राजेश हमाल
दुइ दशकभन्दा बढी समयमा दुइ सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका राजेश हमाल अहिलेका सर्वाधिक व्यस्त नायक हुन् । राजनीतिमा कमै चासो राख्ने हमालले दलहरूमा एकता जरुरी भएको र सबैले हिंसा त्याग्नुपर्ने बताएका छन। । हमालसंग अमेरिकादर्पणले गरेको वार्तालापको अंश :
० यत्तिका वर्षनेपाली चलचित्रमा बिताउनुभयो । नेपाली चलचित्र क्षेत्रको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?
- मैले नेपाली चलचित्रबारे दुइवटा दृष्टिकोण बनाएको छु । एक, नेपाली चलचित्रले पहिलेको तुलनामा अहिले निकै गति पक्डेको छ । हरियो र फराकिलो फाँट हो चलचित्र क्षेत्र, जहाँ कलाकारको आगमन राम्रैसँग बढिरहेको छ । अर्को, नेपाली चलचित्र आफू सिद्धिएर पनि यो क्षेत्रलाई जोगाउन चाहन्छ । बितेका केही वर्षमा हलिउड, बलिउडले गरे जस्तो प्रगति भने नेपाली चलचित्र क्षेत्रले गर्न सकको छैन ।
० नेपाली चलचित्रको संख्या बढ्यो, गुणस्तर बढेन, होइन ?
- चलचित्रमा अभिनय सुरु गर्दापनि मैले गुणस्तरको खोजि गरेको हुं । अहिले पनि त्यसकै खोजीमा छु । यसको खोजी यति अनन्त हुन्छ कि कहिल्यै सकिंदैन । संख्या बढेपछि गुणस्तर जहां पनि खोजिन्छ । दर्शकहरुले कुन चलचित्र स्तरिय छ/छैन त्यो आफैं मूल्यांकन गर्छन् । त्यसैले मलाई, चलचित्रको संख्या बढ्नु पनि विकास हुनु र गुणस्तर बढ्दै जानु हो जस्तो लाग्छ । टेक्नोलोजि, कला, निर्देशनको हिसाबले पहिलेभन्दा निकै राम्रो हुंदै छ नेपाली चलचित्र ।
० सिनेकलाकारहरूमा व्यवसायिकता घट्दै गएको हो ?
- चलचित्र लोकतान्त्रिक क्षेत्र हो । कलाकारले निरन्तरता दिने लोकको इच्छाले हो । टिकीरहनका लागि कलाकारमा खुबी पनि चाहिन्छ । फिल्ममा कलाकार आउंदै/जांदै गरिरहनुले व्वसायीकता घटेको अनुभव भएपनि मलाई सम्रगमा त्यस्तो लाग्दैन । रहनसहन, दृष्टिकोण र पृष्ठभूमिहरूको फरकले सामान्य खटपट र विवाद हुनु स्वभाविक हो । समुहमा काम गर्दा फरक विचार आउंछ । तर, कलाकार व्यवसायीक पाटोतर्फ केन्द्रीत हुनु जरुरी छ ।
० हामीकहां कला चलचित्र खासै बनेनन् । यी कला चलचित्र हुन् भनेर भनिएकामा पनि खासै गुणस्तर रहेन । अब पनि नेपालमा कला चलचित्र बन्नु पर्दैन ?
- हामीकहाँ "परालको आगो"बाट कला चलचित्र बन्न सुरु भएको हो । तर, त्यसले निरन्तराता पाउन सकेन । मैले अभिनय गरेका "प्रेमपिण्ड", "वसन्ती" जस्ता चलचित्र कला चलचित्र नै हुन् । तर, त्यसले मात्र चलचित्र क्षेत्रको गुणस्तरको मापन हुँदैन । हामीकहाँ धेरै कला चलचित्र "फ्लप" भएर गएका छन् । अब कला चलचित्रभन्दा पनि व्यवसायीक चलचित्र नै बढी बन्नूपर्छ । कला चलचित्रले कहिल्यै पनि व्यवसायीक सफलता हात पार्दैन ।
० तर, कला चलचित्रले देशको कला र संस्कृति माथि उठाउन ठूलो भूमिका खेल्छ नि, होइन र ?
