नेपाली कांग्रेस र एनेकपा माओवादीको अहंका कारण मुलुकको राजनीति दिन प्रतिदिन जटिल बनेको छ । चारचार पटक प्रधानमन्त्रीमा पराजित हुँदा पनि यी दुवै पार्टीका तर्फाट प्रधानमन्त्रीका उम्मेदवार बनेका नेताहरुले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएर अबरुद्ध राजनीतिलाई निकास दिनेतर्फ सोच बनाएको देखिँदैन ।
तर, नेकपा एमालेको अनुरोधमा एनेकपा माओवादीलेभने प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनसक्ने बताएर सकारात्मक संकेत दिएको छ । यसका लागि उसले कांग्रेसका उम्मेदवारले समेत उम्मेदवारी फिर्ता लिनुपर्ने शर्त राखेको छ । जुन स्वभाविक पनि छ ।
तर, अहिलेसम्मको परिस्थिति हेर्दा कांग्रेसले उम्मेदवारी फिर्तालिने संकेत देखाएको छैन । एमालेको मत नपाउने अवस्थामा माओवादीबाहेक सबैको मत पाए पनि कांग्रेस विजयी बन्न सक्ने अवस्था छैन । तर, पनि उसले उम्मेदवारी फिर्ता लिन किन आनाकानी गरेको छ ? प्रश्न गम्भीर छ ।
कांग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिएमा एनेकपा माओवादीले उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको लागि मार्ग प्रसस्त गर्न तयार भएको अभिव्यक्ति सार्वजानिक भएको छ । तर माओवादी र एमाले बाहेक सबैको मत पाए पनि विजयी हुन आवश्यक मत नपुग्ने कांग्रेसले केका लागि अडको थापिरहेको छ ? यो बुझिनसक्नुको विषय बनेको छ ।
सार्वजानिक भएका अभिव्यक्तिहरुमा सत्यता छभने केही जिम्मेवार नेताहरुले कांग्रेसलाई उम्मेदवारी फिर्ता नलिन दवाव दिएका छन् । यसको लागि उनीहरुले एमालेबाट कांग्रेसलाई मतदान गराउने आश्वासन समेत दिएको समाचार सार्वजानिक भएको छ । यदि यो भनाइ सत्य होभने यो गम्भीर र खतरनाक विषय हो ।
एमालेले संस्थागत रुपले आफूलाई राष्ट्रिय सहमतिको पक्षमा दृढतापूर्वक उभ्याएको छ । उसको यो कदमको सबैतिरबाट प्रसंसा समेत भएको छ ।
बहुमतीय सरकारबाट मुलुकले शान्ति प्राप्त गर्दैन र संविधान पनि बन्दैन भन्ने प्रस्ट दृष्टिकोण एमालेले अघिसारेको छ ।
तर शान्ति र संविधानविरोधी सक्ति तथा उग्र दक्षिणपन्थी सोचहरुलाई लोकतन्त्रिक सक्तिहरुले सतहमा आउनबाट रोक्न सकेको देखिदैन । यो लोकतन्त्रिक शक्तिहरुको कमजारी हो । शान्ति र संविधानविरोधी यस्ता विचारलाई बढबा दिनु मुलुकको हितमा छैन भन्ने बुझ्नु जरुरी छ ।