अनिल पाण्डे
जीवनमा जति पनि काम सफल हुन्छन्, त्यसको पछाडि श्रमको मात्र हात हुँदैन । श्रमका साथसाथ कार्यशैलीको पनि उत्तिकै हात रहेको हुन्छ । जसलाई रणनीति, कार्यविधि वा शैली भन्न सकिन्छ । कहिलेकाहीं त कार्यभन्दा पनि कार्यविधिको प्रभाव परिणाममा बढी देखिन्छ ।
काम र विधिलाई बुझ्नका लागि कक्षामा पढाउने शिक्षकको व्यवहारलाई उदाहरणका रुपमा हेरौं । सबै शिक्षक कक्षामा आउँछन् र पाठ्यक्रमअनुसारको विषय पढाउँछन् । कोही गुरुले चेलालाई गायत्री मन्त्र घोकाएजस्तो गर्छन् र फर्किन्छन्, कोही विषयभन्दा बाहिरको गफ गर्छन् र विदा हुन्छन्, कोही प्रयोगात्मक अभ्यासका साथ विषय बुझाउँछन्, नबुझे भोलि फेरि सोध्ने सुझाब दिएर 'बाई बाई' भन्छन् । प्रवचन, अन्तर्क्रिया, खेल, प्रदर्शन, छलफलआदि दर्जनौं विधि अपनाएर पढाउन सकिन्छ । एउटै विषय पढाए पनि विधिका कारणले कोही शिक्षक सफल हुन्छन्, कोही असफल । अर्थात सफलता वा असफलता भन्ने कुरा विषयमा भन्दा बढी विधिमा भरपर्छ भन्ने तथ्य यस उदाहरणले पुष्टि गर्छ ।
अमेरिकामा आज जुन परिमाणमा नेपाली भित्रिएका छन्, त्यसको परिमाण हेर्ने हो भने कुनै नगरमा नेपालीले आफ्नै भाषा बोल्ने जातिको व्यक्तिलाई मेयर बनाउन सक्छन् । बेलायतमा नेपाली व्यक्ति वडासदस्यसम्म भएको खबर आएको छ । तर संयुक्त राज्य अमेरिकामा यो नेपाली मात्रका लागि उत्साहको सम्भावना हालसम्म देखिएको छैन । किनभने विविधता र सहअस्तित्वका लागि विश्वमै उदाहरणीय मानिने यस मुलुकमा नेपालीहरुले 'चाइना टाउन,' 'इण्डियन कोलोनी,' 'भियतनाम सिटी' केही बनाउन सकेका छैनन् । चीन, भारत, भियतनाम आदि ठूलो परिमाणका जनता रहेको मुलुकबाट आप्रवासी भएर आउने जनताको दाँजोमा नेपालीको स्रोत नै सानो भएकोले भयानक क्षेत्रफल रहेको अमेरिकामा नेपालीको संख्या अरुको तुलनामा न्यून हुन्छ नै । तर पनि उपयुक्त विधि अपनाउने हो भने नेपालीको टोल मात्र होइन नगर नै बन्नसक्ने सम्भावना भने प्रष्ट देखिन्छ । नगरपिता नै नेपाली रहेको ठाउँ अमेरिकामा रहनु आज एक रोमाञ्चक कल्पनाको विषय हुनसक्छ, तर उपयुक्त विधि अपनाउने हो भने असम्भव नै चाहिं लाग्दैन । अमेरिकाका विभिन्न शहरमा रहेका नेपाली एकै नगरमा बसोवास गर्न थाले भने यो कल्पना भोलि साकार हुन पनि सक्छ ।
अमेरिकामा आजका मितिमा कति नेपालीभाषी रहेका छन् - यो प्रश्नको तथ्य जबाफ कसैसँग पनि छैन । तर यो संख्या केही लाखमा हुनुपर्छ भन्न अब कुनै असजिलो छैन । नेपालबाट आएका नेपाली मात्र नभएर भारत, बर्मा, भूटान र अन्य मुलुकबाट समेत आएर यहाँ स्थायी वा अस्थायी बसोवास गर्ने नेपालीको तथ्यांक संकलन गर्ने काम भएको छैन । अमेरिकामा सम्पन्न पछिल्लो जनगणनाले यहाँ रहेका विश्वका हजारौं भाषा बोल्ने व्यक्तिको तथ्यांक निस्कन सक्छ । यदि फारम भर्ने व्यक्तिले