बाह्रौ महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेस देशभर स्पष्ट दुइ खेमामा बिभाजित भएको छ । लामो समयसम्म पार्टी नेतृत्व गरेका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि दुबिधामा बसेका कांग्रेस नेता कार्यकर्ताहरु पनि महाधिवेशनको संघारमा दुइ कित्तामा उभिएका छन् । आगामी असोज १ देखि ५ गतेसम्म काठमाडौंमा हुन लागेको बाह्रौं महाधिवेशनमा कार्यबहाक सभाति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा उम्मेदारी दिने घोषणा गरेपछि कांग्रेसका नेता कार्यकर्ताहरु दुइ धु्रवमा उभिएका हुन । उम्मेदवारी घोषणासँगै देशभर भएको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयनको क्रममा दुइ खेमामा बिभाजित भएका कांग्रेस नेता कार्यकर्ताहरुबीच कतिपय जिल्लामा आफ्नै खेमाभित्र पनि चर्को गुटबन्दी देखिएको छ ।
जिल्ला सभापतिका लागि भएको निर्वाचनमा कोइराला खेमामा रहेका कतिपय नेताहरु आफ्नो गृहजिल्लामा बिपरित ध्रुवमा उभिएका छन । निर्वाचनको क्रममा झापामा कोइराला खेमाका हस्तीहरु कृष्ण सिटौला र चक्र बाँस्तोलाबीच नै प्रतिस्पर्धा भएको छ । यस्तै नुवाकोटमा कोइराला खेमाबाट महामन्त्रीका उम्मेदवार घोषणा गरेका नेता अर्जुननरसिंह केसी र डाक्टर रामशरण महतबीच चुनाव भएको छ । झापामा सिटौलाले बाँस्तोला र नुवाकोटमा केसीले महतलाई पराजित गरेका छन् । यस्तै तनहुमा पनि कोइराला खेमामा रहेका संसदीय दलका नेता रामचन्द्र पौडेल र गोबिन्दराज जोशीबीच टकराव देखिएको छ । टकरावका कारण रामचन्द्रले देउवा खेमामा रहेका उम्मेदवारलाई समर्थन गरी बिजयी बनाएका छन् । दोलखामा पनि कोइराला खेमामा रहेका केन्द्रीय सदस्य भीमबहादुर तामाङले समर्थन गरेका रुद्रबहादुर खडकालाई ताराबहादुर कोइरालाले पराजित गरेका छन् । यस्तै मोरङ र सुनसरीमा कोइराला खेमामै रहेकी उपप्रधानमन्त्री सुजता कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाका उम्मेद्धारबीच प्रतिस्पर्धा भएको छ ।
दुवै जिल्लामा आफ्ना उम्मेदवार जिताउन सफल भएकी सुजताले पनि महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् । यता गुट परिवर्तन गरी कोइरालातिर लागेका उपसभापति प्रकाशमान सिंहले पनि महामन्त्रीको उम्मेद्धारी दिने बताएपछि कोइराला अप्ठयारोमा परेका छन् । अहिलेसम्म कोइराला खेमाबाट सुजता कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र डाक्टर रामशरण महतले महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरिसकेका छन । बिधान परिवर्तन नभए एक महामन्त्रीका लागि आफ्नै खेमाबाट चारजनाले उम्मेद्धारी दिने बताएपछि कोइराला अप्ठ्यारोमा परेका हुन् । देउवा खेमाबाट भने अहिलेसम्म बर्तमान महामन्त्री बिमलेन्द्र नीधि र खुमबहादुर खड्काले महामन्त्रीमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा गरेपनि नीधिले देउवालाई बिजयी बनाउनका लागि खड्कालाई महामन्त्रीको उम्मेद्धारी बनाएर अघि बढ्न