मलेसिया, ०३ सेप्टेम्बर / मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार सम्पन्न साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासङ्घ मलेसिया शाखा स्थापना गरेको छ।
महासङ्घका केन्द्रीय महासचिव विश्वासदीप तिगेलाको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेम्जोङको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ।
नवगठित समितिका उपाध्यक्षमा दिलीप सगर, सचिवमा कोपिला गौतम, सहसचिमा युवराज जेठा र कोषाध्यक्षमा पूर्ण लिम्बु फागोलाई चयन गरिएको छ भने सदस्यमा सोमनाथ सुवेदी, रेशम खत्री र जीतेन्द्र राई रहनुभएको छ।
महासङ्घ केन्द्रीय समितिका सदस्य जीवन गाउँलेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रीय अध्यक्ष डा. मधु माधुर्य र केन्द्रीय अर्थ सहसचिव शर्मिला दाहालले अनलाइन मार्फत शुभकामना दिनुभएको थियो।
कार्यक्रमको दोस्रो चरणमा महासङ्घ मलेसिया शाखाको आयोजनामा मोती जयन्तीको पूर्वसन्ध्यामा विशेष साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा इन्द्र नारथुङे, मणि गोठाले, रुवेन पुन रन, सिर्जनश्री, इन्द्र जिजीविषा लगायतले कविता तथा गजल वाचन गर्नुभएको थियो।
गत भानुजयन्तीमा महासङ्घको स्थापनापछि रुस र साउदी अरेबियामा पनि शाखा स्थापना भइसकेका छन् भने काठमाडौंमा यही महिना हुने जनाइएको छ।