कवि श्रवण मुकारुङसँग अमेरिकादर्पणका लागि नारायणी देवकोटाले गरेको कुराकानी प्रस्तुत गरिएको छ :
० भरखरै सुरेश ढकालले नेपालका समाजशास्त्री नै नेपाली समाज बुझ्दैनन् भन्ने खालको लेख लेख्नु भएको छ । नेपाली समाजशास्त्रको बारेमा के भन्नु हुन्छ ?
- म कुनै ठूलो समाजशास्त्री त होईन । तर, नेपाली समाजमा जति नजिक गएर लेख्न खोज्यो र लेख्न सक्यो, त्यति लेखक शक्तिशाली हुन्छ भन्ने मैले आफ्नो लेखन यात्रामा अनुभव गरेको कुरा हो ।
० नेपालमा कविता सुनाउन पनि सुन्नेलाई चिया खुवाउन पर्छ भन्ने गरिन्छ, के यो भनाई साचो हो ?
- मेरो लेखनको प्रारम्भिक समयमा लेखक, कविलाई समाजले हेर्ने र पाठकलाई समाजले हेर्ने स्थिति एकदमै कमजोर थियो । कविता लेख्छ भने पछि यो चाँहि अलि दुःखी रहेछ भन्ने अथवा चुस्स दारी पालेको, अलि कस्तो कस्तो, समाजमा फिट नहुने खालको जस्तो ठान्ने समय थियो । अर्को चाँहि मैले लेखन सुरु गर्दा र त्यस समय अगाडी पछाडि पनि कविता र पाठक बिचको सम्बन्ध टुटेको अबस्था थियो ।
० कविता बुझिँदैन पनि भन्छन् नि, त्यहि भएर चिया खुवाएर सुनाउन पर्ने भएको पो हो कि ?
- यसमा दुइवटा कुरा छ । एउटा चाँहि कविताको शक्ति कमजोर भएर नै हो । किन भने, नबुझिने भन्ने संसारमा के छ र ? केही पनि छैन । बुझ्न चाहँदा जे कुरा पनि बुझिन्छ । तर कवितालाई कस्तो बनाउने भन्ने कविले पहिलो आफ्नो धारणा तय गर्नुपर्छ । मेरो भनाई के छ भने कविता पाठक र समाजको एकदमै नजिक जानुपर्छ । किनभने कविता एउटा माध्यम हो । कविले आफ्नो विचारलाई, आग्रहलाई समाजको कुरा ल्याएर समाजमा नै फर्काउने हो । अघि तपाईँले भन्नु भएको समय बोल्दा अलि छुच्चो बोलेको जस्तो हुन्छ, हामीभन्दा अगाडि लेख्ने हाम्रा अग्रज कविलाई हामी सम्मान गर्र्छौं । तर, आलोचना यस अर्थमा गर्नुपर्छ कि, कवितालाई बढी नै प्रयोगपरक बनाउन चाहँदा, कवितालाई ल्यावमा लान चाहँदा कविता र पाठकको सम्बन्ध टुटेको हो । अर्को, कविता शक्तिशाली नभएर नै हो । संसारका जति पनि अमर कृतिहरु छन् ति सबै सरल छन् । सबैले बुझेका छन् नि ! नेपाली साहित्यमा देवकोटाको नै कुरा गरौँ न, टाढाको किन कुरा गर्ने - उहाँको सबैभन्दा पपुलर कृति मुनामदन कति सरल छ । भावले त त्यो गहन छ । तर, भाषमा कति धेरै सरल छ । त्यस्तै खलिल जिब्रायनको द प्रोफेट हेर्यो भने, त्याहा कति सरल भाषामा कति गहन कुरा छन् । त्यसले पाठकसँग सम्बन्ध नजिक बनाइदिन्छ । अनि हाम्रो नेपाली समाजमा कविताको यो हालत ! अहिले पनि मैले नयाँ कविता लेखेको छु, सुनिदिनुस् न, म चिया खुवाउँछु भन्नुपर्ने अवस्था यिनै दुइ कारणले गर्दा भएको हो । अर्को कारण किन भएको भने कविताको मूल्य बोध नभएकाले पनि हो । कविता सस्तो चिजको हो । अनुत्पादक हो भन्ने कारण पनि हो । कवि स्वयम्ले पनि कवितालाई मूल्य नदिएका कारणले पनि हो ।
० नेपाली कवि लेखकको प्रवृतिको विषयमा केहि भन्नुस् न ।
- नेपाली लेखक कविहरु हामी नेपाली जातिजस्तै, नेपालको राजनीतिजस्तै, हामी सबै एउटै त हो । हामी सबै एक अर्कासँग अन्तरसम्बन्धित छौँ । कविहरुका पनि गुट उपगुट छन् । आफ्नो गुटबाहिरको कविलाई एउटा गुटको कविले सम्मान गर्दैनन् । सिनियर कविले उनीहरुभन्दा सिनियर कविबाहेकको नाम लिदैनन् । नयाँ कवि आयो भने त्यसलाई स्पेस दिदैनन् । भित्रभित्र मन त पराउँछन् तर बाहिर नाम भन्दैनन् । यो ठूलो रोग हो । ठूला मानिसलाई भन्नकै लागि भए पनि राम्रो भनिदिने नेपाली प्रवृत्ति कवि भित्र पनि छ । माथि जान लागेका लाई तान्न खोज्ने, अहिले पनि नेपाली विश्व विधालयमा किन पुराना कविको मात्रै कविता पढाई हुन्छन् ? समय यति बढी सक्यो, यति धेरै राम्रा कविहरु आएकाछन्, नयाँ चेतना, नयाँ शक्तिका साथ नयाँ लेखकहरु आएका छन् । तर, हाम्रा पाठ्यक्रमहरु कहिल्यै परिवर्तन हुँदैनन् । परिवर्तन गरे पनि तिनै पुराना मानिसको राख्यो । त्यो सबै केले गर्यो त भन्दा, त्यहि गुटबन्दी, हाम्रो आम नेपाली चरित्रले गर्दा यसो भएको हो । आम नेपाली चरित्रभित्र कविहरुको चरित्र पनि उस्तै छ ।
० कवि हुनका लागि केके बिशेषता हुनुपर्छ ?
