काठमाण्डौ, ०७ सेप्टेम्बर ,२२ भाद्र / एकीकृत नेकपा (माओवादी)ले आफ्ना सभासदहरुलाई आज दिउँसो साढे २ बजे नै संविधान सभा भवनमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।
प्रधानमन्त्री चुन्नका लागि व्यवस्थापिका संसदमा आज दिउँसो ३ बजे मतदान हुँदैछ। निर्वाचनअघि माओवादीले साना दल र मधेसी मोर्चाका दलहरुसित बिहानैदेखि अनौपचारिक भेट गरिरहेको छ।
यसैबीच, आजको मतदानमा कुन उम्मेदवारको पक्षमा मत दिने विषयमा निर्णय गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सिंहदरबारमा बस्दैछ।
मोर्चामा आवद्ध उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमले आइतबारको निर्वाचनमा मोर्चाको निर्णय विपरीत तटस्थ नबसी निर्वाचन बहिस्कार गरेको थियो। यादव नेतृत्वको फोरमले आज दाहालको पक्षमा मतदान गर्ने संकेत दिएको छ।
विजयकुमार गच्छदार नेतृत्वको फोरमले भने कसको पक्षमा मतदान गर्ने भन्ने निर्णय आज बिहानसम्म गर्न सकेको छैन।