अमेरिका, ०२ सेप्टेम्बर / अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा सञ्चालित अमेरिकी कब्याट सैन्य अभियानलाई प्रजातन्त्र बहालीको लागि अभूतपूर्व कदम रहेको बताएका छन्।
सन् २००३ बाट इराकमा सुरु भएको अमेरिकी कब्याट सैन्य अभियान हिजो बाट आधिकारिक रुपमा समाप्त भएको छ। इराकमा कम्ब्याट सैन्य अभियान समाप्त भएको अवसरमा ह्वाइट हाउसको ओभल अफिसबाट ओवामाले दिएको मन्तव्यमा इराक युद्धका क्रममा मारिएका अमेरिकी सैनिकप्रति श्रद्धान्जली प्रकट गर्दै उनीहरुले इराकमा शान्ति र स्थायित्वको लागि महत्वपूर्ण कार्य गरेको बताएका छन्।
उनले इराक युद्धमा भाग लिएका अमेरिकी सैनिकको प्रशंसा गर्दै उनीहरुको योगदानलाई कहिल्यै पनि भुल्न नसकिने बताएका छन्। उनले अमेरिकाले इराकी सरकार र जनताको लागि अमेरिकाले आफ्नो सहयोग र समर्थन जारी राख्ने स्पष्ट पारेका छन्।
तत्कालिन इराकी शासक सद्धाम हुसेनलाई सत्ताच्युत गर्नको लागि अमेरिकाले इराकमा सैन्य अभियान संचालनमा ल्याएको थियो। इराकमा लगभग ५० हजारको संख्यामा रहेका बाँकी अमेरिकी सैनिक आगामी वर्ष स्वदेश फिर्ता हुँदैछन्।
उनीहरुले यो अवधीमा इराकी सुरक्षाकर्मीलाई तालिम दिने बताइएको छ।