- कवि भन्ने कुरा साधनाले हुने कुरा हो । तपाई कति साधना गर्न सक्नुहुन्छ - एउटा मुर्तीकारले पूर्ण मुर्तीकार हुनका लागि कति समय लगाउँछ ? सुरुमा बनाउँदा कमजोर बनाउला, बनाउँदै जादा सिद्धहस्त भएर सुन्दर मुर्ति बनाउँछ । त्यस्तै मूर्तिकारले मूर्ति बनाएजस्तै, चित्रकारले चित्र बनाएजस्तै हामीले पनि कवितालाई शब्दसँग, भाषासँग, भावसँग खेल्दै जादा राम्रो कविता हुने न हो । साधना नै पहिलो कुरा हो ।
० समाजमा कविताको महत्व कस्तो छ ?
- समाजमा कविताले दुइवटा काम गर्छ भन्ने मलाई लाग्छ । एउटा, चेतनालाई बिस्तार गर्छ । सुसुचित र सुसिक्षित पनि गर्छ । अनि विचारलाई विस्तार पनि गर्छ । किन भने विचार त नयाँ नयाँ त हुँदैन । विचार त पुरानै हुन्छ । अर्को, समाजमा कविता लेख्नु भनेको खराब काम होइन । यो कुनै गुण्डा गर्दि गर्नु या गाँजा खानु जस्तो कुरा हाईन । ति पनि समाजकै पाटोहरु हुन् । तथापि कविताले मान्छेको अपहरण गर्दैन । हिँसा गर्दैन ।
० कविताले दुनिया बदल्छ ?
- बदल्न मदत गर्छ । यसको शक्ति भनेको नै त्यो हो कि यसरी बदल्न सकिन्छ भनेर देखाउँछ पनि र सहयोगी पनि हुन्छ । तर, कविता आफैले बदल्ने भने होईन । दुनियालाई बदल्ने त राजनीतिनै हो ।
० कविता नभएको भए यो संसार कस्तो हुने थियो होला ?
- जुन हाम्रो जिनशैली छ, जुन हाम्रौ संस्कृति छ, परम्परा छ यी सबैकुराहरु कवितासँग जोडिएर आएकाछन् । सायद संसारमा कविता नभएको भए मानिस र पशुमा फरक हुने थिएन होला । यो सभ्यता जुन छ, यो सिकाएको कविताले हो । कविताले कलाले मानव सभ्यता बनाएको हो । जिवनशैलीलाई निर्माण गर्ने चिज पनि कविता हो । कविता नै नभएको भए हामी अन्य जनवारभन्दा फरक हुने थिएनौं होला ।
० श्रवण मुकारुङ र विसेनगर्चीमा कत्तिको समानता र भिन्नता भेट्नुहुन्छ ?
- कविको भोगाई पनि कविता हो, विसेनगर्ची र म बीचमा धेरै समानता भएका कारणले मैले त्यो कविता लेख्न सकेको हुँ । म जे बाँचेको छु, मेरो बचाइँको अनुभुति र त्यो कविता नजिक नभई त, कहि न कहि अन्तरसम्बन्ध नभई त त्यो कविता नै बन्दैन थियो नि! कुनै पनि कविले कहाँकहाँ को सम्बन्ध नै नभएको कविता लेख्यो भने त्यो कविता शक्तिशाली नै हुँदैन नि । त्यसकारण त्यो कवितामा मेरो भोगाइका अंशहरु छन् ।