सोल, ०४ सेप्टेम्बर / कोम्पासु नामक समुद्री आँधीले दक्षिण कोरियाली राजधानी सोलको विद्युत् आपूर्तिलगायत यातायातमा पनि असर पारेको छ ।
आँधीबाट कम्तीमा तीनजनाको ज्यान गएको छ भने दर्जनौँ मानिस घाइते भएका छन् । यस्तो डरलाग्दो आँधी सोलमा १५ वर्ष यताको पहिलो भएको जनाइएको छ ।
आँधीले गर्दा १२० भन्दा बढी हवाई उडान रद्द गरिएका छन् र सब-वे सञ्जालका मुख्य स्थान विद्युत् बन्द हुनाले नराम्ररी प्रभावित भएका छन् । लाइनरक नामक ट्रपिकल आँधीले चिनियाँ प्रान्त फुजियनमा पहिरो गएको छ ।
भयानक बेगको बतास तथा वर्षा सँगसँगै आएका छन् । मौसमविदहरूले अझै पहिरो ल्याउने भएकाले सचेत गराएका छन् ।
पहिरो गएकाले उद्धारकार्य जारी नै राखिएको छ । त्यहाँ चारजनाको मृत्यु हुनाको साथै ४४ जना हराइरहेका छन् ।
२३ जनाको उद्धार गरिएको छ । वामा गाउँ भिरालो पहाड र नुज्याङ नदीको बीचमा छ । कोम्पासुले बिहीबार सबेरै गाङवा टापुमा पहिरो गएको छ । पहिरो गएको ठाउँ सोलको उत्तर-पूर्वी भाग सकिनेबित्तिकै आउँछ ।
आँधीले घरको छाना उडाउँदा टायल लागेर एकजनाको मृत्यु भएको छ भने रूखको हाँगो भाँचिएर मानिसमाथि बजारिँदा अर्को एकजनाको ज्यान गुमेको छ । अर्को एकजनालाई करेन्टको झड्का लागेको छ ।
बिजुलीका खम्बा र रूख ढलेका र आँधीले उडाएर ल्याएका सिसा लागेर धेरैजना घाइते भएको समाचार संस्थाले जनाएका छन् । आँधी अहिले उत्तरतिर जापान सागरतर्फ बढिरहेको छ । उत्तर कोरियाले बुधबार समुद्री आँधी आउने चेतावनी दिँदै भीषण वर्षाको सामना गर्न तयार रहन जनतालाई अपिल गरेको थियो ।