- त्यसो भन्दैमा हामीकहाँ कला चलचित्र नबनेका पनि होइनन् । तर, तिनको लक्ष्य कलालाई माथि उठाउनेभन्दा पनि व्यवसायीक सफतला हात पार्ने मात्रै देखियो । फेरी नेपालमा कला चलचित्र बनाउने राम्रा निर्देशक पनि त छैनन् ।
० कला चलचित्र नबनेपनि हामी आफ्ना चलचित्रमा हिन्दी चलचित्रको नक्कलबाट माथि उठ्न सकेनौं नि ?
- अरुबाट प्रभावित त सबै हुन्छन् । भारतले पनि चलचित्र बनाउँदा अंग्रेजी चलचित्रको स्रोत प्रयोग गर्छ । प्रेरणा, नक्कल र अक्कल सबै मिलाएर चलचित्र बनायौं भने रँम्रो चल्थ्यो । अरु कृतिबाट प्रभावित हुनु नराम्रो होइन । तर, पुरै नक्कल गर्नु नराम्रो हो । हामीकहाँ हिन्दीबाट नक्कल गर्ने प्रवृत्ति हुर्केको छ । राजनीतिक, सामाजिक, क्षेत्रमा जस्तै चलचित्रमा पनि छिमेकी मुलुकको प्रभाव बढेको हो । राम्रो कुराको नक्कल गर्नु नराम्रो होइन । हलिउडको नक्कल गर्दै अहिले बलिउड उसैलाई टक्कर दिने अवस्थामा पुगेको छ । अर्कोतिर नेपाली मौलिकता केलाई भन्ने ? परम्परागत संस्कृतिलाई कि आधुनिक संस्कृतिलाई ? नेपाली चलचित्रमा ढाका टोपि, गुन्यु चोलि लगाएको र हलो जोतेको मात्र देखाउनुपर्छ भन्ने म मान्दिन ।
० तपाईलाई संसारको सबैभन्दा सुन्दर को लाग्छ ? अनि नेपाली चलचित्रमा सबैभन्दा सेक्सी ?
- संसारको सबैभन्दा सुन्दर आमा हो । नेपाली चलचित्रमा खासै सेक्सी नायिका छैनन् । तर, झरना बज्राचार्य निकै सेक्सी लाग्छ ।
० .राजनीतिलाई नेपाली चलचित्रले त्यति धेरै समेटेको छैन, किन होला ?
- नसमेटेकै भन्ने त होइन । हामीकहाँ हुर्केको द्वन्द्वकै विषय र राजनीतिक पात्रहरूलाई लिएर चलचित्र बनेका पनि छन् । मैले भर्खरै गरेको दसगजा चलचित्र पनि नेपाल-भारत सीमा विवादकै विषयमा केन्द्रीत छ । हामीकहाँ राजनीति सधैं तरल रहेको अवस्थामा एउटा राजनीतिक दृष्टिकोण राखेर चलचित्र बनाउँदा अर्को पक्ष रुष्ट हुनसक्छ । फिल्मकर्मीहरुमा राजनीतिक परिर्वतनको खासै ज्ञान नभएर पनि राजनीतिक चलचित्र नबनेका होलान् जस्तो लाग्छ ।
० अहिलेको मुलुकको सङ्क्रमणकालीन राजनीतिलाई सहि दिशा दिन कसरी सकिएला ?
