काठमाण्डौ, ०४ सेप्टेम्बर , १९ भाद्र / दुबई जान काठमाडौं आएका तिलकुमार कुमाल खाली हात घर फर्कन बाध्य भए। नयाँबसपार्क ओर्लिएलगत्तै लुटेराको फन्दामा परेर पैसा र कपडासमेत गुमाएपछि उनी शुक्रबार बेहोसीमै भाइसँग नवलपरासी फर्किए।
बुधबार मध्याह्न दुबई जाने पक्का भएपछि नवलपरासी, रामनगर-५ का कुमाल ४५ हजार रुपैयाँ नगद र किनमेल गरेको ब्याग बोकेर मंगलबार राजधानी आइपुगेका थिए।
बसपार्कमा ओर्लिएलगत्तै एक अपरिचित व्यक्ति उनीसँग परिचय गर्न आयो। कुमालका भाइ भिमबहादुरका अनुसार अपरिचित व्यक्तिले आफू पनि विदेश जान लागेको बताएर तिलबहादुरसँग मित्रता गाँसेको थियो।
"उसले दाइलाई बसपार्कको एउटा होटलमा खाजा खुवाएछ। पछि कलंकीमा साथी भेट्न जाउँ भन्दै लगेछ र बाटोमा गर्मी भयो भनेर चिसो खुवाएछ," भिमबहादुरले भने, "त्यही मौकामा बेहोस पारेर पैसा र कपडा लुटेछ।"
दुबई जान काठमाडौं आएका दाजु लुटिँदा भिमबहादुर नवलपरासीमै थिए। बसपार्क नजिकैको कालीगन्डकी गेस्ट हाउसबाट फोन आएपछि उनी दाजुलाई लिन बुधबार काठमाडौं आइपुगेका हुन्। गेस्ट हाउस कर्मचारीका अनुसार लुटिएपछि तिलबहादुर भित्री कपडामा होटल आइपुगेका थिए।
भाइसँगै शुक्रबार घर फर्कंदै गरेका तिलबहादुर कुराकानी गर्ने अवस्थामा थिएनन्। महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रहरी निरीक्षक रुगम कुँवरका अनुसार यात्रुलाई बेहोस बनाउने, नक्कली सुन देखाएर सक्कलीसँग साट्ने र नक्कली डलर साट्ने दुईवटा गिरोह बसपार्क क्षेत्रमा सक्रिय छ।