अमेरिका, ३१ अगष्ट / अमेरिकी अधिकारीहरुले शक्तिशाली आँधी हुर्रिकेन एर्लले मुलुकको पूर्वी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउनसक्ने चेतावनी दिएका छन्।
हुर्रिकेन एर्ल क्यारेबियन क्षेत्रमा प्रवेश गरिसकेको र यसको गति २१५ किलोमिटर प्रतिघण्टा भन्दा बढी रहेको अमेरिकाको नेशनल हुर्रिकेन सेन्टरले बताएको छ।
नेशनल हुर्रिकेन सेन्टरले एर्ललाई चौथो तहको आँधीको संज्ञा दिँदै उत्तर पश्चिम दिशातर्फ अघि बढिरहेको जनाएको छ। सेन्टरका अनुसार यो साताको अन्त्यसम्ममा एर्लले अमेरिकाको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने र त्यतिबेलासम्ममा अझ शक्तिशाली हुनसक्नेछ।
अधिकारीहरुले यसले व्यापक रुपमा मानवीय र भौतिक क्षति पुर्याउनसक्ने खतरा रहेकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाएका छन्।
एर्लको प्रभावका कारण अहिले पुर्टोरिकोमा तीव्र गतिमा हावा चलेको छ भने अत्याधिक वर्षा भएको छ। उता, क्यारेवियन क्षेत्रको समुद्रमा पानीको सतह असन्तुलित भएको छ। समुद्रमा ठूला ठूला छाल उठेका छन् भने तीव्र गतिमा चलेको हावाले समुद्रलाई अस्थिर बनादएको छ।
सोही कारण क्यारेवियन क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ। समुद्रमा रहेका पानीजहाज र डुंगालाई बन्दरगाहतर्फ बोलाइएको छ। माछा मार्ने जहाज र डुंगालाई पनि समुद्रमा नजान निर्देशन जारी गरिएको छ।