अमेरिका, २७ अगष्ट / एक जना बरिष्ठ अमेरिकी अधिकारीले पाकिस्तानी तालिबानहरुले त्यहाँ बाढी पीडितहरुको राहतमा सक्रिय विदेशीहरुमाथि आक्रमण गर्ने योजना गरिरहेको चेतावनी दिएका छन्।
तालिबानहरुको आक्रमणका निशानामा पाकिस्तानका संघीय मन्त्री तथा स्थानीय अधिकारी समेत पर्न सक्ने ती अधिकारीको भनाइ छ।
पाकिस्तानको दक्षिणी क्षत्रमा मनसुनी वर्षापछि आएको बाढीका कारण हजारौ मानिसहरु आफ्नो घर छाडी सुरक्षित स्थानतर्फ लागिरहेको समाचार आइरहेको समयमा अमेरिकी अधिकारीको चेतावनी सार्वजनिक भएको हो।
बाढीका कारण सिन्ध प्रान्तको थाट्टा क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ। सो क्षेत्रको दर्जनौ गाउहरु डुबानमा परेका छन् भने थाट्टा क्षेत्रबाट करिव दुई लाख मानिसहरुलाइ सुरक्षित स्थानतर्फ सारिएको उद्धारकर्मीहरुले बताएका छन्।
अमेरिकी सरकारले प्राप्त गरेको गोप्य सूचनामा पाकिस्तानको अतिबादी समूह तेरिक-ए तालिबानले बाढीको उद्धारमा सक्रिय विदेशीहरुमाथि आक्रमणको योजनाबनाइरहेको अमेरिकी अधिकारीहरुको दावी छ।
अमेरिका बाढी ग्रस्त पाकिस्तानलाई सहयोग गर्ने सबैभन्दा ठूलो सहयोग दाता राष्ट्र हो। पछिल्लो समाचार पछि अमेरिकाको सहयोग प्रयासमा पर्ने प्रभावका विषयमा भने केही बताइएको छैन।
अमेरिकाले पाकिस्तानका बाढी पीडितको उद्धारका लागि पन्ध्र करोड डलर प्रदान गरिसकेको छ। उत्तरी क्षेत्रमा बाढी र पैरोका कारण प्रभावित बनेका मानिसहरुको लागि उद्धार र राहत कार्य प्रभावकारी बनाउन संयुक्त राष्ट्र संघले अन्तरराष्ट्रि दातृ राष्ट्रहरुसँग अझ बढी हेलिकप्टरहरुको माग गरेको छ।