वासिंगटन , ०३ सेप्टेम्बर / बुधबारदेखि सुरु भएको इजरायल प्यालेस्टिनी प्रत्यक्ष शान्तिवार्ताबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टिप्पणी गर्दै यस ऐतिहासिक क्षणलाई सफल पार्न आफू पूर्ण प्रयत्नरत रहने, तर सावधानीपूर्वक आशा गर्ने विश्वास गरेका छन् ।
नेतान्याहुसँग भेटघाट र उनको टिप्पणीउपर प्रतिक्रिया व्यक्त गर्दै प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले मध्यपूर्वमा रक्तपातको अन्त्य हुनुपर्ने र यसका लागि आफूले सघाउने कुरा व्यक्त गरे । तर, उनले इजरायलले पश्चिमी किनारमा निर्माणाधीन राखेको यहुदी आवास योजनालाई तत्काल रोक्नुपर्ने माग गरे ।
ह्वाइटहाउसको नाटकीय कूटनीति सफल भई आपसमा विगतका दशकौँदेखि मारामारको स्थितिमा रहेका इजरायली र प्यालेस्टिनी नेताद्वय एउटै मञ्चमा आई मुस्कुराहट आदान-प्रदान र सँगै बसी फोटो खिचाएको यो पहिलो अवसर हो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको मध्यस्थतामा हुन लागेको यस प्रत्यक्ष वार्ताको दोस्रो दिन भने चर्काचर्की पर्ने अनुमान गरिएको छ ।
प्रत्यक्ष पर्यवेक्षकका रूपमा जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति होस्नी मुवारकसमेत उपस्थित भएका छन् ।
राष्ट्रपति ओबामाले यस महत्त्ववूर्ण अवसरलाई पूर्ण सदुपयोग हुनबाट उम्कन नदिई आगामी एक वर्षभित्रै शान्ति, उन्नत इजरायल र स्वाधीन प्यालेस्टिनको परिकल्पना सफल हुने आशा राखेको बताए ।