बुबालाई सम्झेर...
हालै मात्र अमेरिकाबाट नेपाल आएर बुबाको पुरानो डायरी र चिठिहरू बटुलेर पुस्तकाकार रुपमा बजारमा ल्याएकी लैनसिंह वाङ्देलपुत्री डा.डिना वाङ्देल अमेरिकाको भर्जिनिया विश्वविद्यालयमा प्राध्यापन गर्छिन् । विश्वविद्यालयमा उनी कला विषय पढाउँछिन् । बुबाको पुरानो डायरी "मुलुकबाहिर मं" पुस्तक प्रकाशित गरेकी उनले "द सर्कल अफ ब्लेस" र "पिल्ग्रीमेज अफ फेथ" गरि कला, दर्शन र धर्मबारे दुइ पुस्तक प्रकाशित गरेकी छिन् । लैनसिंह वाङ्देलले सन् २००२ मा यस भौतिक संसारबाट बिदा लिए । तर, उनका कृतिहरूका मूल्य-मान्यता झनै बढ्दैछन् । नेपालका विराट कलाकार वाङ्देलले विश्वका धेरै मुलुक यात्रा गरे । र, ति यात्राका सम्झना उनका विभिन्न पुस्तकमा सुरक्षित छन् । वाङ्देलको "रोमको एउटा फूल प्यारिसको एउटा काँडा" अहिलेसम्मकै चर्चित यात्रा संस्मरण हो । हालै नेपाल आएका बेला अमेरिकादर्पणसंग डा. डिनाले आफ्ना पितालाई यसरी सम्झना गरिन् -
******
मेरो घरमा तस्बिरहरू जताततै झन्डिएका हुन्थे । मेरो घरै एउटा ग्यालीजस्तो लाग्थ्यो । कुनै एउटा तस्बिरमा मेरा आँखा टाँसिन्थ्यो । त्यसबेला म अर्कै संसारमा पुग्थें । मेरो आँखा, मेरो मन, मेरो ध्यान, मेरो कल्पना अर्कै संसारमा झुन्डिरहन्थ्यो । मलाई मेरो घर नै कलात्मक लाग्थ्यो । बुबा घरमा बस्दा कि पेन्टिङ गर्नुहुन्थ्यो कि त लेख्न बस्नुहुन्थ्यो । उहाँको लेख पढ्दा पनि एउटा आर्टजस्तै लाग्थ्यो ।
******
हाम्रो घरमा धेरै पछि टिभी ल्याएको हो । हरेक साँझ घरको आँगनमा मकलमा सानो आगो बालेर हामी (म, ममि) बुबाको कुरा सुन्न भेला हुन्थ्यौं । तातो सुप खाँदै उहाँ कथा सुनाउनुहुन्थ्यो । उहाँका कथामा राजकुमार हुन्थे, एउटा सुन्दर गाउँ हुन्थ्यो र अनेक थरि हुन्थे । म उहाँको कथा सुनेर दंग पर्थें । कहिलेकाहीँ कथा यति लम्बिन्थ्यो कि आधा रात हुन्थ्यो, कथा सिद्धिदैनथ्यो । उहाँ प्रत्येक दिन कथा सुनाउनुहुन्थ्यो र त्यो एउटै कथाको लामो सिरिज हुन्थ्यो । कहिलेकाहीं त त्यो कथा वर्षौंसम्म पनि सिद्धिदैनथ्यो ।
******
उहाँ चर्चित चित्रकार भिन्सेन्ट भ्यानगगको चिहानको बारेमा भन्नुभएको थियो-भ्यानगगको चिहान बडो साधारण रहेछ छोरी । त्यहाँ लहरा पातले छोपेको रहेछ । सिराननेर सेतो पत्थर उभ्याइएको थियो, जसमा लेखिएको थियो-यहिं भिन्सेन्ट भ्यानगग सुतेका छन् । चिहानमाथि यत्रतत्र फूलैफूल छरिएको थियो । वसन्तको आगमनमा फुलेको फूल टिपी मैले पनि भ्यानगगलाई श्रद्धान्जलि चढाएं । भ्यानगगले एकान्त खेतमा चित्र बनाइरहेका बेला उनले रिवल्वरले पेटमा गोली हानेर आत्महत्या गरे । एकपटक बुबाले विदेशी भूमिमै रहँदा आमा छाँयाँलाई एउटा चिठि लेख्नुभएको थियो-\\\'भ्यानगगले पेन्टिङ बेचेनन र सुसाइड गरे । तर, हेर म सुसाइड गर्दिनं ।\\\' म ८ कक्षा पढ्दा बुबाले मलाई भ्यानगगको जीवनी \\\'लस्ट फर लाइफ\\\' पढ्न दिनुभयो । मैले त्यो पढेपछि भ्यानगगको जीवन सम्झेर धेरेबेर टोलाउँथें ।
******
विश्वचर्चित कला फिल्म निर्देशक सत्यजीत रेस“ग बुबाको निकै राम्रो दोस्ती थियो । बुबा र सत्यजीत रे एउटै कलेज ,एउटै कक्षामा पढ्नुभएको रे । सत्यजीत रे नेपाल आएका बेला हाम्रै घरमा बस्नुहुन्थ्यो । र, बुबा र उहाँबिच लामो समय कला र फिल्मको बारेमा कुरा हुन्थ्यो । उहाँहरूका मिठा गफ सुनेर म दंग पर्थें । सत्यजीत रे एउटा फिल्म सुटिङको लागि नेपाल आउनुभएको थियो । उहाँले मलाई बिस्तारै बोलाएर उहाँको बायोग्राफि दिंदै भन्नुभयो-छोरी तिम्रो बुबा र मेरो सम्बन्ध यहि बायोग्राफिमा छ, पढ्नु ।\\\'
******
यता आइ.ए पास गरेपछि म अमेरिका पढ्न गएं । त्यसपछि मेरो अधिकांस समय उतै बित्यो । बुबा र म धेरै विदेशी भूमिमा संगै घुम्न गएका छौं । हामी अमेरिका, युरोपमा धेरै देशहरू संगै घुम्यौं । उहाँलाई फ्रेन्च र अमेरिकन वाइन कलेक्ट गर्ने सोख थियो । ५० वर्ष पुरानो वाइन पनि उहाँले कलेक्ट गर्नुभएको थियो ।
******
******
बुबाको डायरी लेख्ने बानी थियो । ती डायरीमा उहाँका दैनिक घटना र सम्झनाहरू लेख्नुहुन्थयो । ती डायरीका केही सम्झना मसंग सुरक्षित छन् । ८ वर्षघि बुबा बितेपछि उहाँका डायरी, किताब, पेन्टिङ र चिठिहरूप्रति मेरो माया झनै बढेको छ । ती चिठीहरूलाई सम्झदा म खुब नोस्टाल्जिक हुन्छु । अतितका ती दिनहरू मेरा कल्पनामा आउँदै-जाँदै गर्छन् । क्यानभासमा पोतिएका धमिला आकृतिलाई सम्झिरहन्छु ।