अमेरिका, २१ अगष्ट/ इजरेल र प्यालेष्टाइनबीच आगामी सेप्टेम्बर २ बाट प्रत्यक्ष शान्तिवार्ता हुने भएको छ।
अमेरिकी विदेशमन्त्री हिलेरी क्लिन्टनले विगत २० महिनादेखि अवरुद्ध इजरेल र प्यालेष्टाइनबीचको प्रत्यक्ष शान्तिवार्ता पुनः सुरु हुन लागेको बताएकी हुन्।
प्यालेष्टिनी प्रशासनका राष्ट्रपति महमूद अब्बास र इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूलाइ वार्ताका लागि अमेरिकाको राजधानी वाशिंगटन डि सि आमन्त्रण गरिएको छ।
मध्यपूर्वमा शान्ति र स्थिरता ल्याउन अमेरिकाको पहलमा वर्षौदेखि प्रयास हुँदै आएका छन्। विदेश मन्त्रालयमा क्लिंटनले इजरेल र प्यालेष्टाइनबीचको गतिरोध आगामी १ वर्षभित्र नै अन्त्य गर्ने चाहना राष्ट्रपति बाराक ओबामाको रहेको र उनकै नेतृत्वमा दुवै नेताहरुलाई वार्ताको लागि वाशिंगटन डीसीमा बोलाइएको जानकारी गराइन्।
उता प्यालेष्टिनी पक्षले इजरेलले बस्ति विस्तार योजनालाई पुन जारी राखेमा वार्तामा नबस्ने चेतावनी दिएको छ। इजरेलले आफूले अतिक्रमण गरेको प्यालेष्टिनी भूमिमा बस्ति विस्तार योजनालाइ अनूमोदन गरेकै कारण इजरेल र प्यालेष्टिनीबीचको शान्ति वार्ता अवरुद्ध बनेको थियो।
पूर्वी जेरुसलेमलाई आफ्नो भविष्यको राजधानी मान्ने प्यालेष्टिनीहरु एक स्वतन्त्र प्यालेष्टिनी राष्ट्रको गठनका लागि वर्षौंदेखि संघर्षरत छन्।