अमेरिका, २७ अगष्ट / अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर उत्तर कोरियामा बन्दी बनाइएका एक अमेरिकी नागरिकलाई मुक्त गर्न सफल भएका छन्।
एकतीस वर्षीय ऐजालोन माहलीलाई गत अप्रिल महिनामा चीनको सीमा क्षेत्रबाट अवैध रुपमा आफ्नो मुलुक प्रवेश गरेको आरोपमा उत्तर कोरियाले नियन्त्रणमा लिएको थियो।
उनलाई उत्तर कोरियाली सरकारले दोषी ठहर गर्दै कडा श्रमसहित आठ वर्षको कारावासको सजाय दिएको थियो।
बुधवार प्योङ्गयाङ्ग पुगेका कार्टरले उत्तर कोरियाका नेता एवं वरिष्ठ अधिकारीहरुसँग भेट गरेका थिए। कार्टरको उत्तर कोरिया भ्रमणलाई एक निजी मानवीय भ्रमणको रुपमा व्याख्या गरिएको छ।
कार्टरको उत्तर कोरियाका नेताहरुसँगको भेटपछि माहली मुक्त भएको उत्तर कोरियाली समाचार संस्था नर्थ कोरियन सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ।
प्योङ्गयाङ्गको आणविक गतिविधिका कारण कोरियाली प्रायद्धीपबीच तनाव बढिरहेका समयमा भएको कार्टरको भ्रमणलाई चासोका साथ हेरिएको छ।