पाकिस्तान, ०३ सेप्टेम्बर / पाकिस्तानको ऐतिहासिक पूर्वीमहानगर लाहोरमा बुधबार राति भएको व्यापक आतंककारी आक्रमणमा परी ३० जनाको ज्यान गइसकेको छ भने दुई सयभन्दा बढी मानिस घाइते भएका छन् ।
पैगम्बर मुहम्मदका ज्वाइँ अलीको मृत्युदिवस मनाउन भेला भएका सिया मुसलमानहरूको विशाल भीडमा तीनवटा बम विस्फोट गराइएको थियो ।
पञ्जाब सरकारले हिजोदेखि ३ दिनसम्मका लागि शोक मनाउने घोषणा गरेको छ । शोकको अवधिभर प्रान्तभरका सार्वजनिक तथा निजी संस्थान बन्द रहने जनाइएको छ ।
केही सुन्नी मुसलमानहरू सदस्य रहेको लस्कर-ए-झाङवी नामक पञ्जाबमा क्रियाशील आतंकवादी संगठनले आक्रमणको जिम्मेवारी लिएको छ ।
स्थानीय समयअनुसार, राति पौने सात बजे कर्बला गमे शाह क्षेत्रमा अलि कम घनत्वको पहिलो विस्फोट गराइएको थियो र धार्मिक जुलुसमा भाग लिइरहेका कैयौं मानिस घाइते भएका थिए ।
त्यसको २५ मिनेटपछि नजिकैको भाटी चोकमा आत्मघाती मानिएको अर्को विस्फोट गराइएको थियो । विस्फोटले गर्ला आत्मघातीको शरीर उछिट्टिएर धार्मिक जुलुसमा हिँडिरहेका मानिसमाथि बजारिएको थियो ।
त्यसको १० मिनेटपछि अर्को एक आत्मघातीले नै अनारकलीमा तेस्रो विस्फोट गराएको थियो । यस विस्फोटबाट जुलुसमा हिँडिरहेका धेरैजना प्रभावित हुन पुगे । तीनवटै विस्फोटपछि महानगरका सबै अस्पतालले आपतकालको घोषणा गरेका थिए ।
तीनवटै विस्फोटमा आफन्तको ज्यान गुमाएका क्रुद्ध मानिसले प्रहरीविरुद्ध प्रदर्शन गर्नुका साथै गाडीसमेत जलाएका थिए । स्थिति नियन्त्रणमा लिन लाहोरमा पाकिस्तानी सेनाको रेन्जर नामक एक विशेष कार्यदल तैनाथ गरिएको छ ।
उता तेहरिक ए पाकिस्तान नामक प्रतिबन्धित संगठनले पनि सो आक्रमणको जिम्मेवारी लिएको छ । त्यसका एकजना सदस्यले स्थानीय मिडियालाई आवाज रेकर्ड गरिएको क्यासेट पठाएका छन् ।
त्यसमा उनले भनेका छन्, "म, कारी हुसेन, तेहरिक ए पाकिस्तानको पक्षबाट, सेप्टेम्बरको पहिलो तारिखका दिन सिया मुसलमानको हजरत अली जयन्तीको जुलुसमा गरिएका तीनवटै आत्मघाती आक्रमणको जिम्मेवारी लिन्छु ।"
बाढीको महाविनाशमा परेको पाकिस्तानमा हरेक दिनजसोका विस्फोट तथा मृत्युका समाचारले त्यो मुलुक अहिले शोकग्रस्त मुलुक बन्न पुगेको छ । बुधबारकै दिन पेसावरमा हातेगि्रनेडको आक्रमणमा परी एकजनाको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन् ।