काठमाण्डौ, ०४ सेप्टेम्बर , १९ भाद्र / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट इन्सपेक्टर घुस प्रकरणको फाइल मगाएर अनुसन्धान गर्ने निर्णय गरेको छ।
प्रहरी निरीक्षकका प्रतिस्पर्धी नवराज नेपालीसँग २ लाख रुपैयाँ लिएको अभियोगमा प्रहरी अस्पतालमा कार्यरत असई सुरेन्द्र आचार्य र सुर्यबहादुर सुनुवार पक्राउ परेको समाचार सार्वजनिक भएपछि शुक्रबार अख्तियारले चासो देखाएको हो।
असईद्वयले एमाले सभासद गोविन्द नेपालीका छोरालाई इन्स्पेक्टर बनाइदिन्छु भन्दै २ लाख रुपैयाँ घुस लिएका थिए।
आचार्य र सुनुवारले '६ लाख दिए इन्स्पेक्टरको लिखित र मौखिक परीक्षामा पास गराइदिन्छु' भन्दै साउन ४ गते नवराजसँग २ लाख बैना लिएको खुलेपछि प्रहरी प्रधान कार्यालयले ३ दिनअघि दुवैलाई पक्राउ गरेको थियो।
घुस प्रकरणमा उद्योग मन्त्रालयका एक उपसचिवको नामसमेत पोलिएको छ। प्रहरीले नाम सार्वजनिक गरेको छैन।
आयोगद्वारा जारी विज्ञप्तिमा घटनाको अनुसन्धानका लागी २४ घन्टाभित्र फाइल झिकाउने निर्णय गरेको उल्लेख छ।
यसअघि अख्तियारले इन्स्पेक्टर बनाइदिन्छु भन्दै सर्वसाधारणसंग रकम लिएको अभियोगमा एमाले सभासद डोलबहादुर कार्कीलाई पक्राउ गरेको थियो। कार्की अख्तियारको हिरासतमा छन्।