काठमाण्डौ, ०४ सेप्टेम्बर , १९ भाद्र / देशका विभिन्न भागमा भएका बेग्लाबेग्लै दुर्घनामा नौजनाको मृत्यु भएको छ।
म्याग्दीमा घाँस काट्न गएका दरवाङ गाउ विकास समिति-४ हिदीका २८ वर्षीय भीबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, धनुषाको उमाप्रेमपुर गाउँ विकास समिति-४ का ४० वर्षीय भोला दर्जीको मृत्यु भएको छ।
जग्गाविवादलाई लिएर दर्जीमाथि सोही गाउँका समिर खातुन, हामुन दर्जी र अन्वागु दर्जीले कुटपिट गरेका उल्लेख गर्दै प्रहरीले फरार ती अभियुक्तको खोजी भइरहेको जनाएको छ।
केन्द्रीय प्रहरी समाचाकक्षले जारी गरेको समाचारअनुसार रुपन्देहीको रुद्रपुर-३ निवासी रामबहादुर थारूले आफ्नी ३५ वर्षीया श्रीमती सीता थारूको बञ्चरो प्रहरी गरी हत्या गरेका छन्।
यसैगरी, ललितपुर उपमहानगरपालिका-१५ सातदोबाटोमा बस्दै आएका झापाका ३४ वर्षीय गोविन्द खड्काको अत्यधिक मादकपदार्थ सेवनका कारण मृत्यु भएको छ।
काठमाडौँको जोरपाटीमा भएको सवारी दुर्घटनामा परी कपनका ३० वर्षीय शिव श्रेष्ठको मृत्यु भएको छभने रोल्पाको झिभिङ्गा गाविस-५ का ५५ वर्षीय ओभिलाल रोक्काको ट्याक्टरबाट खसेर ज्यान गएको छ।
त्यस्तै पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा विराटनगरमा ४५ वर्षीया माती थापाको ज्यान गएको समाचारमा उल्लेख छ।
नवलपरासीको मैनाघाट खोला किनारमा एक युवती मृत फेला परेकी छन्भने मैनाघाट मगरसिंहमा एक किशोरको शव फेला परेको जनाइएको छ।