- हामीकहाँ दोस्रो जनआन्दोलनका उपलब्धिहरुलाई संस्थागत गरिएको छैन । ती उपलब्धिहरुलाई संस्थागत गर्नु नै हाम्रो पहिलो कदम हुनुपर्छ । यसका लागि हामीकहाँ आन्दोलन र हिंसाको जरुरी अब छैन । एकताले अघि बढ्ने हो । अब हिंसा होइन, आर्थिक क्रान्तितिर अघि बढ्नुपर्छ । सबै दलहरु मिलेर अघि बढ्नु नै अहिलेको राजनीतिलाई सहि दिशा दिने एउटा राम्रो बाटो हो ।
० तपाईंले २०० भन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएको छ । आफूले अभिनय गरेका चलचित्रलाई फर्केर हेर्दा कस्तो पाउनुहुन्छ ?
- मैले सधैं अगाडि हेर्ने हो । तर, मेरो चलचित्र राम्रै भइरहनुपर्छ भन्नेमा छु । फिल्म कस्तो छ, त्यहीअनुसार आफ्नो भुमिकालाई पनि हेरिन्छ । फेरी मैले गरेका कामको मूल्याङ्कन चलचित्र इतिहासले गर्नेछ । आधुनिक ढंगबाट अघि बढ्न अझै कलाकारिता, निर्माणको क्षेत्रमा धेरैखाले चुनौती देखेको छु मैले ।
० हामीकहाँ बन्ने अधिकांश चलचित्र हिंसाप्रधान छन् । हिंसा नभएका चलचित्र बनाउन सकिन्न ?
- चलचित्र समाजको ऐना हो । देशमा जे भइरहेको छ चलचित्रमा पनि त्यहि देखाउनु निर्देशकको धर्म हो । समाज हेरेर चलचित्र बनाउने र चलचित्रबाट समाजले नक्कल गर्ने हो । फेरी चलचित्रमा हिंसालाई अन्याय, अत्याचारको विरुद्धमा पो देखाइन्छ त । त्यहिभएर हाम्रा अधिकांश चलचित्र हिंसाप्रदान भएका हुन् ।
० नेपाली समाज पनि हिंसा रहित छैन । जता पनि हिंसा मात्रै छ । चलचित्रमा पनि त्यहि प्रभाव हो ?
-देशमा चलेको द्वन्द्व र बितेको १२ वर्षे हिंसाबाट नै समाज परिर्वतन गर्न सकिन्छ भन्ने गलत मानसिकता हामीमा हुर्केको छ । अब क्रान्ति सफल भइसक्यो । फेरी हिंसालाई प्रशय दिनु गलत पनि हो । अब पनि हिंसा सहि थियो भन्ने मानसिकता हामीले त्याग्नूपर्छ । आपसी समझदारी, वार्ताबाट नै समाज सहि दिशातर्फजानसक्छ । हाम्रा चलचित्रमा पनि त्यहि १२ वर्षको हिंसाको प्रभाव परेको हो ।
० तपाई त चलचित्रसंगै हिंसा अन्त्य अभियानमा पनि सहभागी हुनुहुन्छ नि ?
- यो कलाकार भएको नाताले मेरो दायित्व पनि हो । धेरै दर्शकलाई राम्रो छाप पर्ने भएकोले "हिंसा अन्त्य" अभियानमा म लागेको हुँ । अब सांच्चै हाम्रो समाजबाट हिंसा अन्त्य हुनु जरुरी छ ।
० तपाईको उमेर पनि अब बढ्दै जाँदै छ । तपाईं कहिलेसम्म नायक बनिरहने ?
- नायक कुन उमेरले छेक्दैन । हलिउड, बलिउडतिर जति उमेर बढ्दै जान्छ, त्यति नायक भइन्छ । भारतमा अमिताभ बच्चन यसका उदाहरण हुन् । तर, म नायक हुने/नहुने समय र दर्शकमा पनि भर्रपर्छ । म त आजीवन कलाकार रहिरहन रुचाउँछु ।
० चलचित्रमा हिजोका दिनमा भन्दा आज प्रतिष्पर्धा बढ्दै गएको मान्नुहुन्छ ?
