अनिल पाण्डे
फेस-बुक इन्टरनेटको दुनियाँमा बहुप्रचलित सञ्चारमाध्यम हो भन्नेमा कसैको दुइ मत छैन । "सामाजिक सम्बन्ध विकासका लागि" भन्ने लक्ष्यका साथ अगाडि आएको यस माध्यमले वास्तबमै अपूर्व योगदान दिइरहेको पनि छ । सर्वेक्षणले के देखाएको छ भने, ६० वर्ष उमेर नाघेका व्यक्तिहरु पनि फेस-बुकका सदस्य छन् । यद्यपि जति बढी किशोर-किशोरी र युवा यस माध्यममा लागेका छन्, त्यति वयस्कहरु छैनन् । खासगरी ४० नाघेका व्यक्तिहरुको सदस्य संख्या क्रमशः घट्दै गएको फेस-बुककै सर्वेक्षणले देखाएको छ । तर संख्या अनुपातिक रुपमा कम मात्र भएको हो, तर वयस्कहरुको संख्या पनि करोडौंमा हुनुपर्छ ।
यस लेखकले फेस-बुक हेर्दै जाँदा स्कुल पढ्दाका पुराना साथीहरु पनि फेला पारेको छ । साथीका साथी र उनीहरुका पनि साथी खोज्दै जाने र कसैको नाम "र्सच बार" मा टाइप हानेर खोज्ने हो भने तस्वीरसहित ती व्यक्तिहरु देखिने भएका कारण यसको आकर्षण अद्वितीय बन्न पुगेको हो । किनभने यस प्रकारको सुविधा अन्यत्र कुनै इन्टरनेट माध्यममा पाइँदैन । त्यसैले यसले फुर्सदको समय फेस-बुकमा बिताउने गरेको छ । दशकौं नभेटेका पुराना साथीहरु हसिलो अनुहारमा परिवारसहित आफ्नै कम्प्युटरको पर्दामा प्रकट हुँदा रमाइलो लाग्नु अस्वाभाविक पनि होइन । जसलाई चाह्यो उसलाई "मेसेज" पठाउन पनि मिल्ने भएका कारण स्वतन्त्रता र अवसर दुवैका दृष्टिकोणले यसको महिमा उच्च हुन पुगेको हो । लामा-लामा भिडियो चित्र र फोटो एल्बमहरु समावेश गर्न सकिने सुविधाका कारण प्राविधिक रुपले पनि यो निक्कै उचाइमा रहेको प्रष्ट हुन्छ ।
संसारमा प्राकृतिक नियम के छ भने, जुन वस्तुका सकारात्मक गुणहरु बढी हुन्छन् त्यसका नकारात्मक विशेषता पनि कम हुँदैनन् । जस्तो हालैको एक पीडादायक घटना म यहाँ उल्लेख गर्न लागिरहेको छु । कुरा के भने, क्यालिफोर्नियाको बर्क्ली नगरमा बस्ने मेरा एक साथी केही दिनयता निकै विरक्त देखिन्थे । अनिदा आँखाहरु, टोलाइरहने बानी र कामबाट घर फर्किदा गरौं शरीर बनाउने उनको व्ववहार मलाई अनौठो लाग्यो । सानो परिवार सुखी परिवारका धनी उनी किन घरपरिवारप्रति विरक्त भएका हुन् भनेर मैले बुझ्न चाहेँ । कसैको व्यक्तिगत मामिलामा चियो-चर्चो गर्ने बानी त मेरो छैन तर एक नेपालीलाई परेको समस्या समाधानमा अर्को नेपालीले योगदान दिन मिल्ने अवस्था छ भने चुप लागेर बस्ने पनि मेरो स्वभाव होइन । त्यसैले मैले आफैंले काम गर्ने रेष्टुरामा उनलाई खाजा खाने निम्ता दिएँ ।
