काठमाण्डौ, ०४ सेप्टेम्बर , १९ भाद्र / लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारार्थ भर्ना भएकामध्ये ९ जनामा हैजाको जीवाणु फेलापरेको छ।
झाडा पखाला लागी उपचारार्थ अस्पतालमा भर्ना भएकामध्ये बुटवलकी देवकुमारी न्यौपाने, सरस्वती परियारसहितका नौ जना बिरामीमा हैजाको जीवाणु भेटिएको अस्पतालले जनाएको छ।
अस्पतालमा दैनिक आठ, दश जना झाडा वान्ताका बिरामी आउने गरेको अस्पतालले जनाएको छ।
अस्पतालका चिकित्सक तिलकराज गौतमका अनुसार बुटवलको सुख्खानगर, देवीनगर, पारी बुटवल लगायतका क्षेत्रका बिरामीमा हैजाका जीवाणु फेलापरेको हो।यसअघि बिहीवार पनि बुटवलका बिक्रम शाही र शारदा गौतममा हैजाको जीवाणु भेटिएको थियो।
दुषित पानीको सेवनका कारण हैजा फैलिएको अस्पतालले जनाएको छ। खानेपानीमा उचित ध्यान नदिए हैजा अझै फैलिन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन्।