पोर्चुगल, ०७ सेप्टेम्बर / पोर्चुगलमा ६ वर्षदेखिको यौन दुराचारको मुद्दा शुक्रबार टुंगिएको छ । बाल यौन दुराचारको आरोप लागेका एक महिलालगायत सातलाई दोषी ठहर्याइ कसुरअनुसार ६ देखि १८ वर्षसम्मको जेल सजाय दिइएको छ ।
उनीहरूले स-साना बालबालिका, किशोर-किशोरीमाथि वर्षौंदेखि बलात्कारलगायत यौन अपराध गरेका थिए र
लिस्बनमा सरकारद्वारा सञ्चालित एक बालगृहलाई १९९० यता बाल दुराचारको केन्द्र बनाएका थिए । यो अपराध सार्वजनिक भएपछि पूरै पोर्चुगल स्तब्ध भएको थियो ।
६ यौन अपराधीलाई जेल कोचिएको छ । तर, २००७ मा कानुनमा परिवर्तन गरिएका कारणले महिलालाई भने जेल सजाय दिइएन । उनको घरलाई त्यस डफ्फाले दुराचारका लागि प्रयोग गरेको थियो । टेलिभिजनबाट प्रसारित सो फैसलाबारे न्यायाधीशले थप केही बताउन चाहेनन् ।
सबैभन्दा लामो जेल सजाय ५३ वर्षे पूर्व गाडीचालक कार्लोस सिल्विनोले पाएको छ । उसले ६ सयभन्दा बढी अपराध गरेको कबुल गरेको थियो र अन्य अपराधीका प्रमाणसमेत जुटाइदिएको थियो ।
जेल पठाइएकामध्ये कार्लोस क्रुज एक लोकप्रिय टिभी कार्यक्रम प्रस्तोता हो । ऊ तीन दशकदेखि सोबिजमा संलग्न थियो । क्रुज सात वर्ष जेल बस्नेछ । ६ वर्ष आठ महिनाका लागि जेल परेको जोर्गे रिट्टोचाहिँ आलंकारिक कूटनीतिज्ञ र पहिले युनेस्कोको दूत थिए ।
अहिले १६ देखि २२ वर्षको उमेरबीचका उनीहरूद्वारा पीडितले सुन्नेको मुटु नै चिसिनेखालको बयान दिएका थिए र इजलासमै ती अपराधीलाई औँलाले देखाइ-देखाई अपराधका वृत्तान्त सुनाएका थिए । पीडितमध्येका एकले बाल यौन दुराचारीलाई जेल कोचेकामा आफूहरूले न्याय पाएको खुसी व्यक्त गरे ।
तीन न्यायाधीशले पढी सुनाएको सो फैसलाको पूर्णपाठ दुई हजार पृष्ठ लामो छ, जुज अर्को हप्ता सार्वजनिक गरिनेछ । यस मुद्दालाई पोर्चुगलको सबैभन्दा लामो ठानिएको छ ।
यस मुद्दामा ३२ प्रतिवादी र आठ सय साक्षी र विज्ञ रहेका थिए । मुद्दामा मुछिएको संस्था कासा पियाको इतिहास पनि दुई सय ३० वर्ष पुरानो छ । त्यहाँ करिब चार हजार पाँच सय बालबालिका राखिएका छन्।