टेनिस च्याम्पियन सेरेना विलियम्स अहिले एक्ली बनेकी छन् तथा अर्को प्रेमीको प्रतीक्षामा छिन् । दायाँ खुट्टाको चोटका कारण अहिले युएस ओपनबाट बाहिर रहेकी सेरेनाले गत अपि्रलमा आफ्ना र्यापर तथा कलाकार प्रेमी कमोनसँगको दुई वर्ष लामो सम्बन्धलाई तोडेपछि अर्का मिस्टर राइटको प्रतीक्षा पनि गरिरहेकी छन् ।
विश्वकी शीर्ष महिला टेनिस खेलाडीको प्रेमी हुनलाई केही सर्त भने मान्नैपर्छ । "मलाई फोन गर, त्यही नै सजिलो मार्ग हो,"गत साता न्युयोर्कमा आयोजित एक कार्यक्रममा २८ वर्षीया सेरेनाले भनिन्, "मात्र फोन उठाउ र मलाई कल गर ।"
तर, फोन गर्नेले सोच्नुपर्छ, सेरेनालाई पारिवारिक मूल्य र मान्यतालाई मान्ने व्यक्ति प्रेमीका रूपमा चाहिन्छ । "म परिवारसँग नजिक भएका व्यक्तिलाई महत्त्व दिन्छु, सबैभन्दा नजिक त आफ्नी आमासँग भएकालाई, किनभने हरेक पुरुषले आफ्नी आमासँग गर्ने व्यवहारबाट उनको चालचलन थाहा पाउन सकिन्छ, आमालाई माया गर्नेले अरूलाई पनि माया गर्छन्,"सरेनाले भनिन् ।
तर, उनले खराब बानी-व्यहोरा भएका पुरुष आफूलाई मन नपर्ने पनि बताइन् । "मलाई चुरोट पिउने पुरुष मन पर्दैनन् तथा आफ्ना अभिभावक र परिवारलाई सम्मान नगर्नेहरू पनि । मेरा लागि सबैभन्दा महत्त्वपूर्ण विषय परिवार नै हो ।" यद्यपि, सेरेना आफूलाई टेनिसकोर्टमा भने "रफ एन्ड टफ" मान्छिन् ।
कोर्टबाहिर आफू आक्रामक स्वभाव नभएको दाबी पनि उनको छ । "जब मानिस मलाई भेट्छन्, उनीहरूको सोचाइ नै परिवर्तन हुन्छ," उनले भनिन्, "म धेरै ज्ञानी र समान्य छु ।"
कुल २७ वटा ग्रान्डस्लाम उपाधि आफ्नोनो नाममा लेखाएर इतिहासकै सर्वाधिक सफल खेलाडीमध्ये एक बनेकी सेरेनाले कहिलेकाहीँ दिदी भेनससँग इष्र्या लाग्ने पनि बताइन् । उनको इष्र्या भेनसको शारीरिक बनावटसँग छ । उनले सधैँ आफूले भेनसको जस्तो शरीरको चाह गरेको भए पनि कहिल्यै नपाएको बताइन् ।
"म केही बांगी छु । मेरो स्तन पनि ठूला छन् तथा अति ठूलो पुठ्ठा पनि । भेनस अग्ली छिन् तथा मोडलजस्तो देखिन्छिन्, उनी सबै कुराले फिट छिन्," सेरेनाले भनिन् ।
"मैले खोजेको पूरा हुन्छ भने भेनसजस्ती हुन चाहन्छु तथा उनको लुगामा अटाउन चाहन्छु । तर, मेरो त्यो चाहना कहिल्यै पूरा हुन सक्दैन," उनले सम्झीन, "जब म २३ वर्षको थिएँ, त्यही वेला मैले आफू भेनसजस्ती हुन नसक्ने थाहा पाएँ । उनी पूर्णरूपमा फरक छिन् ।"
२००८ देखि कमोनसँग प्रेममा बाँधिएकी सेरेनाले उनीसँग सम्बन्ध तोड्नुको कारण पनि बताइन् । "उनको दैनिकी मेरोभन्दा पनि व्यस्त छ ।"
"ऊ जिम्मेवारी लिन चाहँदैन," उनले भनिन्, "ऊ कडा छ ।"