- चलचित्रमा प्रतिष्पर्धा निकै बढेको हो । अरुसंग नभएपनि आफैंसंग, कलाकारसंग सके हलिउड, बलिउडसंग पनि प्रतिष्पर्धा गर्नुपर्छ । चलचित्रमा प्रतिष्पर्धा आत्मसन्तुष्टिको एउटा पाटो पनि हो । तर, म अरु कलाकारसंग तिब्र प्रतिष्पर्धामा छु भन्ने लाग्दैन । मलाई नयाँ पुस्ताबाट आएका कलाकारहरूले सधैं चुनौती दिइरहेका छन् भन्ने चाहिँ सधैं लागिरहन्छ ।
० केही समय अघि तपाईंले चलचित्र निर्देशन गर्छु भन्नुभएको थियो । तर, पछि त्यो कुरा सेलायो । तपाईंको निर्देशनमा बनेको चलचित्र दर्शकले कहिले हेर्न पाउलान् ?
- मैले चलचित्र निर्माण र निर्देशन गर्ने इच्छा गरेको धेरै भयो । त्यो इच्छा मेरो मनभित्रै कैद भएर रहिरह्यो । अब म चाँडै चलचित्र निर्देशन पनि गर्दै छु । मेरो निर्देशन र म आफैं नायक भएको चलचित्र दर्शकले छिट्टै हेर्न पाउनेछन् ।
० हामी अरु देशको अरुको तुलनामा फेसनमा कहा“ छौं जस्तो लाग्छ ?
- आम नेपाली फेसनेवल छन् । बरु भारत नै फेसनेवल छैन । हामी त्यति धेरै फेसन गर्र्छौं कि त्यो हामीलाई नै पच्दैन । कपाल रंग्याएर होस् कि जिन्स प्यान्ट प्वाल पारेर होस् आफूलाई फेसनेवल देखाउन हामी अब्बल छौं ।
० आफू कत्तिको फसनेवल हुँ जस्तो लाग्छ ?
- म जानेर कहिल्यै फेसन पछ्याउँदिन । फेसन पछ्याउने/नपछ्याउनेप्रति मेरो आफ्नै परिभाषा छ । सबैको पहिरन छनौटमा आफ्नै धारणा हुन्छ । अरुको तुलनामा म फेसनेवल हुँ जस्तो लाग्दैन ।
० बेलुकी कुनै पार्टी र औपचारिक समारोहमा जानुपरे कसरी तयार हुनुहुन्छ ?
- पार्टी कस्तो खाले भन्नेमा फरक पर्छ । साथीभाईको पार्टी हो भने सामान्य भएर जान्छु । कहिलेकाहीं त जिन्स प्यान्टमा पनि गएको छु । सामान्य सर्ट, पाइन्ट लगाउन मन लाग्छ । तर, अलि ठुलै स्तरको पार्टी हो भने, मान्यजनहरु आउने पार्टी हो भने कोट, पाइन्ट नै लगाउँछु ।
० बेलुकीको पार्टी लाई सबैभन्दा राम्रो पहिरन कुन हो जस्तो लाग्छ ?
- कोट, पाइन्ट । वा राम्रो र लाइट र्सट प्यान्टमा पनि राम्रै देखिन्छ ।
० फिल्ममा जस्तै पार्टीमा नाच्नुहुन्छ कि हुँदैन ? कस्तो संगीतमा नाच्न मन लाग्छ ?
- फिल्ममा नाच्ने त बाध्यताले हो । यदि पार्टीमा मन मिल्ने साथीले करै गर्यो भने नाच्छु । तर, त्यो सबै पनि मुडमा भर पर्छ । पार्टी भनेपछि त अलि हिपहप, रकिङ र डान्सिङ म्युजिक भए राम्रो ।
० को-कोस“ग नाच्न मन लाग्छ ?
- परिवारका सदस्यसं वा साथीहरुसंग । जन्मदिन, चाडपर्वतिर नाच्न मन लाग्छ ।