अमेरिका, ०२ सेप्टेम्बर / अमेरिकाको मेरिल्याण्डमा रहेको टेलिभिजन च्यानल डिस्कभरीको मुख्यालयमा प्रवेश गरी ३ जनालाई बन्धक बनाउने बन्दुकधारीको सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएको छ।
बन्धक बनाइएका तीनै जनालाई सुरक्षाकर्मीले मुक्त गराएका छन्। अमेरिकी संचार माध्यमका अनुसार मृत्यु हुने बन्दुकधारीका नाम जेम्स ली रहेको छ।
उसले आफ्नो शरीरमा केही बारुद र हातमा एउटा पेस्तोल बोकेको सुरक्षा अधिकारीहरुले बताएका छन्। बन्दुकधारीले डिस्कभरीको मुख्यालयमा आगो लगाउने योजना समेत बनाएका कारण उसलाई गोली प्रहार गर्नु परेको सुरक्षाअधिकारीले बताएका छन्।
बन्दुकधारी मुख्यालय प्रवेश गर्नासाथ त्यहाँका कर्मचारीलाई बाहिर निकालिए पनि ३ जना कर्मचारीलाई भने बन्दूकधारीले आफ्नो नियन्त्रणमा लिएको थियो। बन्दुकधारीसँग वार्ता गर्न केही समय कोशिस गरिएपनि वार्ता प्रयास असफल भएपछि प्रहरीले गोली चलाएको थियो।