि सो पिच बिल्कुलै नौलो हो । नेपालले अन्तिमपटक सन् २००१ मा क्यानडामा सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।
वर्तमान राष्ट्रिय टोलीमा पूर्वकप्तान विनोद दासले मात्र एस्ट्रो टर्फमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका छन् । बाँकी सबै खेलाडी सो पिचबारे अनभिज्ञ छन् । नेपाली टोलीले १३ साउनदेखि मात्र त्यसमा अभ्यास गर्न मौका पाएको थियो ।
नेपाल क्रिकेट संघले बेलायतबाट एस्ट्रो टर्फ ल्याउन ढिलाइ गरेपछि खेलाडीले मुखैमा आएर सो पिचमा अभ्यास गर्न पाएका हुन् । एस्ट्रो टर्फमा पर्याप्त अभ्यास गर्न नपाए पनि नेपाली टोलीको आत्मविश्वास निकै बलियो छ । र, नेपाली टोलीले छोटो समयमा पनि एस्ट्रो टर्फमा अभ्यस्त हुन कडा मिहिनेत गरेको देखिन्छ । छोटो समयमा पनि खेलाडीले सो पिचमा राम्रो अभ्यास गर्न पाएको कप्तान पारस बताउँछन् ।
"हामीले एस्ट्रो टर्फमा कडा अभ्यास गरेका छौँ । खेलाडीहरू सन्तुष्ट पनि देखिन्छन्," कप्तान पारसले भने, "एक साता इटालीमा अभ्यास गर्नेछौँ ।" कप्तान पारस एस्ट्रो टर्फभन्दा पनि ब्याटिङ तथा बलिङ पक्ष नै जितको आधार मान्छन् ।
"इटालीमा जसले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्छन, उपाधि उसैको हुनेछ," उनले भने । यसपटकको टोली ब्याटिङ र बलिङमा बलियो छ । तर, टोलीको फिल्डिङ पक्ष भने कमजोर छ । मनसुने झरीमा खेलाडीले त्रिवि मैदानमा खासै दौडधुप गरेनन् । ओसिलो तथा भिजेको मैदानमा फिल्डिङ गर्दा घाइते हुने डरले टोलीलाई सताएको थियो । त्यस कारण टोलीले सो पक्षमा जोखिम नउठाएको हो । यता नेपाली टोलीका मुख्य प्रशिक्षक रोय लुक डायस नेपाली टोलीको प्रदर्शन उत्कृष्ट हुने बताउँछन् ।