ढाँटेको रहेनछ भने नेपालीको परिमाण थाहा पाउन सकिनेछ । तर कतिपय अज्ञानता र कति आशंकाका कारण फारम भर्ने व्यक्तिले ढाँटेको वा अलमलमा परेको अवस्था छ । त्यसैले जनगणनाको परिणामलाई पनि शतप्रतिशत सही भन्न गारो पर्ने अवस्था छ । यति हुँदाहुँदै पनि सो तथ्यांक कम्तीमा आजसम्म प्राप्त सम्पूर्ण तथ्यांकको प्रगतिशील अंक हुनेछ, सत्यको निकट रहनेछ । जे होस्, सो तथ्यांक बाहिर आउनुअघि नै भन्न सकिने यथार्थ के हो भने, एक मेयरले साधारण नगरको निर्वाचन जित्नका लागि जति मत ल्याउँछ त्यतिभन्दा बढी नै नेपाली मतदाता अब अमेरिकामा भैसके भन्न सकिन्छ ।
आदरणीय पाठकलाई यस पङ्क्तिकारले सत्य उल्लेख गर्नैपर्छ- यस लेखको उद्देश्य अमेरिकामा नेपाली मेयर उत्पादन गर्नु होइन । नेपाली मात्रको एकताका लागि चिन्तन गर्ने बानी बसाल्नु हो । आत्ममूल्यांकन गर्नु र आफ्नो हैसियतका बारेमा गम्भीर बन्नु हो । नेपाली पनका लागि एक नेपालीले दिनसक्ने योगदानका बारेमा घोत्लिनु हो । हिजो मेरो नागरिकता के थियो भनेर विभाजित होऊँ भन्ने मेरो आग्रह होइन, जाति र धर्म विभाजनको सीमा हुनुपर्छ भन्न खोजेको त झन हुँदै होइन । विदेशमा आइपुगेका नेपालीका लागि संगठित हुने आधार बन्नुपर्छ भाषा । संसारमा कोही कसैको मित्र वा आफन्त हुन्छभने त्यसको माध्यम बनेको हुन्छ भाषा । जात-धर्म छोडे पनि छोड्नु नहुने पहिचानको विषय अरु केही नभएर भाषा नै हो ।
नेपाली भाषाको माध्यमद्वारा पीडा, शोक, प्रसन्नता, खुसी, ठट्टा, हाँसो, प्रेम र प्रणय साटासाट गर्ने हामी जति छौं, सबै नेपाली हौं । कोही मात्र 'नेपाली' होउँला र कोही भारतीय नेपाली वा भुटानी नेपाली होलान्, तर हामी विशेषणविनाको विशेषण 'नेपाली' भएर अमेरिकामा संगठित हुनसक्छौं । सही अर्थमा भन्नुपर्दा वृहत नेपालीको अवधारणामा हामी प्रवासीलाई समेट्ने फराकिलो भावनाको उदय हुनु आजको आवश्यकता हो । यो भावना हरेक नेपालीको छातिमा उम्रियो भने हामीलाई कसैले होच्याउन, खिज्याउन र उपहास गर्न सक्नेछैन ।
अमेरिकामा आएर पनि 'म फलानो पार्टीको, ऊ परचक्री, ऊ खस र ऊ जनजाति, ऊ पूर्वेली अनि ऊ डोटेली...' भनेर हामी जसरी विभाजित भैरहेका छौं, यो आफ्नै खुट्टामा आफैले बञ्चरो प्रहार गर्ने अभ्यास मात्र हो । सायद हामीलाई ठीक तरिकाले मार्गनिर्देश गर्ने नेताको अभाव भएको हो । अन्यथा हामी आफ्नो प्रतिष्ठा र शान बढाउने सम्भावनाप्रति आँखा चिम्म गरेर कालिदासले जस्तै रुखको टुप्पातिर बसेर फेद ढाल्ने अभ्यास गर्ने थिएनौं । यस दिशामा चिन्तन गर्न एकै छिनको समय हामीले निकाल्न सक्यौं भने, यस लेखको र्सार्थकता सिद्ध हुने निवेदन गर्दछु । मुखले 'हामी नेपाली एक हुनुपर्छ भन्ने' तर कार्यशैली अन्यथा अपनाउने कार्य हानीकारक हो भन्ने दिशामा पुनः ध्यानाकर्षण गराउन चाहन्छु ।