र आफू मनोनितका लागि पनि तयार भएको बताएर आफ्नो कित्ताको नेतृत्व गरेका छन् । कोइराला खेमामा बढ्दै गएको उम्मेद्धारीको होडका कारण अहिलेसम्म कोइराला परिवारभन्दा टाढा नगएका महामन्त्री केबी गुरुङ पनि देउवाको कित्तामा पुग्न लागेको बताइएको छ । पछिल्लो समयमा कोइराला खेमाबाट बिरक्तिएका नरहरि आचार्य लगायतका समूह पनि छुट्टै उम्मेद्धार बनाउने कि दुइमध्ये एकलाई समर्थन गर्ने भन्ने निर्णय गर्न सकेको छैन । यता, गगन थापा, रामहरि खतिवडा, सोभाकर पराजुली, लगायतका हैसियत भएका युवा नेताहरु पनि आफू केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि छुट्टै रणनीति तय गर्न थालेका छन् । कोइराला खेमामा देखिएका उनीहरु आफ्नो रणनीतिमा लागेपछि जुनसुकै बेला जे पनि निर्णय गर्न सक्ने अवस्थामा रहेको बताइएको छ ।
महाधिवेशनको तयारीको क्रममा भएको जिल्ला अधिवेशनमा केही कमजोर देखिएका देउवाले कोइराला खेमामा देखिएको प्रतिस्पर्धाको फाइदा उठाउने रणनीतिमा लागेका छन् । यद्यपी कोइरालाको बिर्ता ठानिएको मध्यपश्चिममा समेत बरावरी परिणाम आएपछि देउवा हौसिएको श्रोतले बताएको छ । अहिलेसम्मको परिणामअनुसार ताप्लेजुङमा केशव दाहाल, पाँचथरमा नरेन्द्रकुमार नेम्वाङ, इलाममा केशव थापा र झापामा उद्धव थापा सभापतिमा निर्वाचित भएका छन् । यस्तै कोशी अञ्चलको मोरङमा अमृत अर्याल, सुनसरीमा राजीव कोइराला, संखुवासभामा तारामान गुरुङ, तेह्रथुममा गोबिन्द ढुंगाना, भोजपुरमा बालकृष्ण थापा र धनकुटामा मनोहरनारायण श्रेष्ठले सभापतिमा निर्वाचित भएका छन् । यस्तै सगरमाथा अञ्चलमा पर्ने सोलुखुम्बुमा आङगेलु शेर्पा, खोटाङमा बिष्णुकुमार राई, ओखलढुंगामा प्रदीप सुनुवार, उदयपुरका हिमाल कार्की, निर्वाचित भएका छन्भने सिराहा र सप्तरीमा बिवादका कारण अधिवेशन हुन सकेको छैन ।
यसैगरी जनकपुरको दोलखामा ताराबहादुर कोइराला, रामेछापमा रामचन्द्र खड्का, सिन्धुलीमा मोहन बराल निर्वाचित भएका छन्भने धनुषा, महोत्तरी र र्सलाहीमा अधिवेशन हुन सकेको छैन । धनुषामा देउवा खेमाका महामन्त्री बिमलेन्द्र नीधि राष्ट्रपतिका पुत्र डाक्टर सरोजमोहन यादवलाई र्समर्थन गरेपछि उहाँको र्समर्थन समेत देउवा खेमाले पाउने भएका छन् । कांग्रेसभित्र राष्ट्रपति यादव यसअघि कोइराला परिवारका घनिष्ठ सहयोगीको रुपमा रहनुभएको थियो । राष्ट्रपति यादवले संकेत मात्र गर्दा पनि परिणाममा फरक पार्ने कांग्रेस नेताहरु बताउँछन् । यस्तै बागमतिको नुवाकोटमा जगदीश्वर नरसिंह केसी, धादिङमा रामनाथ अधिकारी, ललितपुरमा मदन अमात्य सभापतिमा निर्वाचित भएका छन् । रसुवा, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर र काठमाडौंमा निर्वाचन हुन सकेको छैन । काठमाडौंमा कोइराला खेमाका राजन खत्री र देउवा खेमाका भीमसेनदाश प्रधानबीच पुनः दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचनमा बरावर मत ल्याएका दुवै उममेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यस्तै बिवादका कारण स्थगित रसुवामा भदौं ३ गते, काभ्रेमा भदौं ४, सिन्धुपाल्चोक र भक्तपुरमा भदौं १२ गते निर्वाचन तोकिएको छ ।