मित्रले विस्तारै आफ्नो व्यथाको पोको खोले । उनी श्रीमती सहितको सयन कक्ष छोडेर १०-१२ दिनदेखि बैठक कोठामा सुत्न थालेका रहेछन् । कारण अरु केही नभएर फेस-बुक नै देखियो । कुरा के परेछ भने, करिब ६ महिना अघिदेखि श्रीमतीले स्कुल पढ्दाको पुरुष साथी फेस-बुकमा भेटिछन् । भेट्नु के थियो, पहिलो प्रेम पुरानो सम्बन्ध ताजा भएर आइहाल्यो । लामो-लामो समयसम्म च्याट हुने र फोनमा पनि कुरा चल्ने अवस्था आयो । श्रीमतीको पुरुष साथी नेपालमै रहेकोले फोनमा वार्ता गर्न भने त्यति सहज थिएन । तापनि अमेरिकामा श्रीमतीको राम्रो जागिर भएको र नेपालमा आइ-कलको सुविधा रहेको कारण एक आपसको बोली सुनेरै किशोर अवस्थाको प्रेम ताजा बनाउन सकिन्थ्यो । तर समस्या के थियो भने दुवैका लागि बार्ता गर्ने अनुकूल वातावरण । घरमा छोराछोरी समेत भएका दुइ परिवारका वयस्कहरु प्रणयमा गाँसिन नैतिक सङ्कट पर्न सक्थ्यो । अन्ततः सङ्कट पर्यो नै । कक्षा ८ मा पढ्दादेखि सुरु भएको प्रेम स्नातक गर्दासम्म निकै परिपक्क भैसकेको रहेछ । पिकनिक, पार्क, बजार, भ्रमण, यात्रा, भोज, साँस्कृतिक कार्यक्रम आदि पार गरिसकेको पहिलो प्रेम परिबन्दले विवाहमा परिणत हुन सकेको रहेनछ । श्रीमतीले आफ्ना दुइ छोरा पाएर पनि आजसम्म पहिलो प्रेमीलाई नै बढी चाहेको उसले बुझ्यो । अन्ततः श्रीमान् श्रीमती एकै छत मुनि रहेर पनि बेग्लै कोठामा रात विताउन थाले ।
साथीको सबै कथा सुनेपछि मेरो ध्यान उनको उमेरमा गयो । ४० बसन्त काटिसकेका ती साथीले सम्बन्ध विच्छेद गरेभने आउने परिणामप्रति म गम्भीर भएँ । यस उमेरमा नेपालमा रहेको "ब्वाय-फ्र्याण्ड" लाई माया गरेर उनकी श्रीमतीले के पाउने हुन्, दुवै परिवारका छोराछोरीको मानसिकतामा कस्तो असर पर्ने हो भन्ने कुराप्रति म गम्भीर भएँ । मैले सोधें, "अब के गर्नुहुन्छ त मित्र ?" मैले प्रश्न गरिरहदा आफ्ना विद्यालयका केटीसाथीहरु शर्मिला, विजया, रुपा, रमिलाहरुलाई सम्झें । उनीहरुलाई कसले बढी प्रभाव पार्ने भनेर हामी केटाहरुमा एक प्रकारको प्रतिस्पर्धा हुन्थ्यो । उनीहरुमध्ये कसैले यो उमेरमा आएर मलाई "आई लभ यू" भनी भने, नेपाली परिवेशलाई समेत ख्याल गर्दै मैले "आई यम सरी" भन्नैपर्छ । यो उमेरमा मैले यौनजन्य प्रेममा होइन, समाजसेवा, देशभक्ति, लेखन, कलाकारिता आदिमा केही गर्न सक्नुपर्छ । छोराछोरीलाई असल बाटो देखाउनु मेरो प्राथमिकतामा पर्नुपर्छ । मन परेकी केटी पाएँ भनेर यो उमेरमा बहकिंदा दरबारमा आगो लाग्दा बाँसुरी बजाउने मुर्ख राजाको नक्कल हुन जान्छ ।
मैले साथीलाई यति भने, "मरुभूमिमा कुनै बनस्पतिको विरुवा उम्रियो भनेर चिन्तित हुनु पर्दैन किनभने त्यो ठूलो बृक्ष बन्नै सक्तैन । ठूलो वृक्ष बन्नका लागि चाहिने तत्व मरुभूमिमा हुदैन ।" साथीलाई त मैले सुझाव दिएँ तर यसरी अन्य कति बयस्क जोडीलाई फेस-बुकले चुनौती दिइरहेको होला भनेर, ऊ गएपछि पनि म गम्भीर बनि रहें ।