यसैगरी नारायणीको मकवानपुरमा रघुरमन न्यौपाने, रौतहटमा कृष्ण यादव, चितवनमा बिकाश कोइराला सभापतिमा निर्वाचित भएका छन् । बारामा हिजो निर्वाचन भएपनि परिणाम आउन सकेको छैन । पर्सामा बिवाद कारण अहिलेसम्म निर्वाचनको तिथि नै टुंगो लागेको छैन । यस्तै गण्डकीको गोरखामा हरि घले, मनाङमा टेकबहादुर गुरुङ, लम्जुङमा कृष्णप्रसाद कोइराला, कास्कीमा यज्ञबहादुर थापा, तनहुमा ध्रुव वाग्ले र स्याङ्जामा कमल पंगेनी सभापतिमा निर्वाचित भएका छन्भने लुम्बिनी अञ्चलको गुल्मीमा चन्द्र केसी, पाल्पामा बीरबहादुर राना, अर्घाखाचीमा कमलप्रसाद भुषाल, नवलपरासीमा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र कपिलबस्तुमा राजेश आचार्य निर्वाचित भएका छन् । रुपन्देहीमा भदौं १ गते निर्वाचन हुँदैछ । यसैगरी धौलागिरीको म्याग्दीमा रेशमबहादुर बानिया, बाग्लुङमा प्रकाश पौडेल, पर्वतमा लालकाजी गुरुङ निर्वाचित भएका छन्भने मुस्ताङमा अधिवेशन हुन सकेको छैन ।
राप्तीको दाङमा घनश्याम रेग्मी, सल्यानमा गणेश चन्द, रुकुममा मानबहादुर नेपाली, रोल्पामा कृष्णबहादुर घर्ती र प्यूठानमा सुभाष केसी सभापतिमा निर्वाचित भएका छन । कर्णाली अञ्चलको डोल्पाबाहेक अन्य सबै जिल्लामा देउवा पक्षधर सभापतिमा बिजयी भएका छन् । जसअनुसार मुगुमा ऐनबहादुर शाही, जुम्लामा मानव सैजुवाल, कालिकोटमा कालिबहादुर साकारी र हुम्लामा जयपति रोकाया निर्वाचित भएका छन्भने डोल्पामा अधिवेशन हुन बाँकी रहेको छ । यस्तै भेरीको बाँकेमा डाक्टर अरुण कोइराला, बर्दियामा सञ्जय गौतम, सुर्खेतमा तप्तबहादुर बिष्ट, दैलेखमा कृष्ण बिसी निर्वाचित भएका छन भने बिवादका कारण जाजरकोटमा अधिवेशन हुन सकेको छैन । यसैगरी सेतीको अछाममा पुष्पबहादुर शाही, डोटीमा बीरबहादुर बलायर र कैलालीमा नरनारायण शाह निर्वाचित भएका छन्भने बझाङ र बाजुरामा निर्वाचन हुन बाँकी रहेको छ । यस्तै महाकालीको दार्चुलामा महादेव बडु, बैतडीमा नरबहादुर चन्द, डडेलधुरामा कर्ण बहादुर मल्ल, कञ्चनपुरमा बहादुरसिंह थापा निर्वाचित भएका छन् ।
जिल्ला सभापतिको अहिलेसम्म प्राप्त परिणाममा केही कमजोर देखिएका देउवा महाधिवेशनसम्म कोइरालाभन्दा अग्रपंक्तिमा पुग्ने बिश्वासका साथ अघि बढेको बताइएको छ । कोइराला खेमाभित्र रहेको अन्तरद्वन्द्वलाई समातेर चलखेल गरी कोइरालालाई कमजोर बनाएर आफू सभापतिमा बिजयी हुनका लागि देउवाले देशब्यापी रुपमा आफू निकटलाई खटाएको समेत श्रोतले बताएको छ । सभापतिका उम्मेद्धारीमा बलियो देखिएका कोइरालालाई भने आफ्नै समुहबीचको लडाइ घाँडो बनेको छ । स्वयं कोइरालाले कतिपय नेतासंग आफु सभापति जित्ने पक्का जस्तै भएपनि आफ्नै समूह घाँडो बनेको र त्यसैले पराजयको सामना गर्नु पर्ने अवस्था आउन सक्ने भन्दै मिलाउन विभिन्न नेतालाई आग्रह गरेका छन् ।